लकडाउनबारे विभिन्न ब्यवस्था, उल्लंघन गरे गोली ठोक्ने आदेश


SHARES

एजेन्सी । अहिले विश्वका धेरै मुलुकहरु कोरोना संक्रमणका कारण लकडाउनको अवस्थामा छन । आफु, परिवार र सिंगो मुलुकको सुरक्षाका लागि हो भन्दै सर्वत्र लकडाउन लागु भएको छ । लकडाउनको समर्थन र उल्लंघनका थुप्रै घटनाहरु पनि भएका छन । आउनुहोस, जानौं यस बारे केही रोचक प्रशंगहरु ।

फिलिपिन्समा लकडाउनको सरकारी आदेश उल्लंघन गर्नेलाई सिधै गोली ठोकिन्छ । राष्ट्रपति रोड्रिगो डुटेर्टेले प्रहरी प्रशासनलाई लकडाउन उल्लंघन गर्नेलाई सिधै गोली हान्ने अधिकार दिएका छन । अल जजिरा टेलिभिजनले प्रशारण गरेको एक रिपोर्ट अनुसार गत आईतबार लकडाउन उल्लंघन गरेको अभियोगमा एक ब्यक्तिलाई गोली हानी मारिएको छ । लकडाउनको उल्लंघन गरेबापत गोली हान्ने कानून भएको एक मात्र मुलुक फिलिपिन्स हो ।

मध्य अमेरिकी मुलुक पानामामा दुई हजार एक सय मानिस कोरोनाबाट संक्रमित छन भने ५५ जनाको मृत्यु भैसकेको छ । बिबिसीका अनुसार त्यहाँ सबैलाई आ–आफ्नै घरमा क्वारेन्टाईनमा बस्न आदेश दिईएको छ । अप्रिल एक तारिखदेखि महिला र पुरुषलाई फरक फरक दिन, केवल दुई घण्टाका लागि घर बाहिर निस्कन अनुमति दिईएको छ । तर आईतबारका दिन घर बाहिर निस्कन पूर्ण प्रतिबन्ध लगाईएको छ । नियम उल्लंघन गर्नेलाई कडा कारवाही गरिने जनाईएको छ ।

कोलंबियामा राष्ट्रिय परिचयपत्रमा अंकित परिचय पत्र नम्बरका आधारमा घर बाहिर निस्कने ब्यवस्था मिलाईएको छ । उदाहरणका लागि ०, ७ या ४ मा समाप्त हुने नम्बर भएका परिचय पत्रधारी ब्यक्तिलाई सोमबार घरबाट निस्कन अनुमति दिईएको छ । त्यस्तै १, ८ र ५ मा टुंगिने नम्बर भएको परिचय पत्रधारी ब्यक्तिलाई मंगलबार घर बाहिर निस्कने अनुमति दिइएको छ ।

त्यसैगरि सर्भियामा सडकमा मानवीय भिडभाड कम गर्न कडा प्रतिबन्ध लगाईएको छ । एउटा रोचक तथ्य के छ भने, त्यहाँ रातको ८ देखि ९ बजेसम्मको समयलाई ‘डग वकिङ आवर’ भनेर छुट्टयाईएको थियो । त्यस बेला कुकुरलाई घुमाउने छुट दिईएको थियो । पछि यो निर्णयको ब्यापक विरोध भएपछि खारेज भएको छ । पशु चिकित्सकहरुका अनुसार जनावरहरुका लागि रातको भन्दा साँझको समय उपयुक्त हुन्छ । कुकरलाई साँझमा घुमाईएन र रातको समयमा मात्रै घुम्ने छुट दिईयो भने पिसाब सम्बन्धि रोग लाग्न सक्ने पशु चिकित्सकहरुले दावी गरेका छन ।

त्यसैगरि मलेसियामा पनि लकडाउन जारी छ । त्यहाँ पनि एउटा रोचक घटना भएको छ । सरकारी स्तरबाट सामाजिक सञ्जालमा प्रकाशित एक सामाग्रीका कारण सरकारले जनतासमक्ष सार्वजनिक रुपमा माफी माग्नु परेको छ । सामाजिक सद्भाव कायम गर्न र घरेलु हिंसा हुन नदिन भन्दै मलेसियाको महिला मन्त्रालयले कार्टुन अनलाईन सुरु गर्यो । त्यसमा भनिएको थियो, ‘लकडाउनको समयमा घरेलु झगडा उत्पन्न हुन नदिन मेकअप गर्नुहोस, श्रीमानसंग विवाद नगर्नुहोस ।’ यसको केही दिनपछि यस्ता सन्देशयुक्त कार्टुनहरुको ब्यापक विरोध भएको थियो ।

विश्व स्वास्थ्य संगठनले स्वस्थ ब्यक्तिलाई मास्क लगाउन जुरुरी नभएको भनेपनि अष्ट्रिया सरकारले सुपर मार्केटमा सबैका लागि मास्कको प्रयोग अनिवार्य गरेको छ । सार्वजनिक स्थलमा मास्क लगाउनुपर्ने बाध्यकारी कानून बनाउने अष्ट्रिया चौथो मुलुक हो । यसअघि चेज रिपब्लिक, स्लोभाकिया र हर्जगोभिनाले पनि मास्क लगाउन अनिवार्य गराएको थियो ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल जेष्ठ १२ गते, सोमबार

menu LIVE TV