चुहाडी क्षेत्रको डिपिआर तयार : नमूना पर्यटकीय गन्तव्य बन्ने « Nagarik Khabar

चुहाडी क्षेत्रको डिपिआर तयार : नमूना पर्यटकीय गन्तव्य बन्ने



  • मोहन पौडेल

परासी । नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को सुस्ता गाउँपालिका–२ स्थित धार्मिक तथा पर्यटकीयस्थल चुहाडी (कुँवारवर्ती माईस्थान) क्षेत्रलाई नमूना पर्यटकीयस्थलको रुपमा विकास गर्न गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेको छ ।

उक्त प्रतिवेदन स्वीकृतका लागि लुम्बिनी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा पेश गरिएको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिए । गाउँपालिकाको लगानीले मात्र यहाँको समग्र विकास गर्न नसकिने भएकाले थप लगानीका लागि प्रदेश सरकारसँग अपेक्षा गरिएको उनले बताए ।

चुहाडी क्षेत्रमा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बढ्दो छ । स्थानीयस्तरमा सत्तपत्ती नामबाट परिचित सो क्षेत्रमा चुहाडी पोखरी र कुँवारवर्ती माईको थानका साथै वनभोजका लागि पर्याप्त स्थल रहेको छ । उचित प्रचारप्रसार र पर्यटकीय पूर्वाधारको अभावमा ओझेल परेको चुहाडी क्षेत्रलाई नमूना पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न गाउँपालिका लागिपरेको छ ।

यहाँबाट गाउँपालिकाको सबै क्षेत्र अवलोकन गर्न सकिने गरी भ्यु टावर निर्माण गर्ने, रमणीय उद्यान, व्यवस्थित वनभोजस्थल, यहाँ रहेको मन्दिरको थप विकास र यसले ओगटेको क्षेत्र संरक्षणका लागि पर्खाल निर्माण गर्नेलगायत पर्यटकीय पूर्वाधार निर्माण गर्ने गरी डिपिआर तयार गरिएको गाउँपालिका अध्यक्ष पाण्डेले बताए ।

उनले करिब १५ बिघा क्षेत्रफलमा फैलिएको चुहाडीको संरक्षण र विकासका लागि आफूहरु निर्वाचित भएर आएदेखि नै चासोका साथ लागिरहेको बताए । उनले भने, “वनभोजका लागि मुख्य गन्तव्यको रूपमा विकास भइरहेको यस स्थलको विकासका लागि हामीले डिपिआर तयार गरी प्रदेश सरकारसमक्ष पेश गरेका छौँ, त्यहाँबाट स्वीकृत भएपछि यहाँको विकास थप तीव्रगतिमा हुन्छ ।”

चालु आवमै प्रदेश सरकारले सो क्षेत्रमा सडक पूर्वाधारका लागि रु १० लाख विनियोजन गरेको छ भने गाउँपालिकाले पनि सो स्थलसम्म पुग्ने पहुँचमार्ग निर्माण गर्न रु ३० लाख बजेट विनियोजन गरेको अध्यक्ष पाण्डेले बताए । यहाँ रहेको चुहाडी पोखरीको पानी नमिसाइ त्यहाँका बासिन्दाको खाना पाक्दैन भन्ने जनविश्वास अहिले पनि छ । उक्त पोखरीको माछा खाएमा मृत्यु हुन्छ भन्ने मान्यताका कारण यहाँका माछा पनि कसैले नखाने सुस्ता–२ का वडाध्यक्ष कृष्णलाल मुखियाले जानकारी दिए । “यस पोखरीमा रङ्गीविरङ्गी माछा पाइन्छ तर तिनलाई खाए मृत्यु हुने मान्यताले माछालाई खाने त के छुने हिम्मतसम्म स्थानीयवासीले गर्न सक्दैनन्”, उनले भने । केही वर्ष पहिला त्यसै पोखरीको माछा खाँदा एक जना नेपाली सेनाको मृत्यु भएको स्थानीयवासी बताउँछन् ।

स्थानीय थारू समुदायले उक्त पोखरीको पानी बिहान साँझ मिसाएर मात्र खाना पकाउने गरेका छन् । पोखरीसहित त्यहाँ हरियाली मनोरम वातावरण, जंगल, फराकिलो मैदान र वनभोजका लागि ट्रष्टसमेत बनाइएकाले यहाँ प्रायः दैनिकजसो वनभोज, विवाह, व्रतबन्ध, विभिन्न संघसंस्थाका भेला, सम्मेलनजस्ता कार्यक्रम पनि हुने गरेको वडाध्यक्ष मुखियाले बताए ।

स्थानीय थारू अगुवाका अनुसार प्राचीन समयमा त्यहाँ सात घरका साथै सत्त अर्थात् शक्ति पनि रहेकाले त्यस स्थानको नाम सत्तपत्ती रहन गएको हो । स्थानीयवासीले दैनिक बिहान साँझ सो पोखरीको एक बोतल पानी मिसाएर खाना पकाउने गर्दछन् ।

विगतमा गाउँका थारूले यो परम्परालाई निरन्तरता दिँदै आएकामा अहिले पोखरीको नजिक बस्ने थारू समुदायले मात्र यो परम्परालाई निरन्तरता दिइरहेका छन् । यस क्षेत्रको उचित प्रचारप्रसारका साथै पर्यटकीय पूर्वाधार निर्माण गरी संरक्षण र प्रवर्द्धन गर्न सके यो क्षेत्र नमूना पर्यटकीय गन्तव्य बन्नुका साथै यहाँका स्थानीयवासीलाई रोजगारीको अवसर र आयआर्जनमा ठूलो टेवा पुग्ने स्थानीयवासीको अपेक्षा छ । रासस

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: