यी हुन् विभिन्न क्षेत्रमा नेपालका पहिलो १० महिला « Nagarik Khabar

यी हुन् विभिन्न क्षेत्रमा नेपालका पहिलो १० महिला



काठमाडौं । नेपालमा पछिल्लो समय उच्च पदमा पुग्ने महिलाको संख्या बढ्दै गएको छ । १० वर्षसम्म चलेको माओवादी जनयुद्ध र ०६२/०६३ सालको जनआन्दोलनपछि महिला सहभागिता ह्वात्तै बढेको छ ।

उच्च ओहोदामा धेरै महिलाले स्थान पाएका छन् । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका मात्र होइन अन्य निकायमा पनि महिलाको उपस्थिति राम्रो हुँदै गएको छ ।

यी हुन् पहिलो महिला प्रहरी : परिवारलाई झुक्काएर यसरी बनिन् प्रहरी (भिडियोसहित)

अहिले मुलुकको शीर्ष स्थानमा राष्ट्रपति विद्यादेवी भण्डारी छन् । यसअघि प्रधानन्यायधीश, सभामुखलगायत अन्य विभिन्न निकायका प्रमुखमा महिला पुगिसकेका छन् ।

परम्परागत रुपमा पुरुषले गर्ने धेरै काम महिलाले झन्झन् राम्रोसँग गर्न थालेका छन् । राजनीतिक नेतृत्वमा महिलाहरु अब्बल बन्दै गएका छन् । आज हामीले पहिलो महिलाका रुपमा स्थापित दर्जनौँ महिला मध्ये १० जनाको चर्चा गर्छौँ ।

राष्ट्रपति: विद्यादेवी भण्डारी

विद्यादेवी भण्डारी गणतन्त्र नेपालको दोश्रो राष्ट्रपति तथा नेपालकै पहिलो महिला राष्ट्रपति हुन् । उनी दुई पटक राष्ट्रपति पदमा पुग्ने पहिलो भाग्यमानी महिला पनि हुन ।

भण्डारीको जन्म २०१८ असार ५ भोजपुरमा भएको हो । उनी एक राजनीतिज्ञ तथा तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उपाध्यक्ष तथा अखिल नेपाल महिला संघकी अध्यक्ष थिइन्।

तत्कालीन नेकपा एमालेका महासचिव स्व. मदन भण्डारीकी श्रीमतीसमेत रहेकी विद्या यसअघि जनसंख्या तथा वातावरण र रक्षामन्त्रीसमेत भएकी थिइन् ।

भण्डारी सन् २०१६ का संसारका शक्तिशाली महिलाको सूचीमा ५२औँ स्थानमा थिइन् । अहिले उनी गणतन्त्र नेपालको राष्ट्रपतिको भूमिकामा छन् ।

सभामुख :ओनसरी घर्तीमगर

ओनसरी घर्तीमगर नेपालको पहिलो महिला सभामुख हुन् । उनी २०७२ असोज २९ गतेदेखि ०७४ माघ ५ गतेसम्म सभामुख भएकी थिइन् ।

ओनसरी माओवादी जनयुद्धकी कमाण्डर पनि हुन । जनयुद्धको थालनीको दिन होलेरी चौकी आक्रमणमा सहभागी दुई महिलामा उनी पनि एक थिइन् ।

रोल्पाको जंकोट १ माडीचौरमा निम्न मध्यमवर्गीय मगर परिवारमा २०३४ कार्तिक २८ गते उनको जन्म भएको हो ।

२०४६ साल देखि राजनीतिमा लागेकी उनी माओवादीले गठन गरेको पहिलो सुरक्षा दलमा रोल्पाका चार जना महिलामध्ये एक हुन् ।

ओनसरी अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश-५ की अध्यक्ष पनि हुन् ।

 प्रधानन्यायाधीश : सुशिला कार्की

सर्वोच्च अदालतको प्रधानन्यायाधीश बन्ने पहिलो महिला सुशिला कार्की हुन । उनी २०७३ असार २७ गतेदेखि २०७४ जेठ २४ गतेसम्म प्रधानन्यायाधीश बनिन् ।

कार्कीको जन्म विस २००९ जेठ २५ गते मोरङ जिल्लाको शंकपुर विराटनगरमा भएको हो । कार्की न्यायपालिकामा भ्रष्टाचारविरूद्ध शून्य सहिष्णुताको लागि परिचित छन् । उनी विभिन्न प्रकरणमा विवादमासमेत आइन् ।

यी हुन् नेपालकाे परराष्ट्र सेवामा कार्यरत महिला

महेन्द्र मोरङ क्याम्पसबाट बि।ए। गरेकी थिइन् । वनारस हिन्दु विश्वविद्यालयबाट उनले राजनीतिशास्त्रमा एम।ए। गरेकी छन् । सुरुवातमा उनी महेन्द्र बहुमुखी क्याम्पस धरानमा शिक्षण पेशामा आवद्ध थिइन् ।

२०३५ सालबाट वकालत सुरु गरेकी उनी २०६६ सालमा सर्वोच्च अदालतमा न्यायाधीशको रुपमा प्रवेश गरिन् । उनी २०७३ सालमा देशकै पहिलो महिला प्रधानन्यायाधीश बनिन् ।

पार्टी अध्यक्ष :पम्फा भुषाल

२०१९ साल साउनमा अर्घाखाँची किमडाडा आँपखोलामा पम्फा भुषालको जन्म भएको हो । ‘विद्युत’ उपनामले चिनिने भुसालका ५ दिदीबहिनी र एक भाइ छन् । उनी साहिँली हुन् ।

विक्रम संवत २०३३ सालमा विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेकी भुषाल ०५० सालमा संयुक्त जनमोर्चा नेपालको पहिलो अध्यक्ष बनिन् ।

२०५१ सालमा माओवादीकी केन्द्रीय सदस्य बनेकी भुषाल अहिले सत्तारुढ दलकी स्थायी समिति सदस्य हुन् । पूर्वमन्त्रीसमेत रहेकी भुषालले समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन् ।

पहिलो संविधानसभा चुनावबाट प्रत्यक्ष निर्वाचन प्रणााली अन्तर्गत ललितपुर ३ बाट विजयी संविधानसभा सदस्य समेत भएकी भुषाल मन्त्रीसमेत बनिन् । उनी अहिले पनि ललितपुरबाट प्रत्यक्ष निर्वाचित सांसद छन् ।

एआइजी : डा. दुर्गा थापा (पुन)

नेपाल प्रहरीमा डा. दुर्गा थापा (पुन) पहिलो महिला एआइजी हुन् । यसअघि पार्वती थापा र विमला थापा सात वर्षअघि डिआइजीमा बढुवा भएका थिए । उनीहरूको अवकाश सोही पदबाटै भएको थियो ।

दन्त चिकित्सकका रुपमा ०४६ सालमा प्रहरी संगठनमा प्रवेश गरेकी दुर्गा ०३५ को एसएलसी परीक्षामा बोर्ड थर्ड र छात्रातर्फ प्रथम भएकी थिइन् ।

कक्षा आठसम्म हङ्गकङ्गको गोर्खा हाइस्कुलमा अध्ययन गरेकी उनी काठमाडौंको कन्या माध्यामिक विद्यालयबाट एसएलसी परीक्षामा सहभागी भएकी थिइन् ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस र नेपाल

अमृत साइन्स क्याम्पसबाट आइएस्सी गरेपछि उनले पाकिस्तानमा शिक्षा मन्त्रालयको छात्रवृत्तिमा ब्याचलर अफ डेन्टल सर्जरी (विडिएस) पढ्ने मौका पाएकी थिइन् । त्यसपछि दक्षिण भारतको चेन्नइबाट एमडीएस गरिन् ।

०४० सालमा स्थापना भएको नेपाल प्रहरी अस्पतालमा इन्पेक्टरको रुपमा प्रवेश गरेकी थापा अहिलेसम्म महिलाले प्राप्त गरेको उच्च तहमा पुगिन् ।

महिला सिडिओ : उषा नेपाल

उषा नेपाल २०४६ सालको परिवर्तनपछि बनेको अन्तरिम सरकारमा भक्तपुरमा पहिलो महिला प्रमुख जिल्ला अधिकारी (सिडीओ) बनेकी थिइन् ।

स्थानीय विकासबाट आपूर्ति हुँदै गृह मन्त्रालयमा पुगेपछि उनी पहिलो महिला सिडिओ बनेकी हुन् । भक्तपुरपछि उनी ललितपुर, काठमाडौंं, पर्सा, बाँके, सोलुखुम्बु, मुस्ताङसम्म सिडिओ पदमा काम गर्न पुगिन् ।

सरकारी सेवाबाट रिटायर्डपश्चात् पनि २०६४ को निर्वाचनमा निर्वाचन आयोगको आयुक्तमा उनी नियुक्त भइन् । आयुक्त हुने पहिलो महिला पनि उनी नै बनिन् । अहिले सेवा–निवृत्त जीवन बिताइरहेकी छिन् ।

उपप्रधानमन्त्री : शैलजा आचार्य

स्व। शैलजा आचार्य नेपालकी पहिलो महिला उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसकी वरिष्ठ नेतृ हुन् । उनको जन्म ई.सं. १९४४ मे ८ मा मोरङ जिल्लाको बिराटनगरमा भएको थियो ।

समाजशास्त्रमा स्नातकोत्तर तहसम्म अध्ययन गरेकी आचार्य नेपाली कांग्रेसका नेताद्वय बिपी कोइराला र गिरिजाप्रसाद कोइरालाकी भान्जी हुन् ।

आचार्यको निधन विक्रम संवत २०६६ साल जेठ २९ गते उपचारका क्रममा शिक्षण अस्पतालमा निधन भएको थियो ।

०५५ मा गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारमा शैलजा देशकै पहिलो महिला उपप्रधानमन्त्री बनेकी थिइन् ।

प्रदेश प्रमुख : अनुराधा कोइराला

अनुराधा कोइराला पहिलो महिला प्रदेश प्रमुख हुन् । देश संघीयतामा गएपछि कोइरालालाई २०७४ माघ ३ देखि २०७६ कार्तिक १७ सम्म प्रदेश-३ को प्रमुख बनिन् ।

उनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने माइती नेपाल नामक उनी आवद्ध गैरसरकारी संस्था छ ।

शाही शासनकालमा उनी महिला तथा समाजकल्याण मन्त्री बनेकी थिइन् । अनुराधाको जन्म सन् १९४९ को १४ अप्रिलमा ओखलढुँगामा भएको थियो । उनी अहिले समाजिक क्षेत्रमा सक्रिय छन् ।

सगरमाथा ओरोही : पासाङ ल्हामु शेर्पा

स्व. पासाङ ल्हामु शेर्पा सर्वोच्च शिखर सगरमाथा चढ्ने प्रथम नेपाली महिला हुन् । उनले २०५० साल बैशाख १० गते सगरमाथाको सफल आरोहण गरिन् ।

शेर्पाको जन्म सोलुखुम्बु जिल्लाको चौरीखर्क, लुक्ला सुर्के–४ मा २०१७ साल मंसिरमा भएको थियो ।

नेपाल सरकारले उनलाई २०५९ साल वैशाख १० गते शेर्पालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

उनको निधन ३२ वर्षको उमेरमा २०५० साल वैशाख १० गते सगरमाथा आरोहण गरेकै दिन भएको थियो ।

विश्व च्याम्पियन : मीरा राई

भोजपुरकी मीरा राई राष्ट्रिय च्याम्पियन हुँदै अन्तर्राष्ट्रिय स्तरमा च्याम्पियन हुन सफल नेपाली महिला हुन् । विश्व अल्ट्रा म्याराथनमा आफूलाई स्थापित गर्दै आएकी नेपाली धाविकाको रुपमा उनले आफ्नो नाम दर्ज गराएकी छन् ।

माओवादी पूर्वलडाकु रहेकी उनी सेना समायोजन क्रममा अयोग्य ठहरिएकी थिइन् ।

सन् २०१५ मा फ्रान्समा सम्पन्न ८० किलोमिटरको विश्व म्याराथनमा पहिलो भएर उनले नेपालको झन्डा फहराइन् ।

मिरा निरन्तर १२ घन्टा ३२ मिनेट १२ सेकेन्ड दौडेर विश्व च्याम्पियन बनिन् ।

हङकङमा ५० किलोमिटरको एसियन च्याम्पियन, सन् २०१४ मा इटलीमा ५७ किलोमिटर र नर्वेमा ८० किलोमिटरको अल्ट्रा म्याराथन च्याम्पियन बनेर उनी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको प्राथमिकतामा परेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: