विगतमा झै बिकेनन् खसी,राँगा « Nagarik Khabar

विगतमा झै बिकेनन् खसी,राँगा



  • किरण पौड्याल

इलाम । विगतका वर्षमा दसैँको एक महिना अगाबै खसी, कुखुरा, राँगाको किनबेच हुन्थ्यो । दसैँका बेला ब्यापारीहरूको तारान्तार फोन आउनाका साथै उनीहरू गाउँगाउँमै खसी, बोका, कुखुरा किन्न पुग्थे र अग्रिम भुक्तानी छाडेर बजार फर्किन्थे र दसैँ लागेपछि लिन जान्थे । बजारमा मासु किन्नेको भीड हुन्थ्यो तर यसवर्ष भने यतिबेलासम्म पनि न व्यावसायीले खसी/राँगा किनेका छन्, न त मासुका लागि ‘अर्डर’ आएको छ । दसैँ लागिसक्दा पनि खसी/राँगा किनबेच शून्यजस्तै भएको छ ।

बन्दाबन्दी(चैत–असार)मा सुस्ताएका मासु पसल बन्दाबन्दी हटेपछि चलमलाए पनि गत महिनादेखि फेरी सुस्ताएकामा दसैँ लागिसक्दा चलमलाउन सकेका छैनन् ।

बाहिरी जिल्लामा खसीबोकाको बिक्री बढेकाले पनि जिल्लामा व्यापार सुस्ताएको सदरमुकामस्थित माल्दाइ मासु पसलका सञ्चालक टेकबहादुर श्रेष्ठ बताउँछन् । उनका अनुसार गाउँगाउँबाट खसीबोका किनेर काठमाडौं, विराटनगर(मोरङ), बिर्तामोड(झापा) लगिएकाले जिल्लामा खसी व्यापार सुस्ताएको हो ।

“किलोका हिसावले खसी बोका किनेर अन्यत्र लगेपछि व्यापार छैन”, श्रेष्ठ भन्छन्,“गएका वर्षको जस्तो दसैँका लागि स्टक राख्ने खसी बोका नै यो वर्ष छैन । कोरोनाले परिवार एकै ठाउँमा भेला हुन नसकेकाले यस वर्ष मासुको ‘अर्डर’ पनि नआएको हुनसक्छ । ” खसी, बोका र राँगाको कारोबारभन्दा अहिले कुखुराको कोरोबार भने केहीबढे पनि विगतका वर्षमा जस्तो कुखुराको मासुको माग पनि नआएको जिल्ला कुखुरा व्यवसायी संघका अध्यक्ष दिनेश महत बताउँछन् ।

कुखुराको मासु अधिकांशाले खाने भएपनि यसवर्ष अनुमान गरिएभन्दा निकै कमले किन्न आएको उनको भनाइ छ । “केही हदसम्म त बढेको छ तर सदाजस्तो छैन ।” अध्यक्ष महत भन्छन्, “लोकल र बोइलर दुबै कुखुराको किनबेच सुस्ताएको छ । अहिले किनेको कुखुरा पनि तिहारपछिका लागि हो ।” उनका अनुसार जाडो यामका लागि यतिबेलै कुखुराको चल्ला किनबेच हुन्छ तर जाडो यामका लागि कुखुरा किनेपनि अहिलेका लागि भने खासै कुखुराको किनबेच भएको छैन । अरुबेलाको तुलनामा दसैँमा मासुको कोरोबार झण्डै तेब्बर हुन्थ्यो ।

मासुजन्य पशु-पन्छी बिक्री हुने मुख्य याममै कोरोनाको महामारीले सताएकाले तिनको कोरोबार नबढेको इलाम नगरपालिका पशु हाट कर सङ्कलक एवं सचिदानन्द सेवा केन्द्रका सञ्चालक रमेश श्रेष्ठ बताउँछन् । “धेरै खसीबोका त जिल्ला बाहिर लगेर पनि जिल्लामा कम कारोबार भएको हो” उनी भन्छन्,“अहिले कोरोनाले परिवार नै तित्तरबित्तर भएर भेला नभएकाले र कतिपयको क्रयशक्ति पनि घटेकाले पनि मासुको कारोबार नभएको हो ।” जिल्लामा अहिले खसीको मासु प्रतिकिलो रू आठ सयमा र र बोइलर कुखुराको मासु प्रतिकिलो रू ३ सय ८० देखि चारसयमा किनेबेच भइरहेको छ ।

बोइलरमा बिचौलियाको मनोमानी
बोइलर कुखुराको मासु किनबेचमा बिचौलीयाले बढी नाफा लिएको पाइन्छ । अहिले उत्पादकबाट सङ्कलकले प्रतिकिलो बोइलर कुखुरा रु २ सय ३० मा किनेर रु २ सय ४५ मा फ्रेस हाउसमा बेच्ने गरेका छन् भने फ्रेस हाउसले बोइलरको मासु रु ३ सय ८० देखि रु ४ सयसम्म लिने गरेका छन् ।

कुखुरा किनेको मूल्यको दोब्बर नाफा लिएर फ्रेस हाउसले मासु बिक्री गरेको देखिन्छ । ठूलो रकम नाफा लिएर बेच्दा पनि फ्रेस हाउस सञ्चालकले मासु बनाउन झन्झट हुने भएकाले बढी रकम लिनु परेको बताउने गरेका छन् ।“ हामीले मासु काट्न धेरै खर्च गर्नुपर्छ । त्यसैले धेरै रकम लिएको देखिएको हो ।”

जिल्ला कुखुरा व्यवसायी संघका अध्यक्ष दिनेश महत भनछन्, “हामीले प्वाखसहितको कुखुरा किनेर मासु मात्र बेच्नुपर्छ । त्यसैले मासुसमेत घट्नाका साथै काट्नका लागि ग्यास र श्रम लाग्नाले धेरै रकम लिइएको हो ।”

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: