डा.महेन्द्र कुमार मल्लको लकडाउन कविता : आज बन्द कोठाभित्र !


SHARES

सुर्खेत - लकडाउनको समयमा नागरिकहरु आआफ्नै धुनमा छन् । कोरोनाको संक्रमण बढ्दै जादा नागरिकहरु चिन्तित हुन थालेका छन् ।
 
मध्यपश्चिम विश्वविद्यालयका रजिस्ट्रार डा.महेन्द्र कुमार मल्लले लकडाउनको समयमा समसामयिक विषयबस्तुमा मार्मिक गजल र कविता रचना गरेका छन् ।
 
पहिलो गजल
 
भोको पेटमा जीवनवृक्ष सारेर त देखाऊ
चुनावका नौ लाख तारा झारेर त देखाऊ
 
भन्दैछ उ प्रविधिले जीवन हातमा लियो
त्यसो भए मुर्दामा सास् हालेर त देखाऊ
 
संविधानमा स्वास्थ्य शिक्षा निशुल्क नै हो रे
त्यो व्यवस्था लागु तिम्ले गरेर त देखाऊ
 
सुन्दरीको गजल सुन्दा ताली बजाउनेले
आफ्नै घरकी प्रिया खुसी पारेर त देखाऊ
 
बलभद्र मै हुँ भन्छौ देशभक्त नि मै हुँ भन्छौ
सिमानाको जङ्गे पिलर सारेर त देखाऊ
 
दोस्रो गजल
 
यहाँ मलाई त मर्छु कि भोकाएर भन्ने डर छ
उता उसलाई त मर्छु कि अघाएर भन्ने डर छ
 
ती गुण्डाका सरदारहरूलाई तह लगाइसकेँ
वर्दीवाला अपहरण गर्छन् कि आएर भन्ने डर छ
 
लोफरहरू त गुलाफको बुकी लिएर आउन थाले
बडेहरू लान्छन् कि जवानी सडाएर भन्ने डर छ
 
सिमाना दुश्मनले मिचिरहेको चिन्तामा छु म
उसलाई कुर्ची लान्छन् कि छिनाएर भन्ने डर छ
 
कि वार कि पारको युद्धको तयारीमा छ योद्धा
उतातिर पार्टी भाँड्छन् कि फुटाएर भन्ने डर छ
 
विदेशमा महामारीको चपेटाबाट जीवन गुमाउने ती सबै नेपालीहरूप्रति समर्पित कविता ।
 
मैले देश खोजिरहेछु
हिँड्दा पनि मन खुसी थिएन
पुग्दा पनि मन खुसी थिएन
जिन्दगी चारोका लागि उडिरहने पंक्षीझैँ रहेछ
कर्तव्यपथको पदचापले
प्यारो मातृभूमिमा बसिखान दिएन।
 
(१) पाखुरी दासतामा बेच्नु थिएन
आँसु पराइसामु झार्नु थिएन
भारी थियो भरण र पोषणको
गोरुका गर्धनझैँ पाटिएका बाबाका काँधहरूले
हुर्केको छोरोलाई हेरेर बसिरहन दिएन।
 
(२) संगिनीका छेडिएका कानहरूमा
चमचम चम्कने झुम्काना थिएन
आँखाहरूमा बहिनीको आशा झल्कन्थ्यो
नाकमा उनको नथिया थिएन
फक्रदोँ त्यो सौन्दर्य
निखार्ने उनको चौबन्दी थिएन
चाउरिएका मुजाहरूको निधार भए पनि
आमाको ममताले जीवनमा आँधी आउँन दिएन।
 
(३) पछ्याउँदा पछ्याउँदा पूर्णिमाका रातहरू
जून अरु कसैको भएपछि
कुर्दाकुर्दा उज्यालोका रश्मिहरू
घाम बादलसँगै उदाएर अस्ताएपछि
एक अञ्जुलि पानीको पर्खाइमा बसिरहँदा
किर्ते कागजमा नदीहरू सुक्दै गएपछि
प्यास कहाँ मेटिदो रहेछ र ?
वस्तीको मुखिया नै तिर्खाएपछि !
 
(४) उसको भाषणले चूह्लोमा आगो बलेन
रातो किताबमा बुनिएका कम्बलहरूले
शिशिरको सिरेटो छलेन
बोलीहरूमा विश्वास हुन्छ भन्थे उनी
उनी आफै नै पुत्रमोहका धृतराष्ट्र बनेपछि
गालामा स्याउ र ओँठमा गुलाफ फुलेन।
 
(५) तीस मुरी धान फल्ने बाबाको तल्लो खेत बेचेर
मुटु बिझाउँदै बुझेको त्यो थैली
रोजगारीको राजमार्ग खोल्दिने
मल्लो गाउँका माइला दाज्यूका खल्तीमा राखिदिएपछि
बनेको हरियो पासपोर्ट हातमा लिँदै मन अमिलो पारेर
अनि सैयौँ सपनाहरू बुन्दै समुन्द्र पार गरेको
हिजोझैँ लाग्छ
वनमा काफल र बारीमा तिँदु पाक्यो होला
तातेताते गर्ने त्यो प्यारे मेरो के गर्दै होला
अचेल त्यो गाउँ आफैलाई बिरानो लाग्छ।
 
(६) आमा ! तिम्रो मातृवात्सल्य कहाँ छ ?
बाबा ! तिम्रो अँगालोभरिको स्नेह कहाँ छ ?
सुगन्धहरूको फसल स्याहारुला भनेको त
प्रीय सखी,फूलहरूको व्यापार रहेनछ परदेश !
बहिनीको आशा र छोराको बालापनको के कुरा
मनभरि सम्झनाभरि छताछुल्ल छ मेरो देश
पसिनाले आफन्तीहरूको अनुहार उजिल्याउन
जुठा बर्तन माझिएन कि !
रेमिट्यान्सले योगदान राष्ट्रलाई पुर्याउन
कोठा र गल्लीहरूमा झाडु मारिएन कि !
यति बेला,पीडाका चीत्कारहरू पुग्दैनन् अरे बिडम्बना,बहिरो पो भएछ मेरो देश ।
 
(७) आज बन्द कोठाभित्र
ज्वरोको डिग्री बढ्दै जाँदा
लाखौँ मानिसहरूको यो महानगर
सुनसान श्मशान देख्दैछु
खोकीले छाती चिरिदैँ चिरिदैँ जाँदा
माया हराएको यो सहरमा
प्रियाको न्यानो स्पर्श खोज्दैछु
ऐया आमा !
सास रोकिनै लागेको छ
मृत्युको शैय्याबाट यो पत्र लेख्दैछु
काँध हलुका नहुने भो रे
बाबालाई भन्दिनु
झुम्काना र नथिया पठाउन सकेन रे
प्रिया र बहिनीलाई भन्दिनु
कलम फ्याँकेर बारीका डल्लाहरू फोर रे
छोरालाई भन्दिनु
आमा !
सभ्यताको यति ठूलो सहरभित्र
आँसु पुछ्ने कोही भएन
मानवता पढाउने महाविद्यालयभित्र
पीडा बुझ्ने कोही भएन
डक्टर,नर्स,एम्बुलेन्सहरू
नश्ल र रङ्गको खेती गर्दा रहेछन्
आएर अउषधि खुवाउने यहाँ कोही भएन
आफ्नो र विरानो बुझ्दैछु आमा
अस्पताल जाँदा पनि त्यहाँ उपचारलाई बेड भएन
विकल्प मृत्यु बनिरहँदा यतिखेर
मैले मेरो परिवेश खोजिरहेछु
न बुझ्न कोही आयो न लिन कोही आयो
लाखौँ नेपाली लास बनिरहँदा सडकमा
बचेको एक मुट्ठी सास पनि निसासिरहेछ
त्यसैले त मैले मेरो देश खोजिरहेछु ।
 
 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल जेष्ठ १५ गते, बिहीबार

menu LIVE TV