‘मरे पनि आफ्नै देशमा मर्छु भनेर महाकालीमा हाम्फालेँ’


SHARES

दार्जुला । मंगलबार दिउँसो करिब १ बजे, महाकाली नदी पारिपट्टि किनारमा एक युवकले एकाएक लुगा फुकाले । लुगा झोलामा हाले, झोला टाउकोमा बाँधे, अनि महाकालीमा हेलिए । केहीबेरमै वारि किनार आइपुगे । उनले देशको माटो त टेके, तर खुसीको सास फेर्न सकेनन् । किनभने वारि आएलत्तगै प्रहरीले पक्राउ गर्‍यो । महाकालीको चिसो पानीमा चोबलिएर काम्दै देश छिरेका उनी प्रहरीले समातेपछि झन् अत्तालिए । आफ्नै देश टेक्दा, आफ्नै देशका सुरक्षाकर्मीसामु अवाक भए ।

उनी हुन्– बैतडीको डिलासैनी गाउँपालिका–२ सिमराका २१ वर्षीय लोकेन्द्र बोहरा । घरमा कमाउने कोही नभएपछि दुई महिनाअघि गाउँका साथीसँगै रोजगारीका लागि भारत गएका थिए । पिथौरागढ जिल्लाको पञ्चाचुली क्षेत्रमा सडक निर्माणको काम पनि पाए । तर, चैत नलाग्दै कोरोनाको हल्ला फैलियो । ठेकेदारले घर जान भनेपछि शनिबार उनीसहित ११ नेपाली मजदुरले नेपालको यात्रा तय गरेका थिए । सोमबार धार्चुला आइपुगेका थिए ।

‘दुई दिनसम्म लगातार हिँडेर सोमबार धार्चुला आइपुगें । त्यहाँ अन्य नेपालीलाई राखिएको ठाउँमा खाना खाएँ । कान्जीहाउसमा शौचालयको छतमा रात काटेँ,’ उनले भने, ‘आफ्नै देश छिर्न रोक लागेकोमा कटक्क मन काट्यो । जे होला भनेर आज महाकाली तरेको हुँ । अब नेपाल सरकारले जे गर्छ, त्यही टर्छ ।’

बैतडीकै डिलासैनी–७ धामी गाउँका २१ वर्षीय अमरसिंह धामीले पनि मंगलबार महाकालीमा पौडेर नेपालमा पाइला टेके । उनीसहित १३ जनाको समूह भारतबाट आइतबार बिहान हिँडेर सोमबार बेलुका सीमावर्ती क्षेत्र बालुवाकोट आइपुगेको थियो ।

अमरसिंह पनि रहरले भारत गएका थिएनन् । १० कक्षासम्म पढेका उनी परिवारको पेट पाल्न रोजगारी खोज्दै पुगेका थिए । कोरोनाको त्राससँगै सडक निर्माणको रोजगारी गुमेपछि घर फर्किएका हुन् । तर, सीमामा सरकारले रोकेकोमा उनको चित्त दुखाइ छ । ‘परिवार धान्न भारत जानुपर्‍यो । अहिले दुःखमा आफ्नो घर फर्किन पनि नपाउने रु’ उनले भने, ‘बालुवाकोटमा खानबस्नको व्यवस्था नभएपछि जे त पर्ला भनेर महाकाली तरेर आएको हुँ ।’ उनीसँगै डिलासैनी–३ र पुर्चौडी नगरपालिका–३ का ६ जना महाकाली तरेर नेपाल छिरेका छन् ।

पौडिन सक्ने तरेर आए, तर नसक्ने सयौँ नेपाली भारतीय क्षेत्रमै अलपत्र छन् । अमरसिंहसँगै महाकाली तरेर आएका पुर्चौडी–८ का २५ वर्षीय दीपक साउद भारततर्फ बाटाभरि बालबच्चासहित सयौँ अलपत्र परेको बताउँछन् । भारतीय प्रहरी र पसलेले नेपालीलाई अपराधी आएजस्तो व्यवहार गर्ने गरेको बताए । पुल बन्द गरेर पारिपट्टि नै खान र बस्नको व्यवस्था गरिएको भनिए पनि अव्यवस्थित रहेको उनले बताए । ‘पारि खाने र बस्ने व्यवस्था छ भनेर के गर्ने, भिडभाड र फोहोरले झन् संक्रमणको डर छ । हामीले त त्यही डरले आइतबारदेखि केही खाएको छैन,’ उनले भने ।

कोरोनाको सन्त्रासमा विश्वका अन्य देशले विदेशमा रहेका आफ्ना नागरिकलाई जहाज चार्टर्ड गरेर लगिरहेको छ । तर, नेपालले सीमामा आएर चिच्याइरहेका नागरिकलाई देश छिर्न दिएको छैन । आफ्ना नागरिक ल्याएर सुरक्षित राख्नुपर्नेमा प्रशासनले सीमा क्षेत्रमै अलपत्र छाडेको छ । दार्चुला जिल्ला प्रशासनले आत्तिएर ज्यान जोखिममा नपार्न चेतावनी दिँदै हाल रहेकै ठाउँमा सुरक्षित बस्न भनेको छ । सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले भने, ‘अहिले जो जहाँ छ, त्यहीँ बस्नुको विकल्प छैन ।’

तर, प्रशासनले सीमानाकाबाट भित्रिन रोक्दा गलत तथा जोखिमपूर्ण बाटो प्रयोग गरेर भित्रिने बढिरहेका छन् । यसले गाउँमा संक्रमणको जोखिम बढाएको छ । सोमबार र मंगलबार महाकाली तरेर ४० जना भित्रिएकामा १० जना सम्पर्कमै छैनन् ।

भारततर्फ महाकाली नदी किनारमा थुनिएका नौ सय ६६ नेपालीलाई विभिन्न पाँच ठाउँमा राखिएको छ । कान्जीहाउसमा तीन सय ८०, धारचुलाको मिनी स्टेडियममा तीन सय पाँच, जौलजिबीमा दुई सय, बालुवाकोटको महाविद्यायमा ६० र फायर ब्रिगेडको भवनमा ३२ नेपाली राखिएको भारतीय पत्रकार राकेश तिवारीले जानकारी दिए ।महाकाली तरेर आएका ३४ जनालाई भने व्यास गाउँपालिका र महाकाली नगरपालिकाको क्वारेन्टाइनमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी कुँवरले बताए ।

व्यवस्थापनको जिम्मा कसैले नलिँदा नेपालीहरू भारतमै अलपत्र परेका हुन् । महाकाली नगरपालिकाले सबैलाई क्वारेन्टाइनमा राख्न नसक्ने र सम्बन्धित स्थानीय सरकारले जिम्मेवारी लिन नखोजेपछि समस्या भएको हो । ‘स्थानीय सरकारहरू प्रमुख जिल्ला अधिकारीभन्दा माथि छन्, प्रदेश सरकारलाई स्थानीय सरकारको जति मात्रै अधिकार छ, समन्वय गर्ने जिल्ला समन्वय समितिसँग आर्थिक व्यवस्थापन गर्ने अधिकार छैन,’ प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले भने । सम्बन्धित जिल्ला र स्थानीय सरकारसँग समन्वय गरेर महाकालीपारिबाट नेपाली ल्याउन मुख्यमन्त्री सकारात्मक भए पनि समन्वय हुन नसकेको उनले बताए । (नयाँ पत्रिका)

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल जेष्ठ १२ गते, सोमबार

menu LIVE TV