हङकङस्थित रेष्टुरेन्टमा आगलागी अपडेट : मृत्यु हुने सातै जना नेपाली « Nagarik Khabar

हङकङस्थित रेष्टुरेन्टमा आगलागी अपडेट : मृत्यु हुने सातै जना नेपाली



हङकङ । हङकङस्थित नेपालीले सञ्चालन गरेको एक रेष्टुरेन्टमा आइतबार राती भएको आगलागीमा मृत्यु हुने सातै जना नेपाली रहेको खुलेको छ ।

राति ८ बजेको समयमा भएको आगलागीमा परी मृत्यु हुने अधिकांश बागलुङका छन् । आगलागीमा परी १८ जना घाइते भएका थिए । घाइतेमध्ये सात जनाको मृत्यु भएको छ ।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । घाइतेमध्ये एकजना सामान्य उपचारपछि घर फर्किएका छन् ।

घटनाको पुष्टि गर्दै गैरआवासीय नेपाली संघ हङकङका महासचिव गोकर्ण ढकालले तिहारको बेला अत्यन्त दुःखद घटना भएको बताए ।

उनले आफू घटनास्थल पुगेर फर्किएको र अस्पतालहरुमा रहेका विरामीको अवस्था बुझ्न लागिरहेको जानकारी दिए ।

मृत्यु हुनेमा ९ देखि ४० वर्षका चार पुरुष र तीन महिला छन् । उनीहरुको सनाखत भएको छैन ।

सोमबार बिहानै क्वीन एलिजावेथ र क्वांग वाह अस्पताल पुगेर फर्केका हङकङ एकीकृत नेपाली समाजका यमलाल कँडेलका अनुसार, मृतक सातमध्ये क्वांग वाहमा चार र क्वीन एलिजावेथ अस्पतालमा तीन जनाको शव छ।

बागलुङ समाज हङकङका सचिव शक्तमान बुढाथोकीले समाजका आजीवन सदस्य राज कँडेलको छोराको जन्मदिन मनाउने क्रममा आइतबार राती आगलागीको घटना हुँदा बागलुङका धेरै परेको जनाएका छन् ।

बुढाथोकीका अनुसार बागलुङ समाज हङकङका सदस्य कृष्ण कँडेलको परिवारका ४ जना, आजीवन सदस्य राज कँडेलको परिवारका ३ जना, उनकी बहिनी पूजा कँडेलको परिवारका ४ सदस्य घटनामा परेका हुन् ।

घटनास्थल याउमातेइको क्यान्टोन रोड र साइगोन रोडको बीचमा पर्छ, जुन हङकङका नेपाली बसोबास गर्ने एउटा मुख्य क्षेत्र हो ।

हङकङमा यो पछिल्लो एक दशकयता भएको सबैभन्दा डरलाग्दो आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट जोगिन एक जना पुरुष राती करिब ८ बजेर ३५ मिनेटमा झ्यालबाट चिच्याउँदै भाग्दै गर्दा खसेर घाइते भएका थिए ।

अग्नि नियन्त्रक सुरक्षाकर्मीले करिब आधा घण्टामा आगलागी नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: