संक्रमितलाई घृणा नगरी आइसोलेसनमा बस्न वातावरण मिलाउनुपर्छ : जिसस सदस्य गुरुङ « Nagarik Khabar

संक्रमितलाई घृणा नगरी आइसोलेसनमा बस्न वातावरण मिलाउनुपर्छ : जिसस सदस्य गुरुङ



दमौली । जिल्ला समन्वय समिति तनहुँका सदस्य गलबहादुर गुरुङलाई १५ दिन अगाडि ज्वरो आयो । सामान्य ज्वरो होला भनेर उनले औषधि सेवन गर्दै आवासगृहमै आराम गरे । ज्वरो दिनप्रतिदिन बढ्दै गयो ।

ज्वरोका कारण उनलाई पानीभन्दा केही पनि रुचेन । ज्वरो झन् बढ्दै १०३ सम्म पुग्यो । जिससका प्रवक्ता गुरुङ ओछ्यानबाट चल्न नसक्ने अवस्थामा पुगे । बेलाबेलामा होश नै हराएको जस्तो हुने र श्वास फेर्न एकदमै गाह्रो हुँदै गयो । बीचमा उनले पोखरा जाने सोच पनि बनाए तर ज्वरो भनेपछि हतपत सवारी साधन नै पाउन गाह्रो भयो । केही दिनपछि एम्बुलेन्समा उनलाई पोखरा लगियो, उपचारका क्रममा उनलाई कोभिड–१९ संक्रमण पुष्टि भयो । उपचारपछि कोरोनालाई जितेका गुरुङले राससकर्मी कृष्ण न्यौपानेसँग आफ्ना अनुभव यसरी सुनाए :

जनप्रतिनिधि भएको नाताले विभिन्न भेला र ठाउँमा गइयो । कतिबेला कसरी अदृश्य भाइरसले संक्रमित भइयो, थाहा नै पाइएन । कोभिड हो भन्ने शङ्का नै थिएन त्यसैले मौसमी ज्वरो होला निको भइहाल्छ भनेर एक्लै क्वार्टरमा आइसोलेट भएर बसेँ । दमौलीकै हस्पिटलहरुमा परीक्षण गर्दै औषधि सेवन गरेर बसेँ तर ज्वरो झन् बढ्दै गयो । ज्वरो बढ्दै १०३ सम्म पुग्यो । पछि ओछ्यानबाट चल्न नसक्ने अवस्थामा पुगेँ । बेलाबेलामा होश नै हराएको जस्तो हुने, श्वास फेर्न एकदमै गाह्रो हुँदै गयो । बीचमा पोखरा जाने सोच पनि नबनाएको होइन, तर ज्वरो भनेपछि गाडी पनि पाइएन र केही दिनपछि कार्यालयबाट परीक्षण गर्न जाने भनेर जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, समन्वय अधिकारी र सदस्य साथीहरूले जिसस सदस्य दिव्य्श्वरी बहिनी र कार्यालय सहयोगी दिल राना दाइलाई एम्बुलेन्स लिएर क्वार्टरमा पठाउनु भएको रहेछ र दमौलीको हस्पिटलमा एक्सरे, ब्लड चेक गरेपछि फोक्सोमा समस्या आइसकेकाले तुरुन्तै पोखरा जानू भन्ने सुझाव आयो ।

पछि एम्बुलेन्स लिएर पोखरा गण्डकी हस्पिटल पुगेँ तर गण्डकीमा उच्च ज्वरो भनेपछि भर्ना लिन मानेन । पिसिआरका लागि भोलि आउनू, अहिले घर जानू भनेपछि झन् पीडा थपियो । एकातिर श्वास फेर्न एकदमै गाह्रो भइरहेको थियो, अर्कातिर उच्च ज्वरोले सपना जस्तै भइरहेको थियो । केही सोच्न पनि सकिरहेको थिइन । अब भर्ना नलिने भएपछि गाडी खोजेँ, त्यहाँ पनि त्यही समस्या, ज्वरोको बिरामी भनेपछि गाडी नै नमान्ने । केही विकल्प नदेखेपछि हस्पिटलको प्राङ्गणमा नै थचक्क बसेँ । केही समयपछि पूर्वमन्त्री शङ्कर भण्डारी दाइले गण्डकीको इञ्चार्ज अर्जुन आचार्य सरलाई कुरा गर्नुभएछ र बल्लबल्ल इमर्जेन्सीको एउटा कुनामा बस्ने व्यवस्था मिलाइयो । केही समयपछि त्यहाँबाट पनि प्रिआइसोलेसनमा लगियो र अक्सिजन दिइयो । बल्ल केही राहत महसस भयो र ज्वरोको औषधि चलाउन शुरु गरेपछि ज्वरो पनि कम भयो र पीडा पनि तर श्वास फेर्न चाहिँ गाह्रो भइरहेको थियो ।

भोलिपल्ट पिसिआर परीक्षण भयो र पर्सिपल्ट रिपोर्ट आयो पोजिटिभ । श्वास फेर्न एकदम गाह्रो भइरहेका बेला स्वास्थ्यकर्मीले रिजल्ट पोजिटिभ आएको खबर सुनाउँदा झन् पीडा भयो । तैपनि आफूलाई सम्हाले । पोजिटिभ त आयो फेरि आइसोलेसनमा बेड छैन भनेर तनाव दिइयो । एक दिन प्रिआइसोलेसनमै बसेपछि बल्लबल्ल भोलिपल्ट आइसोलेसनमा आइसियूमा लगेर राखियो ।

आइसियूमा पुगेपछि बल्ल थाहा भयो कोरोना के हो भन्ने । श्वास फेर्न गाह्रो भएर आफ्नै अगाडि मान्छेहरु भटाभट मरिरहेको प्रत्यक्ष देखेँ, आफ्नै आँखा अगाडि मान्छे मर्दै प्लाष्टिकमा बेर्दै लाँदै गर्दा कति आत्तिएँ, त्यो पल सम्झँदा पनि जीउमा काँडा उम्रेर आउँछ । मरिसकेपछि पनि आफन्तले लान नपाउने, सैनिक आएर लैजाने नियम रहेछ । सैनिक आउन ढिलो भएका दिनहरुमा कति दिन त छेउको बेडको लाशहरुसँगै रात बिताउनुप¥यो । मान्छे नमरेको दिन हुँदैनथ्यो । आफ्नै बेडको छेउमा मान्छे मर्दा कति रात आँखा चिम्म नगरी छर्लङ्गै पारियो ।

धेरैले कोरोना साधारण फ्लू हो केही होइन भन्छन् तर त्यसो भन्नेले कोरोनाको आइसियूमा मात्रै तीनचार मिनेट गएर हेरेमा कोरोना के हो प्रष्ट हुन्छ । केही दिन आइसियूमा बसेर अलि रिकभर भएपछि नर्मल बेडमा सारियो । बल्ल केही राहत भयो, त्यसपछि भने बाँच्छु भन्ने आश पलायो ।

दसैँभरि आइसोलेसनमा नै बसियो, आइसोलेसनमा रहँदा धेरै स्वास्थ्यकर्मीहरु हामीसँगै आइसोलेसनमा नै थिए । धेरै स्वास्थ्यकर्मीहरु आफ्नो परिवार छाडेर संक्रमितको उपचारमा खटिएका छन्, त्यसैले सबै स्वास्थ्यकर्मीलाई सम्मान गरेर उनीहरुको मनोबल बढाउनुपर्छ । समाजमा अब झन् संक्रमितहरु बढ्दै गइरहेका छन् । त्यसैले संक्रमितहरुलाई घृणा नगरी आइसोलेसनमा बस्न सहज वातावरण मिलाउनुपर्छ । अनि मात्र कोभिडको यो लडाइँमा सफलता पाउन सकिन्छ । अबका दिनहरु झन् भयावह हुने निश्चित छ । त्यसैले थोरै बेडको भए पनि हरेक पालिकाले आइसोलेसन बनायो भने केही सहज होला, होइन भने अब सरकारी हस्पिटलहरुमा बेड पाउन ठूलै युद्ध जित्नुपर्छ । रासस

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: