संसदीय सुनुवाइमा नयाँ परम्पराको थालनी « Nagarik Khabar

संसदीय सुनुवाइमा नयाँ परम्पराको थालनी



काठमाडौं । सङ्घीय संसद्ले संसदीय सुनुवाइमा नयाँ परम्पराको थालनी गरेको छ । हालै विभिन्न देशका लागि प्रस्तावित तीन राजदूतको सुनुवाइका क्रमदेखि प्रक्रिया समापनसम्म संसदीय सुनुवाइ समितिले नयाँ अभ्यासको थालनी गरेको हो ।

सो अभ्यासले सुनुवाइ र नियुक्ति हुने पदाधिकारीको मूल्याङ्कन समेतलाई सहयोग पुर्‍याउने समितिको विश्वास छ । समितिले अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतको सुनुवाइ र अनुमोदन प्रक्रिया सकिसकेको छ ।
समितिले सुनुवाइ प्रक्रिया आरम्भ अघि हुने उजुरीकर्ताको उपस्थिति तथा अनुमोदनपछिको सम्बन्धित निकायमा हुने पत्राचारमा नयाँ व्यवस्था सुरु गरेको हो । संसदीय सुनुवाइको इतिहासमा पहिलो पटक समितिले उजुरीकर्ता सम्पर्कमा नआएमा सार्वजनिक सूचनामार्फत समितिमा सम्पर्कमा आउन थप सूचना जारीको अभ्यास गरेको थियो ।

साथै सुनुवाइका क्रममा प्रस्तावित पदाधिकारीले पेस गरेको कार्ययोजना र प्रतिबद्धतालाई सम्बन्धित निकायमा पठाउने दोस्रो परम्परा यो पटकदेखि सुरु गरिएको हो । यसअघि कार्ययोजना समितिमा पेस भएपछि सम्बन्धित निकायमा पठाउने प्रचलन थिएन । साथै कार्ययोजना अनुसारको मूल्याङ्कन प्रणालीसमेत हालसम्म स्थापित हुने गरेको छैन । सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले समितिले सुनुवाइमा नयाँ अभ्यास आरम्भ गरेको बताए । गौतमले भने, ‘हामीले यो पटकको सुनुवाइदेखि दुई नयाँ अभ्यासको थालनी गर्‍यौँ ।

पहिलो त उजुरीकर्ता सम्पर्कमा नआएको अवस्थामा सार्वजनिक सूचनाद्वारा सूचित गरेर आफ्ना भनाइ राख्न मौका दिने व्यवस्था गर्‍यौँ । यस्तै सुनुवाइका क्रममा पदाधिकारीले पेस गरेको कार्ययोजना तथा प्रतिबद्धतालाई सम्बन्धित निकायमा पठाउने अर्को अभ्यास सुरु गरेका हौँ ।’ उक्त समाचार आजकाे गाेरखापत्रमा छापिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: