ओली-प्रचण्डबीच बोलचाल बन्द : नेकपामा आन्तरिक समीकरण पनि परिवर्तन !


SHARES

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीचको दूरी बढेको छ । एक हप्तादेखि अध्यक्षद्वयबीच भेटवार्ता र कुराकानीसमेत नभएको बालुवाटार स्रोतले जनाएको छ ।

अध्यक्षद्वयबीचकै सहमतिमा फागुन १ लाई ‘जनआन्दोलन तथा जनयुद्धका सहिदको सम्झनामा सहिद स्मृति दिवस’ मनाउने सर्कुलर गरिए पनि अध्यक्ष ओली पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा सहभागी भएनन् । त्यसयता अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता तथा फोनमा कुराकानी पनि नभएको स्रोतको दावी छ ।

सरकारका काम प्रभावकारी नभएको भन्ने कार्यकारी अध्यक्ष प्रचण्डको भनाइमा ओली असन्तुष्ट छन् । त्यस्तै विधानमा स्वीकार गरेका कुरामा आफ्ना सल्लाहकारमार्फत असन्तुष्टि जनाउने ओलीको शैलीमा पनि प्रचण्ड सन्तुष्ट छैनन् ।

फोनमा वा भेटवार्ता नै गरेर दैनिक पार्टी, सरकार र समसामयिक राजनीतिक घटनाक्रममा छलफल गर्ने ओली प्रचण्डबीचको विवाद बिस्तारै सर्दै तल्लो तहसम्म पुगेको छ ।

आन्तरिक समीकरण पनि परिवर्तन हुँदै

नेकपामा पार्टी एकता भएपछि तीनवटा मुख्य गुट सञ्चालनमा छन् । यी गुटहरुमध्ये सरकारको नेतृत्व गरेका अध्यक्ष ओली, पार्टीको नेतृत्व गरेका अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूह मुख्य हुन् ।

अर्का वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतम यता उता गरिरहन्छन् । पछिल्लो समय वरिष्ठ नेता नेपाल प्रचण्डसँग विभिन्न ठाउँका कार्यक्रममा सँगसँगै पुग्न थालेका छन् ।

पूर्वमाओवादीको समीकरणलाई पछिल्लो फागुन १ देखिको विवादले एक ठाउँमा ल्याइदिएको छ भने पूर्वएमाले भने विभाजित अवस्थामा छ । एक सचिवालय सदस्य भन्छन्, ‘हाम्रो पार्टीमा गुटहरु स्वार्थमा बन्छन् र स्वार्थसँगै समाप्त पनि हुन्छन् । त्यसैले यो पनि अगाडि बढ्नका लागि रोकिएको जस्तो लाग्छ ।’

सरकारका कामका विषयमा नेकपाका नेता कार्यकर्ता नै पक्ष विपक्षमा बाँडिन थालेका छन् । एक पक्षले सरकारले उत्कृष्ट काम गरेको मात्र प्रचारको अभाव भनिरहेको छ भने अर्को पक्षले जुन गतिमा काम हुनुपर्ने हो, त्यो गतिमा काम नभएको टिप्पणी गरिरहेका छ्न ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV