नेकपा सचिवालयमा बादलले भने, ‘१० दिनको समय’: अरु नेताले के भने ? « Nagarik Khabar

नेकपा सचिवालयमा बादलले भने, ‘१० दिनको समय’: अरु नेताले के भने ?



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अनुपस्थित हुने घोषणा गरेका प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली बैठकमा सहभागी भएका छन् । ओली र उनका सल्लाहकार तथा निकट नेताहरुले प्रचण्डले शुक्रबारको बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रस्ताव फिर्ता नलिएमा बैठकमा उपस्थित नहुने र संवादसमेत नहुने बताएका थिए ।

तर, आजको बैठकमा ओली र उनी निकट नेताहरु पनि सहभागी भए । आफ्नो अनुकूल नभएपछि सुरुमा बैठकमा सहभागी नहुने बताएका ओलीले आजको बैठकमा उपस्थित भएर आफ्ना कुरा राखेका थिए । उनले आफूले पनि जवाफ दिनुपर्ने भनेपछि पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गरेका एक सचिवालय सदस्यले बताए ।

सचिवालय बैठकमा कसले के भने ?

एक सचिवालय सदस्यका अनुसार सुरुवातमा प्रचण्डले छोटो भूमिका बाँधेर बैठक सञ्चालन गरेका थिए । प्रचण्डले ओलीतर्फ हेरेर ‘तपाईँको केही छ कि ? ’ भनेर सोधेपछि ओलीले आफ्नो कुरा राख्न सुरु गरेका थिए ।

बैठकमा ओलीले भने, ‘मेरोविरुद्ध आएको प्रस्तावको मैले पनि जवाफ दिनुपर्छ । त्यो राजनीतिक प्रतिवेदन होइन, अभियोग पत्र हो । अभियोग पत्रको जवाफ दिनका लागि मलाईँ १० दिनको समय चाहिन्छ । मैले त्यो प्रस्तावको जवाफ बैठकबाटै दिन्छु ।’

त्यसपछि बोलेका प्रचण्डले ओलीको कुराको स्वागत गरे । उनले भने, ‘विधि र प्रक्रिया भनेकै यहीँ हो । अध्यक्षजीले जो भन्नु भयो, त्यो कुरा स्वागत योग्य छ । यस्ता बहसले पार्टीलाई नयाँ ठाउँमा लैजान सहयोग गर्छ । बैठकबाटै निकास खोज्नुपर्छ ।’

ओलीको चाहना अनुसार सचिवालय बैठक १३ गतेसम्मका लागि स्थगित भएपछि बोलाइएको केन्द्रीय कमिटी र त्यसअघि बोलाउने भनिएको स्थायी कमिटी बैठकका विषयमा दुबै पक्षबीच सहमति कायम गर्न समय लागेको थियो ।

ओलीसहितका नेताले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक आवश्यक नभएको बताएका थिए । ओली स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बसाल्न इच्छुक थिएनन् । त्यहीँ क्रममा महासचिव विष्णु पौडेलले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक राख्न आवश्यक नभएको बताएका थिए ।

सचिवालय बैठकमा उनले भने, ‘स्थायी कमिटी र केन्द्रीय कमिटीले सबै गर्ने हो भने सचिवालयको महत्व सकिन्छ । के हामी सचिवालयका असक्षम भइसकेका हौँ त ? त्यसो भए विघटन गरिदिए भै हाल्यो नि । पौडेलले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक रोक्नका लागि जोड दिएका थिए ।’

तर, सचिवालय बैठकले १८ गते स्थायी कमिटी तथा २५ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । मंसिर १५ देखि १७ सम्मका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक स्थगित गरेर मंसिर २५ गतेका लागि बैठक तय भएको छ ।

बैठकमा वरिष्ठ नेता माधव कुमार नेपालले समयमात्रै खर्च गर्न नहुनेमा जोड दिएका थिए । उनले बैठकमा भने, ‘हाम्रा क्रियाकलापले जनता र कार्यकर्तामा निराशा छाएको छ। हामीले आफूलाई समीक्षा गरेर सच्याएर अघि बढ्नुपर्छ । तीन तहका सरकार छाडा भएका छन्, गम्भीर समीक्षा गरेर सच्याऔं। ढिलाढाली नगरौं ।’

अर्का वरिष्ठ नेता झलनाथ खनालले पनि बैठकमा पार्टीको विधि, पद्दती र सामूहिकताबाट निकास खोज्नुपर्नेमा जोड दिएका थिए । उनले बैठकमा भने, ‘बैठकमा नयाँ प्रस्ताव ल्यायर छलफलबाट निकास खोज्ने कुरा राम्रो हो । तर, बैठकले गरेका निष्कर्ष मानेर जानुपर्छ । बैठकले निर्णय गर्ने र कार्यान्वयन शीर्षतहबाटै हुने कुराले काम गर्दैन ।’

उपाध्यक्ष बामदेव गौतमले पार्टी बैठकमा नयाँ प्रस्ताव ल्याउने अवस्थामा सकरात्मक भएको बताए । उनले बैठकमा भने, ‘प्रचण्ड कमरेडको प्रस्तावमा आएका आरोपहरु ठिक छन् । प्रस्तावमा आरोप पनि हुन्छन् । हामीले नेकपा एमालेमा हुँदा माधव कमरेडविरुद्ध ल्याएको प्रस्तावमा आरोप पनि थिए । बैठकले त्यो कुरा स्वीकार गरेको थियो । तपाईँले पनि समर्थन गर्नु भएको थियो । त्यसैले बैठकबाट निकास खोजौँ ।’

प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले पार्टीमा बहस भए पनि रुपान्तरणमा समस्या देखिएको बताए । उनले भने, पार्टी एकताको रक्षा गर्नुपर्छ । छलफल, बहस र रुपान्तरण हुनपर्छ । अहिले भइरहेको बहस ठिक छ । तर, पार्टी एकताका लागि हामीले के गरेका छौँ भनेर आफैलाई ध्यान दिऔँ ।

सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टी बैठकबाट निकास खोज्नुपर्नेमा जोड दिए । उनले भने, ‘आरोप पत्रको विषयमा अध्यक्षज्यूले जवाफ दिन्छु भन्नु भएको छ । त्यो सकरात्मक छ । हामीले थप बहस गरेर अगाडि बढ्नुपर्छ । सचिवालयबाट निकास खोजौँ ।’

सचिवालय बैठकमा ओलीले मागेको १० दिनको समय वा ७ दिनको समय भन्नेमा केहीबेर बहस भएको थियो । ओलीले सकभर लम्बाउन खोजिरहेका थिए भने अन्यले छोट्याउन खोजेका थिए । त्यहीँ क्रममा थोरै समय बोलेका सचिवालय सदस्य रामबहादुर थापा बादलले समय दिनुपर्नेमा जोड दिए । उनले भने, ‘सात दिनको होइन, १० दिनको समय दिनुपर्छ ।’

सचिवालय बैठकमा ओलीको उपस्थितिले पार्टी संस्थागत हिसाबले चल्ने वातावरण निर्माण भएको प्रचण्ड पक्षीय एक सचिवालय सदस्यले बताएका छन् । उनी भन्छन्, ‘बैठक नै बस्दैन, बैठकमै आउँदिन, प्रस्ताव नै मान्दिन, जवाफ नै दिन्न भनेर अड्डी कसेका हाम्रा अध्यक्ष बैठकमा आएर जवाफ दिन्छु भन्नु भएको छ । त्यसैले यो सकरात्मक छ । हामीले पूर्वएमालेमै उहाँको विधि मिच्ने कुरा भोगेका थियौँ, अहिले अरु साथीहरु पनि उहाँको व्यवहारले दिक्क हुनुभएको छ ।’

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: