कुमार बिकको खुट्टा छिनाल्ने दुईजना जुत्तामा लागेको रगतका आधारमा पक्राउ « Nagarik Khabar

कुमार बिकको खुट्टा छिनाल्ने दुईजना जुत्तामा लागेको रगतका आधारमा पक्राउ



घोराही । दाङको तुलसीपुर उपमहानगरपालिकाका ४५ वर्षीय कुमार बिकको खुट्टा छिनाल्ने दुई जनालाई इप्रका तुलसीपुरले पक्राउ गरेको छ । गलौरीमा चार दिनअघि खुट्टा छिनालिएको अवस्थामा बिक फेला परेका थिए । उनको गम्भीर अवस्थामा भारतको लखनऊमा उपचार भइरहेको छ ।

इप्रका तुलसीपुरका अनुसार घटनामा संलग्न २४ वर्षीय अमृत चौधरी र २२ वर्षीय पवन चौधरीलाई प्रहरीले पक्राउ गरेर आज सार्वजनिक गरेको छ । दुबैजनाले आफूहरुले खुर्पाले खुट्टा छिनालिदिएको स्वीकार गरेका छन् ।

गलौरीमा झगडामा संलग्न भएको आशंकामा बिकमाथि दुबैजनाले आक्रमण गरेको डिएसपी शिवबहादुर सिंहले जानकारी दिए । दुबैजनाले बिकलाई आक्रमण गर्ने बेलामा मदिरा सेवन गरेको पाइएको छ । रक्सीको नशामा अमृत र पवनले आफन्तको घरमा झगडा गरेको आरोप लगाएर कुटपीट गरेको पाइएको छ ।

घटनापछि प्रहरीले ८८ जनालाई पक्राउ नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । गम्भीर घाइते बिकले आफूलाई चौधरी समुदायका व्यक्तिले आक्रमण गरेको र रातो कपडा लगाएको बताएपछि प्रहरीलाई अनुसन्धान गर्न सजिलो भएको डिएसपी सिंहले बताए ।

सुराक पाएपछि प्रहरीले घरघरमै पुगेर अनुसन्धान गर्न थाल्यो । खोजीको क्रममा अमृतको घरमा पुगेको प्रहरीले उनको जुत्तामा रगत देखिएको थियो । त्यसैका आधारमा अनुसन्धान गर्दा प्रहरीले रगत लागेको रातो टिसर्ट पनि फेला पर्यो ।

गाउँमै लुकेर बसेका दुबैजनालाई प्रहरीले एकै ठाउँबाट पक्राउ गर्यो । उनीहरु ज्वाईँ जेठान भएको खुलेको छ । प्रहरीले पक्राउ परेका दुबैजनाविरुद्ध ज्यान मार्ने कसुरमा मुद्दा दर्ता गर्ने तयारी गरेको इप्रका तुलसीपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: