सन्दर्भः सिन्धुलीगढी विजयोत्सव : नेपाल बचाउने शिकारी नाइके वंशु गुरुङ ‘हाम्रो पुर्खा’ « Nagarik Khabar

सन्दर्भः सिन्धुलीगढी विजयोत्सव : नेपाल बचाउने शिकारी नाइके वंशु गुरुङ ‘हाम्रो पुर्खा’



  • लेख गुरुङ

मानव सृष्टि र सभ्यताको सुरुवातदेखि नै मानिसहरु यस संसारमा एकापसमा मिलिजुली परिवार अनि समुदाय जमाएर जीवनयापनका लागि विभिन्न उपायहरु अपनाउन थालेपछि सीमित साधनले असीमित आवश्यकता पूरा गर्न कठिन हुँदै गयो । विभिन्न समस्याहरु देखा पर्न थाल्यो र परिवर्तनशील समाज अनि परिवेशमा जीविकोपार्जन गर्न अति नै कठिन बन्दै गयो । फलस्वरुप समयको चक्रसँगै मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सराईको क्रम बढ्न थाल्यो । त्यति मात्रै नभएर आफ्नो परम्परा, पहिचान, रीतिरिवाज, धर्म, संस्कृतिको जगेर्ना गर्न, रोजीरोटीको खोजी र भावी सन्ततीहरुको सफल अनि उज्ज्वल भविष्यको सपना बोकेर समयको गतिसँगै आफ्नो जन्मभूमिलाई छोडेर कर्मभूमितिर पलायन हुन थाल्यो ।

यी सबका कारण रहर नभएर बाध्यता र विवसता थिए । त्यसैले होला, झन्डै २७५ बर्षअघि नेपाल अनि नेपाली भूमिको बचाउ गर्ने वीर योद्दा, सरदार (शिकारी नाईके) वंशु (वंश) गुरुङ कलिलो उमेरमा दाइ हर्कदेव गुरुङको पछि लागेर लमजुङ जिल्लाको पुरानो बाग्लुक गाबिस वडा नम्बर १ कोन्ह्रै नास (कपुर गाउँ) वर्तमान क्होला सोंथर गाउँपालिका वडा नम्बर १ कपुर गाउँका दुई लेम्मे (लाम्छाने) गुरुङ दाजुभाइ आफ्नो पुरोहित क्ह्यब्रीसहित भौतारिँदै सुनौलो भविष्यको खोजीमा गोर्खा हुँदै कास्कीको बरसाम्मी डाँडा निवुवा बोटमा बसोबास गर्न आईपुगे । त्यहाँ पनि उनीहरुको बसाइ सहज हुन सकेन । अन्ततः तनहुँ जिल्ला वडा नम्बर ८ जस्पुर फिरफिरे गाबिस हाल शुक्लगण्डकी नगरपालिकामा स्थायी रुपमा बसोबास गर्न पुगे । त्यस उपरान्त उहाँको सन्ततिहरु हालसम्म त्यसै ठाउँमा खेती किसानी तथा वैदेशिक रोजगारी पेशा अपनाएर आफ्ना परिवारका साथमा रमाइरहेका छन् ।

दाजु हर्कदेवले स्याङ्जा जिल्लाको टक्सार गाउँबाट कोह्न्मे (घोताने) गुरुङकी छोरी विवाह गरेर घरजम गरेतापनि उहाँबाट कुनै सन्तानको जन्म नभैकन हर्कदेव गुरुङको मृत्यु भयो । पतिको मृत्यु भएपछि उहाँकी धर्मपत्नीले पनि आफ्नो पतिको पार्थिव शवसँगै सती जाने निर्णय लिइन् । वंशु गुरुङले आफ्नी भाउजुलाई सतीजानबाट रोक्न अनेक बिन्ती गरेतापनि उनी आफ्नो निर्णयमा अडिग रही आफ्नो देवरलाई आशिष उपदेश दिएर सती गईन् । सती जाने क्रममा आफ्नो देवरलाई “तिमी नरोउ बाबु, मबाट सन्तान भएन । तिमीहरुलाई घोताने गुरुङसँग कुटुम्ब सम्बन्ध लाभदायक नभएको भान भयो । तिमीले लामा गुरुङकी छोरी विवाह गर्नु” भनेर सुझाव दिइन् र “तिम्रो सन्तानले डाँडाकाडा, खोलानाला ढाकुन” भनेर आशिर्बाद दिँदै आफ्नो देवरलाई सोलमा दागबत्ती लगाइदिन भनी सती गएको भनाइ छ । यसै घटनापछि जस्पुर गाउँ नजिकैको उक्त घटना स्थललाई जनमानसमाझ प्रचलित सतीडाँडा नामले चिनिन्छ ।

दाजुभाउजुको देहवसानपछि वंशु गुरुङको काँधमा धेरै किसिमका पारिवारिक दायित्वका बोझ थपिए । त्यसबेला जस्पुर गाउँको वरिपरिका छिमेकमा कुसुन्डा गाउँहरु थिए र वंशु गुरुङ तिनीहरुका संसर्गमा पुगे । ती कुसुन्डाहरु जङ्गलमा बसोबास गर्ने, रमाउने र उनीहरुका जीवनशैली जङ्गलमा नै आत्मनिर्भर थिए । उनीहरु जङ्गलमा शिकार खेल्ने कलादेखि धनुष विद्या अनि स्थानीय बस्तुहरुको सदुपयोग गर्न निपूर्ण थिए । तिनै कुसुन्डाहरुको संसर्गमा रहेर वंशु गुरुङले शिकार खेल्ने कला धनुर्विद्याको ज्ञान अनि स्थानीय बस्तुहरुको सदुपयोग गर्ने कला हासिल गरेपछि ऊ एक अचुक निशाना बाज अनि निपूर्ण शिकारी बने । कपुर गाउँबाट सँगै आएका आफ्नो पुरोहित क्ह्यब्रीबाट उनले वन्य जीवहरुलाई वशिभुत पार्ने तन्त्रमन्त्रको ज्ञान पनि हासिल गरेका थिए । त्यसैले उनीमा आवश्यकतानुसार आफ्नो शत्रुको बिरुद्ध वा शिकार खेल्ने क्रममा अरिंगाल जस्ता वन्यजीवको प्रयोग गर्ने ज्ञान पनि थियो । अचुक निशाना बाज, निपूर्ण धनुषविद्याको ज्ञाता अनि स्थानीय बस्तुहरुको सदुपयोग गर्ने कलाको धनी ती चतुर युवक रणभूमिमा शत्रुको बिरुद्ध तिनै कलाको उपयोग गरेर शत्रुलाई परास्त पार्दै भविष्यमा एकदिन नेपाल राष्ट्रको एकीकरण अभियानमा मुख्य भूमिका निभाएर उनको नाम नेपालको इतिहासमा स्वर्णिम अक्षरले लेखिनेछ भनेर त्यसबेला कसैले कल्पनासम्म पनि गरेका थिएनन् ।

त्यसबेला परम्परा अनुसार मानिसहरु आफ्नो खेतिबाली भित्र्याइसकेपछि हिउँदमा शिकार खेल्न पहाडको लेकदेखि भित्री मधेशसम्म पुग्ने गर्दथे । त्यसै क्रममा मधेस झरेर आफ्नो दक्षता प्रदर्शन गर्न राजा महाराजाहरु, युद्ध कौशलमा निपूर्ण र पराक्रमी बहादुर शिकारीहरुको ठूलो जमघट हुने गर्दथे । एक बाणले एक बाघको शिकार गर्ने, स्थानीय जंगली काँडा, ढुङ्गा तथा अरिंगाल जस्ता जीवहरुको प्रयोग गर्ने अद्भूत कला भएको वंशु गुरुङ पनि आफ्नो युद्ध कौशल र प्रतिभाको प्रदर्शन गर्न त्यस बखत मधेश पुगेका थिए । वंशु गुरुङको अद्भूत प्रतिभा अनि शिकार खेल्ने कला देख्दा मन्त्रमुग्ध भएर तत्कालिन गोर्खाका राजा श्री ५ महाराजधिराज पृथ्वी नारायण शाहद्वारा वहाँलाई गोर्खा दरबारमा बोलाइएको थियो । पृथ्वीनारायण शाहद्वारा नेपाल एकीकरण सहज र सरल पार्नका लागि गौंडा गौंडामा गुरुङहरुलाई पनि खटाउने आदेश भएकोले वहाँले महत्वपूर्ण जिम्मेवारी पाएका पाउनुभएको थियो ।

नेपालको इतिहासमा विक्रम सम्बत १८२४ मा सिन्धुलीगढीको युद्धमा गोर्खाका पृथ्वी नारायण शाहको सेना नायक (शिकारी नाइके) नियुक्त भएको वंशु गुरुङको नेतृत्वमा साम्राज्य बिस्तारबादी अंग्रेज सेनाले ठूलो क्षतिका साथै दक्षिणपूर्व एशियाकै पहिलो पराजय भोग्न परेको थियो । यसरी अंग्रेजलाई पराजयको स्वाद चखाएर वंशु गुरुङले नेपाललाई साम्राज्य बिस्तारबादी अंग्रेजको पञ्जाबाट जोगाएर अंग्रेजको उपनिवेश हुनुबाट बचाएका थिए । आधुनिक हातहतियारले सुसज्जित तत्कालीन अंग्रेज सेनालाई परास्त पारेर उनीहरुको हातहतियार वंशु गुरुङले आफ्नो कब्जामा लिएको नेपालको इतिहासमा उल्लेख छ ।

त्यसअघि गोर्खाली सेनासँग बन्दुक नभएको र सिन्धुलीगढीको युद्धमा अंग्रेज सेनालाई तहसनहस पारेर कब्जा गरिएको १६ नाल भरुवा बन्दुक प्राप्त भएकोले पृथ्वी नारायण शाहको नेपाल एकीकरण अभियान सहज र सफल भएको इतिहासकारहरुको भनाइ छ । सिन्धुलीगढीको युद्धमा अंग्रेज सेनालाई परास्त पारेर नेपाललाई अंग्रेजको उपनिवेश हुनुबाट बचाउने र पृथ्वी नारायण शाहको नेपाल एकीकरण अभियान सफल पार्न टेवा पु¥याउने वंशु गुरुङ नेपालकै एक राष्ट्रिय विभुति हुन् । नेपालको इतिहासमा स्वाभिमानको युद्ध विजेता शिकारी नाईके वंशु गुरुङलाई इतिहासबाट ओझेलमा पारिएको छ र उहाँप्रति ठूलो अन्याय भएको छ । बाह्य शक्तिको आक्रमणबाट राष्ट्रको सुरक्षा गर्ने अब्बल दर्जाका वीर योद्धा सरदार शिकारी नाइके वंशु गुरुङको नाम नेपालको इतिहासमा सम्मानका साथ सुनौलो अक्षरले कोरिनु पर्दछ ।

सिन्धुलीगढीको युद्ध समाप्त भएपछि घरतर्फ फर्कने क्रममा वंशु गुरुङको विवाह तनहुँको समजुर गाउँको लामा गुरुङकी छोरीसँग भएको थियो र उनका तीन भाइ छोराहरु क्रमशः जेठा लक्ष्मण गुरुङ, माइला मइपती गुरुङ र कान्छा चँवला गुरुङ थिए । सरदार वीर योद्दा वंशु गुरुङको पराक्रमले गर्दा लक्ष्मण गुरुङका तीनै भाइ छोराहरु नेपाली सेनामा जागिरे भए । लक्ष्मण गुरुङका जेठा छोरा बाघसिंङ गुरुङ श्री ३ महाराज जङ्गबहादुर राणाले अंग्रेजलाई सघाउन खटाएका क्वाइट इन्डिया आन्दोलन दबाउने नेपाली फौजमा सामेल थिए । यसरी जङ्गबहादुर राणाद्वारा खटाइएका नेपाली फौज लखनउ, गोरखपुर र दाङ निर्ममताका साथ दमन गरी नेपाल फर्केका थिए र केही वर्षको सैन्य सेवा पछि बाघसिङ गुरुङ घर व्यबहार सम्हाल्न भनी घर फर्के ।

साइँला छोरा जम्दार पदमा पुगेका थिए भने कान्छा छोरा पतिराम गुरुङलाई चारखालको सुब्बाको कार्यभार सुम्पिएको थियो । सुब्बाको कार्यभार सम्हाल्ने क्रममा पतिराम गुरुङलाई सहुलियत स्वरुप हात्ती पनि प्राप्त भएको थियो । त्यसबेला हात्ती सवारीको सुबिधा भाइभारदार र मन्त्रीहरुमा मात्र सीमित थियो । पतिराम गुरुङलाई उपलब्ध गराएको हात्ती बाँध्न प्रयोग भएको साङ्ला अझै पनि जस्पुर गाउँमा भेटिन्छ । १६ हजार चितवन र ५२ मौजा नवरपुरको कुत असुल गर्न तोडावाहकमा नियुक्त भएको पतिराम गुरुङले आफ्नो कार्यकालमा डाकासँगको भिडन्तमा वीरगति प्राप्त गरेका थिए । पतिराम गुरुङको निधनपछि उहाँको श्रीमती र छोरा मानध्वज गुरुङलाई मधेश नवरपुरमा एक बिशाल खेतीयोग्य भूमि विर्ता स्वरूप श्री ३ महाराजबाट प्रदान गरिएको थियो तर नाबालक मानध्वजको असुरुक्षा र उसको भविष्यप्रति खतराको संकेतलाई महशुस गरेर कान्छी आमाले उक्त विर्ता अस्वीकार गरिन । र, मानध्वज गुरुङलाई साथमा लिएर जस्पुर गाउँ फर्किन ।

कुत असुल गर्ने क्रममा भएको डकैती भिडन्तमा अंगरक्षकका साथै १६ जना भारदारहरु पनि परेकोमा पतिराम गुरुङको मात्रै मृत्यु हुनुमा तत्कालीन अतिबादी हिन्दू वर्णाश्रम भित्रको साम्प्रदायिक भेदभावको षड्यन्त्रको भूमिका रहेको र पतिराम गुरुङ यिनैको शिकार बनेको अनुमान छ । त्यस बखत नाबालक मानध्वज गुरुङ दरबार हाइस्कुलमा अध्ययनरत थिए र पतिराम गुरुङको रहस्यमय मृत्युपछि मानध्वज गुरुङलाई साथमा लिएर उनकी कान्छी आमा जस्पुर फर्केपछि मानध्वज गुरुङलाई २ हजार ढोरको जिम्मावलीको अभिभारा सुम्पिएको थियो । यसरी वंशु गुरुङको सन्तानको मान र प्रतिष्ठा २ हजार ढोरमा फैलिएको थुप्रै प्रमाणहरु भेटिन्छ ।

यसै क्रममा आफ्नो पुर्खाको ख्याती फैलाउने अर्को पौरखी सन्तान चँवला गुरुङको छोरा कमानसिङ गुरुङ थिए । कमानसिङ गुरुङ जस्पुर कोटको किल्ला उमरव नियुक्त भए र उनै कमानसिङ गुरुङका छोरा बुद्धिबल गुरुङ २ हजार ढोरमा साहुको (द्वारे साहु) नामले कहलाएका थिए । ‘जस्तो नाम उस्तै काम’ भने जस्तै अति परिश्रमी र लगनशील बुद्धिबल गुरुङले आफ्नै बल र बुद्धिको भरमा अपार धन सम्पत्ती आर्जन गरी ख्याती कमाएका थिए । उनले दुई बर्षभित्र कडा मेहनत र परिश्रम गरेर आपूm एक्लैले ४६ फुट लामो कुलो निर्माण गरेको र ज्यामीको मद्दतले १० फुट चौडा १२ फुट अग्लो र ११५ फुट लामो धुलपुर तयार पारेर तालबेंसी फाँटका खेतमा सिंचाइ पु¥याएर प्रचुर मात्रामा धानको उब्जनी गरेको वंशावलीमा उल्लेख छ । वर्षायामको अन्त्यमा द्वारे साहु घमाइलो दिन पारेर आफ्नो आँगनमा बाँसको चोयाको मान्द्रोमा राडी बिछ्याएर महेन्द्रमली चाँदीका सिक्काहरु सुकाउने गर्दथे र द्वारे साहुको घरमा १४ वटा पुवाको धागोले बुनेको चाँदीका सिक्काहरु राख्ने जावे थैली थियो भन्ने तथ्य पनि वंशावलीमा उल्लेख छ ।

कालान्तरमा जिम्मावनल (जिमु) मानध्वज गुरुङको देहावसनन सेती नदी तर्ने क्रममा काठको कच्ची पुलबाट खसेर नदीमा डुबेर भएको थियो । जिमु मानध्वज गुरुङको देहावसानपछि २ हजार ढोरको जिम्मवलीको अभिभारा उनको भतिज कुल बहादुर गुरुङले सम्हालेको थियो र जिमु कुलबहादुर गुरुङपछि नेपालमा जिम्मवली प्रथाको अन्त भएको थियो । यिनै इतिहासका तथ्यहरु नरबहादुर गुरुङद्वारा लेखिएको जस्पुर गाउँका वंशु गुरुङको सन्तानको वंशावलीमा उल्लेखित बयानहरु तथा अझै पनि जस्पुर गाउँमा भेटिने ऐतिहासिक प्रमाणहरुको आधारमा ठोकुवाका साथ प्रमाण्ीित गर्न सकिन्छ कि सिन्धुलीगढीको युद्ध विजेता शिकारी नाईके र नेपाल बचाउने वंशु गुरुङ हाम्रा (कपुर गाउँबाट आएका जस्पुरका लाम्छाने गुरुङका) पुर्खा हुन् ।

मेरो पुर्खा, वंशु हाम्रो र हामी वंशुको सन्तान !!

(लेखक वंशु गुरुङ सन्तान तथा वर्तमान तनहुँ समाज युकेका अध्यक्ष हुन् ।)

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: