हङकङमा नेपालीले चलाएको रेष्टुरेन्टमा आगलागी, कम्तिमा सात जनाको मृत्यु « Nagarik Khabar

हङकङमा नेपालीले चलाएको रेष्टुरेन्टमा आगलागी, कम्तिमा सात जनाको मृत्यु



जोर्डन । हङकङमा नेपालीले सञ्चालन गरेको एक रेष्टुरेन्टमा आगलागी हुँदा कम्तिमा सात जनाको मृत्यु भएको छ।

याउमातेइस्थित सो रेष्टुरेन्टमा भएको आगलागीमा एक बच्चासहित चार पुरुष र तीन महिलाको सनाखत भइसकेको छैन । तर मृतकहरू दक्षिण एसियाली मुलका नागरिक रहेको प्रहरीलाई उधृत गर्दै साउथ चाइना मर्निङ पोष्टले जनाएको छ।

हङकङको समय अनुसार आइतबार राती करिब ८ बजे भएको आगलागीमा १३ जना गम्भीर घाइतेलाई प्रहरीले उद्धार गरेको थियो । तीमध्ये सात जनाको मृत्यु भएको हो ।

घटनास्थल याउमातेइको क्यान्टोन रोड र साइगोन रोडको बीचमा पर्छ, जुन हङकङका नेपाली बसोबास गर्ने एउटा मुख्य क्षेत्र हो ।

हङकङमा यो पछिल्लो एक दशकयता भएको सबैभन्दा डरलाग्दो आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट जोगिन एक जना पुरुष राती करिब ८ बजेर ३५ मिनेटमा झ्यालबाट भाग्दै गरेको देखिएका थिए।

अग्नि नियन्त्रक सुरक्षाकर्मीले करिब आधा घण्टामा आगलागी नियन्त्रणमा लिएका थिए । घाइतेलाई नजिकैको क्वीन एलिजावेथ, क्वांग वाह, प्रिन्सेस मार्गरेट अस्पताल र क्यारितास मेडिकल सेन्टर लगिएको छ।

बर्थ डे पार्टी भइरहेको बेला आगलागी भएको बताइएपनि यसको पुष्टि भइसकेको छैन। घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: