सडक सञ्जालमा गाउँ जोडिएपछि स्थानीयवासीमा खुशीयाली



म्याग्दी । तीनवर्ष अघिसम्म सदरमुकाम बेनी आउन तीनदिन लाग्ने म्याग्दीका दुर्गम गाउँका बासिन्दाहरु अहिले बिहान घरबाट निस्केर बेनी आइ साँझ आफ्नै गाउँमा पुग्न सक्ने भएपछि दङ्ग परेका छन् ।

हिमाली जिल्ला म्याग्दीका अधिकांश ग्रामीण क्षेत्र सडक सञ्जालसँग जोडिएपछि यातायातका साधन सञ्चालनमा आउन थालेकाले स्थानीयवासी विकास र सुविधा दुवैको अनुभूति गर्न थालेका हुन् ।

स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधिले आ-आफ्ना वडाहरुमा मोटरबाटो पु¥याउने कामलाई नै मुख्य ठानेर बजेट विनियोजन गरेपछि दुर्गमका बासिन्दाको दैनिकी सहज बनेको हो । गाउँ सडक सञ्जालसँग जोडिएपछि स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउन पनि निकै सहज भएको छ ।

एक नगरपालिकासहित छ स्थानीय तह रहेको म्याग्दीका सबै स्थानीय तहमा सडक सञ्जालको पहुँच पुगेको छ । धौलागिरी र रघुगङ्गा गाउँपालिकाका एक/दुई वडामा मात्र यातायातका साधन पुगिसकेका छैनन् । पछिल्लो समय म्याग्दीका अधिकांश ग्रामीण क्षेत्रमा यातायातको सुविधा पुगेपछि स्थानीयबासी उत्साहित बनेका छन् । सडक सुविधा नहुँदा कतै जानुपरे पनि घन्टौँको बाटो सकी–नसकी हिँड्नुपर्ने बाध्यता थियो तर अहिले अधिकांश गाउँमा सडक सुविधा पुगेपछि गाउँ पनि रमणीय बन्दै गएका छन् ।

म्याग्दी सदरमुकामदेखि करिब ५० किलोमिटर पश्चिमस्थित मालिका गाउँपालिका–७ रुमका बलबहादुर विकले सडक पुगेपछि स्थानीय उत्पादनले सजिलै बजार पाउन थालेको बताए । “विगतमा सडकको सुविधा नहुँदा कृषि उत्पादन बारीमै कुहेर सकिन्थ्यो वा छरछिमेकमा बाँड्दाबाड्दै रित्तिन्थ्यो”, उनले भने, “गाउँसम्म सडक पुगेर अहिले उत्पादनले मूल्य पाउन थालेपछि यहाँका किसान मख्ख परेका छन् ।” त्यस्तै सडकको सुविधा भएपछि स्वास्थ्य र शिक्षासँगको पहुँच सहज रुपमा बढ्दै गएको धौलागिरि गाउँपालिका–७ का वडाध्यक्ष कलानिधि शर्माले बताए ।

सडकको सुविधा भएपछि यहाँका पर्यटन प्रवर्द्धनमा समेत सघाउ पुग्दै गएको छ । ग्रामीण क्षेत्रमा सडकका साथै अन्य आधारभूत विकासका पूर्वाधार खडा गर्न सके बढ्दै गएको शहरमोह केही हदसम्म घट्दै जाने रघुगङ्गा गाउँपालिका–३ का वडाध्यक्ष जीवन मल्लको भनाइ छ । गाउँगाउँमा यातायातका साधनहरु गुड्न थालेपछि स्थानीयवासीको जीवनयापन सहज हुनुका साथै गाउँको मुहार पनि फेरिएको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानका वडाध्यक्ष गमबहादुर फगामीले बताए । गाउँगाउँमा विकासका पूर्वाधारहरु निर्माण भएका छन् भने स्थानीयवासीको चेतनास्तरमा समेत परिवर्तन आएको जनप्रतिनिधिहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: