ताम्सालिङको नाराका कारण राष्ट्रपति भण्डारीबाट सोनाम ल्होछार उद्घाटन अस्वीकार !



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङ समुदायको महान् चाड सोनाम ल्होछारको अवसरमा काठमाडौंमा हुने कार्यक्रममा प्रमुख अतिथि हुन अस्वीकार गरेकी छन् ।

२८५६ औं सोनाम ल्होछारको लोगोमा ‘ताम्सालिङ प्रदेशको नारा’ भएपछि राष्ट्रपति कार्यालयले आयोजकको निम्तोलाई अस्वीकार गरेको हो ।

नेपाल तामाङ घेदुङको संयोजकत्वमा गठन भएको सोनाम ल्होछार मुल आयोजक समारोह समितिले तय गरेको नारा कारण कार्याक्रमको प्रमुख अतिथिको रुपमा राष्ट्रपति जाने कार्यक्रम अन्तिम अवस्थामा रद्द भएको आयोजकले जनाएको छ ।

आयोजक समितिले ‘सोनाम ल्होछारको प्रवर्द्धन, हाम्रो सांस्कृतिक एकताको नारा ताम्सालिङ प्रदेशको स्थापना, हाम्रो राजनीतिक एकताको अभिभारा’ नारा तय गरेको छ ।
नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोलेले सोनाम ल्होछारमा पहिलो पटक राष्ट्रपति आउने तय भए पनि अन्तिम अवस्थामा राष्ट्रपति कार्यालयले रद्द गरेको बताए । राष्ट्रपतिको सचिवालयले ताम्सालिङ स्वायत्तको नारा देखेपछि ल्होछारमा राष्ट्रपति जाने कार्यक्रम स्थगित गरिएको उनको भनाइ छ ।

राष्ट्रपतिले राजनीतिक नाराकै कारण पर्यटनमन्त्रीलाई समेत ताम्सालिङको नारा भएको सोनाम ल्होछार जान रोक लगाएको स्रोतले बताएको छ । यद्यपि, यसअघि राष्ट्रपति भण्डारी गुरुङहरुको तुम ल्होछारमा सहभागी भएकी थिइन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको निर्देशनमा नेकपा प्रदेश ३ संसदीय दलले प्रदेशको नाम बागमती राख्ने निर्णय गरेको थियो । नेकपाको बहुमत रहेको प्रदेशसभाले केही साताअघि सोही नाम पास गरेको थियो ।

प्रदेशको नामलाई लिएर आदिवासी जनजाति समुदायले असन्तुष्टि प्रकट गर्दै आएका छन् । उनीहरुले प्रदेशको नाम ताम्सालिङ, नेवाः आदि राख्न आग्रह गर्दै आइरहेका छन् ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ९ गते, शुक्रबार

menu LIVE TV