तमु धिं यूकेको ११औं अधिवेशन डिसेम्बर २० मा, सर्वसम्मतको परम्परा नतोडिने « Nagarik Khabar

तमु धिं यूकेको ११औं अधिवेशन डिसेम्बर २० मा, सर्वसम्मतको परम्परा नतोडिने



लण्डन । बेलायतको सबैभन्दा ठूलो नेपाली संस्था तमु धिं यूके अधिवेशनको तयारीमा जुटेको छ । संस्थाको नयाँ नेतृत्व चयन समेत गर्ने ११औं अधिवेशन तथा २०औं साधारणसभा आउँदो डिसेम्बर २० तारिखमा हुन लागेको हो ।

यसअघि नोभेम्बर २१ लाई तय गरिएको अधिवेशन एक महिना पछि सारिएको हो । कोरोना महामारीको कहर र देशब्यापी लकडाउनका कारण महाधिवेशनको मिति पछि सार्नु परेको तमु धिं युकेका वरिष्ठ उपाध्यक्ष हितकाजी गुरुङले बताए ।

तमु धिं यूकेमा सामान्यतः सहमतिमै नेतृत्व चयन हुने परम्परा छ । यस पटक पनि यही परम्पराले निरन्तरता पाउने भएको छ । जसअनुसार वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा सर्वसम्मत रुपमै आउँदो कार्यसमिति चयन गर्ने तयारी शुरु भएको छ ।

डिसेम्बर २० मा हुने महाअधिवेशनको निर्वाचन कार्यतालिका समेत सार्वजनिक भएको छ । एकेन्द्र गुरुङको संयोजकत्वमा रहेको निर्वाचन समितिले संशोधित कार्यतालिका सार्वजनिक गरेको हो । जसअनुसार साधारण सदस्यता नवीकरणका लागि डिसेम्बर १० तारिख साँझ ५ बजेसम्मको समय तोकिएको छ ।

डिसेम्बर ११ मा मतदाताको पहिलो नामावली प्रकाशन गरिनेछ । डिसेम्बर १२ का दिन मतदाता नामावलीमा दाबी विरोध र अन्तिम मतदाता नामावली पनि प्रकाशित गरिने छ । सोहि उम्मेदवारी मनोनयन र उम्मेद्वारको नामावली प्रकाशन पनि गरिनेछ ।

डिसेम्बर १३ मा उम्मेद्वारी मनोनयमा दाबी विरोध र उम्मेद्वारी फिर्ताका लागि केही समय उपलब्ध गराएपछि उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुनेछ ।
मतदान कार्यक्रम डिसेम्बर २० तारिख आइतबार दिउँसो ४ बजेपछि सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: