सरकारले पार्टी होइन, पार्टीले सरकार चलाउनु पर्छ : प्रचण्ड (भिडियोसहित)


SHARES

नवलपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारले पार्टी नभएर पार्टीले सरकार चलाउनुपर्नेमा जोड दिएका छन् । नवलपुरमा आयोजित कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै प्रचण्डले स्थानीय सरकारका कामकारबाहीमा जनता असन्तुष्ट भएको बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले पार्टीले जनताका दैनिकीसँग जोडिएका समस्यामा ध्यान दिनुपर्नेमा जोड दिए । स्थानीय सरकारका बारेमा अराजकता र अनियमितता भएको गुनासो आफुहरुले सुनेको भन्दै उनले यस्ता गुनासो अन्त्यका लागि पहिलो जिम्मेवारी पार्टीको भएको बताए ।

नेकपा अध्यक्ष प्रचण्डले सरकारका कामको जिम्मेवारी पनि पार्टीले लिनुपर्नेमा जोड दिए । उनले भने, 'पहिलो जिम्मेवारी पार्टीले लिनुपर्छ । पार्टीले सरकारको नेतृत्व गर्ने हो, सरकारले पार्टीको नेतृत्व गर्ने होइन । संसारभरका कम्युनिष्टहरुले गर्ने यस्तै हो । हामीले युद्धका बेलामा पनि भन्थ्यौँ पार्टीले बन्दुक चलाउने हो, बन्दुकले पार्टी होइन ।'

ढिला भए पनि पार्टी एकताले पूर्णता पाएकाले अब नेकपा जनताका दैनिक आइपर्ने समस्या समाधानमा केन्द्रित हुने भन्दै उनले नेतृत्व तहमा सर्वसम्मत तरिकाले निर्णयमा पुग्ने परम्परालाई निरन्तरता दिने बताए ।

एमसीसीका विषयमा आफ्नो धारणा राख्दै प्रचण्डले राष्ट्रहितलाई केन्द्रमा राखेर निर्णय गरिने बताए । एमसिसी बारेमा पार्टीमा पर्याप्त छलफल भएको भन्दै उनले भने, हामीले के भनेका छौं भने राष्ट्रिय हित अनुकुल हुने गरी जरुरी पर्दा अमेरिकासँग पुनः सम्वाद गरेर सम्भव हुनेसम्म परिमार्जन गरेर कार्यान्वयन गर्न उचित हुन्छ भन्ने स्पिरिटमा निर्णय गरेका छौं ।’

पछिल्लो समय अमेरिकी दूताबासले १० बुँदे स्पष्टीकरण आएको स्मरण गर्दै प्रचण्डले अबको सचिवालय बैठकमा एमसिसीका बारेमा छलफल हुने जानकारी दिए ।

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV