भूमिमा रहेको द्वैध स्वामित्व अन्त्य गरिने छः मन्त्री अर्याल « Nagarik Khabar

भूमिमा रहेको द्वैध स्वामित्व अन्त्य गरिने छः मन्त्री अर्याल



काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भूमिमा रहेको द्वैध स्वामित्व अन्त्य गरिने बताएकी छिन् ।

भूमिसम्बन्धी समस्या समाधान आयोगको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले लामो समयदेखि रहँदै आएको भूमिमा रहेको द्वैध स्वामित्व अन्त्य गरिने बताइन् । उनले भूमिको विवाद सहमति भए आधा–आधा बराबरी बाँडफाँड हुने र सहमति हुन नसकेमा राज्यले गरिदिने बताइन् । ‘यदि भूमिको विवाद सहमतिअनुसार तल्लो तहमा गर्दछन् भने राम्रो हो । तल कुरा मिल्दै मिलेन । यसले समस्या सधैँ रहिरहने भयो’, उनले भनिन्, ‘त्यसैले भूमिको विवादलाई अन्त्य गर्नका लागि राज्यले हस्तक्षेप गर्छ । चरणमा मिलेर समझदारीपूर्वक आउनका निम्ति भन्ने, मिलेन भने राज्यले हस्तक्षेप गरेर भए पनि यो समस्याको समाधान गरिदिन्छ ।’

उनले राज्यले हस्तक्षेप गरेर मिलाउनका लागि कानूनसमेत बढाउन थालेको जानकारी दिइन् । ‘जतिबेला यो आयोगले जनताको हातमा रातो पुर्जा थमाउछ त्यो बेला मात्रै यो हाम्रो अभियानले सार्थकता प्राप्त गर्छ,’ उनले आयोगका पदाधिकारीलाई निर्देशन दिँदै भनिन् । ‘निकै जटिल खालको कामको जिम्मेवारी तपाईलाई सरकारले दिएको छ । तपाईलाई विश्वास गरेर दिएको जिम्मेवारी हो । यो गहन जिम्मेवारीलाई तपाईलाई कसरी पूरा गर्नुहुन्छ । त्यो तपाईको हातमा छ ।’

जमीनलाई उपयोग गरेर उत्पादन बढाउनका निम्ति भूमी बैंकको अवधारणा ल्याइएको बताउँदै उनले मानव र प्राकृतिक स्रोतको मिश्रणबाट नै विकास सम्भव रहेको बताइन् । भूउपयोग ऐनलाई ठिक ढङ्गले कार्यान्वयन गर्न सकेमा मात्र नेपालमा भूमीमा समाजवाद लागू गरेको हो भन्ने कुरा सावित हुने उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: