‘लक डाउन’ उल्लंघन गर्दै नुवाकोटमा सडक निर्माण


SHARES

नुवाकोट । सरकारले आव्हान गरेपछि मंगलबार बिहान ६ बजेदेखि सिंगो देश लकडाउन छ । घरबाट समेत बाहिर ननिस्कन आव्हान गरेको छ । तर, नुवाकोटमा भने लकडाउनको बेवास्ता गर्दै सडक पिचको काम धमाधम भइरहेको छ ।

सडक निर्माणको ठेक्का पाएको मित्र सञ्जीवनी निर्माण सेवाले लकडाउन उल्लंघन गर्दै नुवाकोटको छहरेदेखि विदूर सडक खण्डको थानसिंह छहरेमा निर्माण जारी राखेका छन् । बिहानैदेखि मंगलबार पनि निर्माण कार्य जारी राखेपछि काम गर्ने मजदूरहरु भने त्रसित बनेका छन् ।

कोरोनाको संक्रममणबाट जोगाउनका लागि भीडभाड हुन नदिन सरकारले यो आव्हान गरेको हो । सबैलाई घरबाट बाहिर ननिस्कन भनेको छ, तर यो निर्माण सेवाले भने दुई दर्जन बढी मजदूर र प्राविधिकहरु लगाएर सडक निर्माण गरिरहेका छन् ।

लकडाउनको जानकारी आफूहरुले पनि पाएको भन्दै मजदूरहरुले ठेकेदारले काम गर्नुपर्छ भनेपछि काममा आएको बताए । कोरोनाको डर त आफूहरुलाई पनि भएको भन्दै काम लाउनेले गर्नुपर्छ भनेपछि तनावका बीच काम गरिरहेको मजदूरहरुले बताएका छन् ।

उनीहरुले लकडाउन भएपछि पनि काम गर्नुपर्दा समस्या हुने हो कि भन्ने चिन्ता पनि लागेको बताए ।

लकडाउन हुँदा पनि काम गराउने मित्र सञ्जीवनी निर्माण सेवाका प्रवन्ध निर्देशक गौरीप्रसाद उप्रेतीलाई यसबारे बुझ्न खोज्दा मोवाइल उठाएनन् ।

सडक निर्माण अत्यावश्यक सेवाभित्र नपरेपनि अलकत्रा ओछ्याइसकेकाले सडक बनाउन दिइएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी (सिडीओ) द्रोणकुमार पोखरेलले बताए ।

सडकमा छरिएर बस्ने, एकै ठाउँमा नहुने भएकाले पनि कुनै समस्या नहुने भन्दै सिडीओ पोखरेलले अलकत्र ओछ्याइसकेको ठाउँमा बनाउन दुई/तीन दिन लाग्ने भएकाले सोही अवधिसम्म बनाउन दिने नागरिकखबरसित बताए ।

सडक पुनर्निर्माण आयोजना अन्तर्गत बन्दै गरेको सो सडक छहरेदेखि विदुरसम्म १६ किलोमिटर पक्की गर्ने ठेक्का भएको हो ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV