संसारबाट यो महामारी चाँडै हट्नेछ, तमु धीं युके पनि आफ्ना दैनिकीमा फर्कनेछ


SHARES

  • एकेन्द्र गुरुङ

बेलायतमा यति खेर समर लागेको छ । ढुम्म भैरहेको आकाश खुलेको छ । यहाँका विशाल चाक्ला खेतहरुमा पहेलपुर भएर तोरी फुलेको छ, गहुँ झुलेको छ । पार्क, बगैचामा फुल फुलेको छ । हिउँ र तुषारोले खङ्रन्ग बनाएको पतझड, रुखहरु हरियो भएर बसन्तको बैशले धपक्क ढाकेको छ । चराचुरुङ्गी र जंगली जनवार सबै खुशीले उन्माद भैरहेको अवस्था छ ।

बेलायतको लागि समरको याम रमाईलो याम हो । बिबाह ब्रतवन्ध, पुटपुटे, जन्मदिन, बिबाह बर्षगाँठ, अन्न प्राशन, नम्बरी पार्टी, गाउँले भेला, बुद्धजयन्ती, उभौली पर्व, ओपन कन्सर्ट, चलचित्र प्रदर्शन, सभा सम्मेलन, भेला गोष्ठी, गीत संगीतको कार्यक्रम साहित्यिक कार्यक्रम जस्ता विविध कार्यक्रमहरुले भ्याई नभ्याई भईरहने याम । सामाजिक सञ्जालमा बधाई र शुभकामनाको रंगिन शब्दहरुले भाईरल भइरहने समय । तर अहिले परिस्थिति फरक भैरहेको छ । श्रद्धाञ्जली र समावेदनाको दुखद् खबरहरुले सामाजिक सञ्जालको पानाहरु भरिभराउ भएको छ । रेडियो, पत्रपत्रिका, टीभी अनलाइन खबरहरु सबैमा कोरोना भाईरस कोविड १९ को कुरा मात्र हुन्छ । जस्ले आमा मानिसलाई सन्त्रास र भयावहको वातावरण सृजना गरेको छ ।

सरकारले जारी गरेको निर्देशन अनुसार सबै घरको चौ घेरामा सिमित भएको छ । दुई मिटरको सामाजिक दुरी कायम गर्ने, हात नमिलाउने, अंकमाल नगर्ने, घर बाहिर ननिस्कने, भेटघाट जमघट नगर्ने नै यो रोगबाट सुरक्षित रहने उपाय भएकोले आज आप्mनै साथीभाइ, ईष्टत्रि र घर परिवारसंग सम्पर्कमा आउनलाई पनि डराउनु पर्ने परिस्थिति छ । युकेमा कोविड १९ बाट संक्रमितको संख्या र मृत्यु हुनेको संख्या घटेको छैन । अवस्था कहाली लाग्दो छ । सबै अत्यासमा छन् । पीडाको आयतन बढ्दो छ । अहिले नै समय परिस्थितिको बारेमा आकलन गरिहाल्ने अवस्था छैन । सिंगो संसारनै थिलो थिलो छ । बेलायतको मात्र के कुरा गर्नु । त्यसैले बेलायतको नेपाली समुदायको सामाजिक गतिविधि शुन्य प्राय छ ।

सधैं भेला र जमघट भैरहने एम्पायर हल, भेटघाट र प्यालेस अरु कम्युनिटी हलहरु सुनसान देखिन्छ । समाजको लागि समर्पित सबै नेपाली संघसंस्थाहरु सामाजिक सञ्जालमा मात्रै सिमीत हुनु परेको तितो यर्थाथ छ ।

तमु धिं युके नेपाली डायस्पोरामा सर्वाधिक चर्चामा आइरहने जातीय संस्था हो । यो बेलायतको च्यारिटी कमिसनमा दर्ता भएको छ । तमु धिंले पोखरा रंगशालाको तत्कालिन पर्खाल, इराकमा आतंकारी हमलामा मारिएका मृतकहरुको परिवार, नेपालको बाढी पीडित (एनआरएनए लाई एक करोड एघार लाख) खादिङ्गको विद्यालय भवन निर्माण गरि परोपकारी संस्थाको परिचय पनि बनाएको छ ।

गुरुङहरुको ऐतिहासिक स्थल क्होल सोथरको अध्ययन भ्रमण, तमु ह्युला छोज धींको आयोजनामा संचालन भएको अन्तरराष्ट्रिय गुरुङ सम्मेलन जस्ता गुरुङ भाषा, संस्कार, संस्कृति, इतिहास र गुरुङहरुको सशक्तिकरणको अभियानमा सहभागी जनाउनु महत्वपूर्ण कुरा हो । गुरुङ चलचित्र (जिफान) नेपाल, तमु संचार कर्मी संघ नेपाल, तमु ह्युला छोंज धीं नेपाल, तमु धी नेपालले आयोजना गर्ने कार्यक्रमहरुमा सहभागी र सहयोगले साझा मुद्दाहरुमा सबैसंग हातेमालो गर्नु आपसी सद्भाव र मेलमिलापको नमुना हो ।

तमु धिं युकेले बेलायतमा गोर्खा कप, नेपाली मेला, लाईफ मेम्बर डिनर नाईट र ल्होछार÷ल्होसार (नयाँ बर्र्ष जस्ता महत्वपूर्ण कार्यक्रमहरु संचालन गर्ने गर्दछ । संक्षेपमा उल्लेखित कार्यक्रमहरु बारे जानकारी गराउन चहान्छु ।

गोर्खा कप
तमु धीं युकेले विगत १७/१८ बर्षदेखि निरन्तर संचालन गर्दै आएको फुटबल टुर्नामेन्ट हो । यो ४० ओटा टिमले भाग लिने एक दिवासिय कार्यक्रम हो । संस्थाको अध्यक्ष नन्दजंग गुरुङका अनुसार यो कार्यक्रम सम्पन्न गर्न ५०/६० हजार पाउण्ड खर्च लाग्ने गरेको छ । बेलायत सरकारको स्वास्थ्य र सुरक्षाको संवेदनशिलताको मापदण्ड पूरा गर्न लाई ६० जना सुरक्षा कर्मी, प्राथमिक उपचारको लागि तालिम प्राप्त ५ जना दक्ष जनशक्ति र ३ ओटा एम्बुलेन्सको व्यवस्था गर्नुपर्छ ।

कार्यक्रममा हङकङ, बेल्जियम र हलैण्डबाट समेत टिम सहभागी हुन्छ । यसबाट भन्न सकिन्छ कि यो नेपाली डायस्पोराको यो अन्तरराष्ट्रिय फुटबल टुर्नामेन्ट हो । यहाँ १५/१६ हजार दर्शक उपस्थित हुन्छ । सहभागी दर्शकलाई मध्यनजर राखेर १०० ओटा भन्दा बढी दिशा पिसावको लागि सजिलो ट्वाईलेट र फोहोर मैला व्यवस्थापन गर्न ५ ओटो स्किपको व्यवस्था गरेको हुन्छ । गोर्खा कपको आर्कषणको लागि होलिकप्टरबाट प्याराजम्प, गोर्खा ब्रिगेड व्याण्ड, खुकुरी नाच र नेपाली साँस्कृतिक कार्यक्रमको प्रस्तुति रहने गर्छ ।

बेलायत सरकारले आफ्नो वार्षिक कार्यक्रममा सामावेश गरेको नेपाली कार्यक्रम संभवत गोर्खा कप मात्रै हो । खेलकुदको माध्यमबाट युवाहरु बीच आपसी भातृत्व र सद्भावको भावना विकसित गराउने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम बेलायत भरिको नेपालीहरुको भेला हुने एउटा रमाइलो स्थलोको रुपमा स्थापित भएको कार्यक्रम हो । फुटबल हेर्ने बहानामा साथीभाइ, नम्वरी भेटघाट, प्रेमी प्रेमिका, युवा युवती र ईष्टमित्र सबैले भेटघाट गर्ने पर्वको रुपमा लिने गर्दछ । कार्यक्रम स्थलमा नेपालको गाउँघरको स्थानीय हाट बजारमा झै मादल, खैंचडीको धुन, गीत संगीतको सुमधुर धुन, नाच गान सुन्न र देख्न पाईन्छ । यो बेलायतको नेपालीहरुको बीच आपसी भातृत्व र सामाजिक सद्भावको रमाईलो कार्यक्रम हो ।

नेपाली मेला
नेपाल मेला तमु धीं युकेले आयोजना गर्ने अर्को महत्वपूर्ण कार्यक्रम हो । नेपाली मेलामा नेपालको मेचि देखि महाकाली हिमाल देखि तराई सम्मको नेपाली कला र संस्कृति प्रस्तुत हुन्छ । नेपाली चाड पर्व, मेलापाता, रोधी, भैलो, सिली साकेला, चण्डी नाच, धान नाच, घाँटु, सोरठी, सालैजो, लाखे नाच, झ्याउरे, रोइलो, बालन, छ्याडु नाच, सारंगी नाच जस्ता विभिन्न क्षेत्रको विभिन्न जातिको सभ्यता र संस्कृति झल्किने कार्यक्रम प्रस्तुत् हुन्छ ।

यो कार्यक्रम नेपाली कला र संस्कृति प्रस्तुत गरिने बिशेष कार्यक्रम हो । विदेशी भूमिमा सिंगो नेपाललाई नजिकबाट अनुभूति गर्न सकिने यो कार्यक्रम नेपाली मेला लाई बेलायतको मिनि नेपाल पनि भन्ने गरिन्छ । आयोजक तमु धिं भए पनि यो सिंगो बेलायति नेपालीहरुको प्रतिनिधित्व गर्ने साझा कार्यक्रम हो ।

यो कार्यक्रममा ट्हो त्हे पनि प्रस्तुत् गर्ने गरिन्छ । ट्हो भनेको गाउँ बस्ती र त्हे भनेको पूजा हो । कतै यसलाई ट्हो ट्हे पनि भन्छन् । गाउँमा भूतप्रेत धपाएर स्वास्ति शान्ति अपनाउने बनाउने विधिलाई ट्हो त्हे भनिन्छ । बेलायतमा रहने सबै नेपालीहरु सुख, शान्ति मात्र होइन, घर घरमा सुख शान्ति छाओस, सोचेको, चाहेको पुगोस् भनेर यो कार्यक्रमको आयोजना गरेको हो ।

नेपाली मेलामा नेपाली कला र संस्कृति झल्किने झाँकी र साँस्कृतिक कार्यक्रमको अन्तर संस्था प्रतियोगिता हुन्छ । बेलायतको नेपाली राजदूतावास नेपाली मेलाको सह–आयोजक हो । त्यस्तैले कार्यक्रमको छुट्टै महत्व राख्दछ । नेपाल संग कुटनैतिक सम्बन्ध भएको २६ ओटा मुलुकहरुको राजदूत तथा कुटनैतिक नियोग प्रमुखहरुको कार्यक्रममा उपस्थित हुने गर्दछ । बेलायतको स्थानीय सरकारको प्रमुख र प्रतिनिधिहरु सांसद, मेयर, उपमेयर, काउन्सिलरहरुको उपस्थिति हुन्छ ।

त्यसैले यो कार्यक्रम बेलायत र नेपाल बीचको सम्बन्ध अझ सुदृढ र सुमधुर बनाउने कार्यक्रम पनि हो । नेपाली मेला नेपाललाई विश्व सामु परिचित गराउने, युवा पिढीलाई नेपाली संस्कृतिलाई थप जानकारी गराउने र हस्तान्तण गर्ने सजिलो उपाय बनेको छ । त्यस्तै, यो कार्यक्रम नेपालको पर्यटन उद्योगलाई थप प्रवद्र्धन गर्न सकिने महत्वपूर्ण कार्यक्रम भएको छ ।

आजीवन सदस्य रात्री भोज– तमु धी युके आजीवन सदस्य मात्रै ७००/८०० जना भएको संस्था हो । त्यसैले गोर्खा कप, नेपाली मेला जस्ता वृहत कार्यक्रमहरु सहज ढंगले आयोजना भैरहन्छ । कार्यक्रममा सबै स्वंयसेवक भएर उपस्थित हुन्छन् । संस्थामा आवद्ध सदस्यहरु बीच बर्षमा एक पटक भेटघाट गरेर आपसी भातृत्व र सद्भाव प्रागाढ बनाउने उद्देश्यले यो कार्यक्रमको थालनी गरेको हो । यो कार्यक्रममा तमु धी युकेलाई बिशेष योगदान पु¥याएको सदस्यहरुलाई सम्मान गर्ने चलन छ । यसलाई आर्दश तमु अवार्ड भनिन्छ । संस्था प्रति सदस्यहरु अझ बफादार वनोस, संस्थामा भईरहने कृयाकलापमा सहभागी हुन प्रेरित होस् भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।



ल्होछार/ल्होसार गुरुङहरुको नयाँ बर्ष हो । यसलाई गुरुङहरु महान पर्वको रुपमा मनाउछन् । तमु धी युकेले पनि यसलाई आफ्नो संस्थाको प्रमुख कार्यक्रमको रुपमा लिएको हुन्छ । संसारभर गुरुङहरु भएको ठाउँमा ल्होछार/ल्होसारलाई भव्य रुपमा मनाउछन् । गुरुङहरु गुरुङ हुनुमा गर्व गर्छन् । ल्होछारलाई आफ्नो पवित्र चाडको रुपमा लिन्छन् । यसलाई आफ्नो जातीय पहिचानको रुपमा लिन्छन् । त्यसैले नयाँ बर्षलाई भव्य र आर्कषक बनाउन नेपालबाट दुईजना कलाकार झिकाउछन् । सबै आप्ना जातीय पहिरनमा सजिएर रमाईलो गर्छन् ।

बेलायतमा अधिकांश कार्यक्रमहरु समरमा हुन्छ । गोर्खा कप मे महिनाको अंतिम आईतबार हुन्छ । रसमुर बोरो काउन्सिल, रसमुर पुलिस संग बैठक बसेर कार्यक्रम तय हुन्छ । सबै गुरुङहरु कार्यक्रमको तयारीमा जुट्छन् । यति खेर पैसा उठाउने र कार्यक्रम तयारी बारेको बिषयलाई लिएर सामाजिक सञ्जालको भित्ताहरु सबै भरिन्थ्यो । पटकपटक आन्तरिक छलफलमा जुटिरहन्थ्यौं । कामको विभाजन गरेर सबैले निष्ठापुर्वक जिम्मेवारी पूरा गथ्र्यौं । तर, अहिले यहाँ गोर्खा कपको तयारीको चहलपहल छैन ।

सामाजिक सञ्जालमा कोरोना भाईरस कोविड १९ को संक्रमण भएका आप्mना सदस्यहरुको स्वास्थ्य लाभको लागि व्यक्त गरिएका सन्देश र दिवंगत भएकाहरुलाई श्रद्धाञ्जली र समावेदनाको दुःखद् कमेन्टहरु मात्रै देख्नु पर्छ । परिस्थिति काहाली लाग्दो छ । कुन बेला के हुने हो अत्यास र सन्त्रास छ । कोरोना भाईरस कोविड १९ संक्रमणमा अमेरिका पछि दोस्रो नम्बरमा छ बेलायत । त्यसैले बेलायतको नेपाली समुदाय पनि संक्रमणको जोखिममा छ ।

अहिलेसम्म ६० जनाले ज्यान गुमाई सकेको छ । कोही बाबुआमा गुमाएर टुहुरा भएका छन्, कोही छोराछोरी गुमाएर बुढेस कालमा बेसहारा भएका छन, कसैको सिंदुर पुछिएको छ । बुढाबुढीहरु सोच्नै नसक्ने अवस्थामा बाँचिरहका छन् । समुह-समुह भएर हिड्न रुचाउने, नाच्न गाउन मन पराउने, सानातिना दुखलाई परवाह नगर्ने नेपालीको संस्कृति नै हो । तर, अहिले सानो कोठामा थुनिनु परेको छ ।

यो महामारीबाट कसरी पार हुने जीवनमरणको दोसाँधमा विवशताको जिन्दगी बाँचीरहेका छन् । सरकारले लकडाउनको कार्यक्रम अक्टुबर सम्मलाई सार्वजनिक गरेको छ । यहि कुरालाई मध्यनजर गर्दै तमु धी युकेले यसबर्षको गोर्खा कप संचालन नहुने जानकारी गराइसकेको छ । विज्ञहरुले यसलाई नेपाली समुदायको लागि दुर्भाग्य भनेका छन् ।

अगष्ट महिनाको अन्तिम आइतबार आयोजना गरिने नेपाली मेला पनि प्रभावित हुने निश्चित छ । बेलायतको नेपालीहरु एक ठाउँमा भेला गराएर नेपाली कला र संस्कृतिको प्रवद्र्धन हुने नेपाली मेला लकडाउनले प्रभावित भएको छ । लाईफ मेम्बर डिनर नाईट र ल्होछार मनाउने बेला सम्म महामारीमा सुधार आउन सक्ला तर मानिसहरुसंग एक खालको सन्त्रास त्यो बेला सम्म पनि रहिरहने छ ।

हत्तपत्त बाहिर निस्केर ठूलाठूला भेला र कार्यक्रमहरुमा सहभागी हुन सहज मान्ने छैन । परिस्थिति कस्तो हुने हो अहिले नै आकलन गर्न सक्ने अवस्था छैन । तसर्थ विभिन्न कार्यक्रमहरु आयोजना गरेर समुदायको लागि कृयाशिल भैरहने तमु धी युकेलाई हात खुट्टा बाँधेर राखेको जस्तो अवस्था सृजना भएको छ । कोरोनाबाट प्रभावितलाई अग्रभागमा खटेर सहयोग गरिरहे पनि, चन्दा संकलन गरेर पिडीतलाई सहयोग गर्ने अभियानमा जुटिरहे पनि गोर्खा कप, नेपाली मेला जस्ता डायस्पोराकै वृहत र पृथक कार्यक्रमहरु प्रभावित हुँदा तमु धी किकर्तत्य विमुढ भएर केहि हराए जस्तो केहि बिराए जस्तो वैचन भईरहेको छ ।

जिन्दगीमा यस्ता दुखद घडीको पनि सामना गर्नु पर्ने रहेछ । यताउता कतै पनि चल्न नसक्ने मोडमा उभ्याई दिएको छ । आसा गरौं संसारबाट यो महामारी चाँडै उन्मुलन भएर जाने छ । सारा संसार आफ्ना दैनिकीमा फर्कने छ । तमु धीं युके पनि आफ्ना दैनिकीमा फर्कने छ । आफू पनि बचौं र अरुलाई पनि बचाऔं ।

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल जेष्ठ १५ गते, बिहीबार

menu LIVE TV