सिन्धुलीमा कोभिड–१९ पिसिआर परीक्षण प्रयोगशाला सञ्चालन, आजदेखि परीक्षण शुरु « Nagarik Khabar

सिन्धुलीमा कोभिड–१९ पिसिआर परीक्षण प्रयोगशाला सञ्चालन, आजदेखि परीक्षण शुरु



सिन्धुली । सिन्धुलीमा कोरोना भाइरस (कोभिड–१९) को पिसिआर परिक्षण प्रयोगशाला संचालनमा आएको छ । कमलामाइ नगरपालिका वडा नम्बर ६ स्थित शिवनगरमा पिसिआर मेसिन जडान गरि प्रयोगशाला सञ्चालनमा ल्याईएको हो ।

बाग्मती प्रदेश सरकारको करीव एक करोड २५ लाख र सिन्धुली अस्पतालको १५ लाख रुपैयाँ बराबरको व्यवस्थापन खर्चमा प्रयोगशाला सञ्चालनमा आएको हो । शनिबार बागमती प्रादेशिक प्रयोगशाला धुलिखेलका निर्देशक नारायण कार्कीसहित ३ जनाको प्राविधिक टोलीले मेसिन जडान गरेपछि नमुना परीक्षण गरेका थिए ।

परीक्षणका लागि २० जनाको स्वाब परीक्षण जाँच गर्दा परीक्षण सफल भएको प्राबिधिक टोलिले जनाएको छ । सिन्धुलीमा आइतबारदेखि नियमित आरटिपिसिआर विधिबाट कोरोना परिक्षण गर्न सकिने भएको छ ।

कोभिड १९ परीक्षण प्रयोगशाला सञ्चालनका लागि ९ जना स्वास्थ्यकर्मीको व्यवस्था पनि गरिएको छ । सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलका अनुसार ल्याबमा काम गर्ने स्वास्थ्यकर्मीलाई आवासको व्यवस्था गरिएको छ ।

सिन्धुलीको ल्याबमा कोरोना परिक्षण गर्ने स्वास्थ्यकर्मीलाई कोरोना परिक्षण बारे तालिम दिने र दक्ष बनाउने जिम्मा भने बागमती प्रादेशिक प्रयोगशाला धुलिखेलबाट आएको प्राविधिक टोलिले लिएको छ ।

जिल्लामै पिसिआर मेसिन भएपछि अब कोरोना आशंकित बिरामीको स्वाव संकलन गरि बाहिर पठाउनु पर्ने बाध्यता हटेको छ । यसअघि कोरोना आशंका गरिएका बिरामीको स्वाब हेटौडा, धुलिखेल वा काठमाडौं पठाउने गरिन्थ्यो ।

सिन्धुलीको कोभीड १९ अस्पताल, सिन्धुली अस्पताल मातहत राखिएको छ । यो अस्पतालमा ३ वेडको आईसियु र २ बेडको भेन्टिलेटर पनि छिट्टै जडान हुने बताइएको छ ।

सिन्धुली अस्पतालका अध्यक्ष प्रल्हाद पोखरेलका अनुसार आइसियु र भेन्टिलेटर जडानमा आवस्यक सबै सामान आईसकेकाले एक साता भित्रै भेन्टिलेटर र आइसियु सञ्चालनमा आउने छ ।

त्यस्तै पचास वेडको कोभिड अस्पतालमा अक्सिजन प्लान्ट जडानको काम पनि थालिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: