ताम्सालिङको राजनीतिक नारा देखेर डराउने राष्ट्रपतिको शुभकामना चाहिँदैन : अध्यक्ष बराम


SHARES

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले आदिवासी जनजाितहरुकाे चाडपर्वमा प्रधानमन्त्रीको शुभकामना नचाहिने बताएका छन् । तामाङ समुदायको २८५६ औं सोनाम ल्होछार समारोहमा सम्बोधन गर्दै बरामले नेवा–ताम्सालिङ दिन नसक्ने प्रधानमन्त्रीको शुभकामना आवश्यक नभएको बताएका हुन् ।

‘हामीलाई प्रधानमन्त्रीको शुभकामना चाहिँदैन । तामाङहरुको ताम्सालिङको राजनीतिक नारा देखेर डराउने राष्ट्रपतिको शुभकामना किन चाहियो ?’ अध्यक्ष बरामले भने, ‘टुँडिखेलको आजको विशाल कार्यक्रम ताम्सालिङको पक्षमा छ । सोनाम ल्होछारको पक्षमा छ । यो ल्होछार सरकारको विपक्षमा छ ।’

राज्यले तामाङहरुको भावनामाथि खेलबाड गरेर पटकपटक नाटक गरेको भन्दै अध्यक्ष बरामले सरकारको चर्को आलोचना गरे । सरकारले तामाङ समुदायमाथि ताम्सालिङको नाममा चारवटा नाटक गरेको उनले दाबी गरे । एउटा नाटक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको उनले बताए । ताम्सालिङको नाममा प्रचण्डले तामाङको रगतमाथि नाटक मञ्चन गरिसकेको उनको आरोप छ । ताम्सालिङ मेटाउने प्रयास धुम्बाराहीबाट गर्नु नै पहिलो नाटक भएको भन्दै उनले कटाक्ष गरे ।

अध्यक्ष बरामले प्रधानमन्त्री केपी शर्मा ओलीले बहुपहिचानको प्रदेश नेवाः ताम्सालिङ ल्याउन नसक्ने भ्रम छर्नु अर्काे नाटक भएको दावी गरे । यस्तै, तामाङ सभाषदहरुले नै नाकट गरेको आरोप लगाए । सार्वजनिक कार्यक्रममा ताम्सालिङको विषयमा सानदार भाषण गर्दै हिँडेर अन्त्यमा धुम्बाराही (नेकपा)को निर्णयलाई स्वीकार्नु तामाङ सभाषदको नाटक भएको जिकिर गरे ।

‘यो तामाङ सभाषद आफैंले नाकट गरेको भएन र ? यो ताम्सालिङमाथि हातपात भएको हो,’ उनले भने, ‘यस्ता नाटक चाहिँदैन र यो दुष्प्रयास गर्नेमाथि लाखौ तामाङले प्रतिकार गर्नेछन् । यसकारण अब ताम्सालिङको आन्दोलन घोषणा भयो ।’

अर्को नाटक भनेको प्रदेश सरकारले गरेको उनले बताए । सोनाम ल्होछार ११ गते हुँदाहुँदै माघ १० गते बिदा दिएर बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौड्यलले तामाङमाथि खेलबाड गरेको उनको आरोप छ ।

‘तामाङको ल्होछार उल्टोपाल्टो गर्ने मुख्यमन्त्रीलाई कारबाही गर्नुपर्छ। सोनाम ल्होछार कहिले त्यो प्रदेश प्रमुखलाई थाहा हुदैन ?’ उनको प्रश्न थियो । कांग्रेस र कम्युनिष्टभित्रको तामाङ संघ समेत खारेज गर्नुपर्ने उनको माग छ । संघले तामाङ समुदायको हितभन्दा पनि तामाङ नेताहरु मन्त्री र सभाषद बन्नका लागि मात्रै भएकाले संघ तत्काल खारेज गर्नुपर्ने उनले माग गरेका थिए ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV