इतिहास नेपालको पक्षमा छ, यी हुन् प्रमाणहरु : भूमिमन्त्री अर्याल (भिडियो सहित)


SHARES

केशब गुरुङ, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री मन्त्री पद्‍माकुमारी अर्यालले इतिहास नेपालको पक्षमा भएकाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको पक्षमा रहेको बताएकी छन् । बुधवार नेपालको अद्यावधिक (राजनीतिक/प्रशासनिक) नक्सा जारी गरेकी मन्त्री अर्यालले नागरिकखबरसँग कुरा गर्दै इतिहास नेपालको पक्षमा भएकाले लिम्पियाधुरा लगायतका भूभाग समेटेर नयाँ नक्सा जारी गरिएको बताइन् ।

नेपाल-भारत सीमाका सन्दर्भमा सुगौली सन्धी नै बलियो प्रमाणका रुपमा रहेको मन्त्री अर्यालले बताइन् । ‘सन् १८१६ को सुगौली सन्धीले नेपालको पश्चिमोत्तर क्षेत्रको भारत र नेपालको सिमानाका सन्दर्भमा स्ष्टताका साथ लिम्पियाधुराबाट बग्ने नदी नै काली नदी हो भनेर काली नदीलाई नै सीमा नदी मान्यो’, मन्त्री अर्यालले भनिन, ‘सीमा नदी हुनका लागि सबैभन्दा लामो हुनुपर्‍यो र सबैभन्दा गहिरो हुनुपर्‍यो । त्यहाँ भएकामध्ये सबभन्दा ठूलो नदि नै दुई देशको सीमाना हुन्छ । शाखा नदी सीमा नदी हुन सक्दैन । त्यो सुगौली सन्धीको प्रष्ट व्यवस्था हो ।’

सुगौली सन्धीपछि प्रकाशित गरिएका नक्साहरुमा नै काली नदीलाई नै सीमा नदी मानिएको मन्त्री अर्यालको भनाइ छ । उनले भनिन, ‘सुगौली सन्धीपछि प्रकाशित गरिएका नक्साहरु जुन नक्साहरु भारतकै तर्फबाट प्रकाशन गरिने गर्थ्यो । ती नक्साहरुमा पनि स्पष्ट ढंगले काली नदी नै सीमा नदि हो भनेर बुझिने गरि नै हाम्रा नक्साहरु प्रकाशन भएका छन् । ती नक्सामा कालीलाई सीमा मानिएको छ । जुन नदि लिम्पियाधुराबाटै झरेको छ ।’

विगतमा त्यहाँका जनताले बुझाएको तिरो, जनगणना, आम निर्वाचन लगायतका कुराहरु प्रमाणका रुपमा रहेको भन्दै मन्त्री अर्यालले भनिन्, ‘विगतमा त्यहाँका जनताले जनताले बाली बुझाएको, तिरो तिरेको प्रमाणहरु पनि नेपालको हो भन्ने प्रमाणहरु हुन् । २०१५ सालको आम निर्वाचनमा त्यहाँका जनताले नेपालतर्फको जनप्रतिनिधिलाई मतदान गरेका छन् । त्यो भेगको जनगणना गरेका व्यक्ति अहिलेपनि म त्यो क्षेत्रमा गएर जनगणना गरेर आएको हो भन्ने ज्यूँदो प्रमाण छन् ।’

बेलाबेलामा सरकारका तर्फबाट आदानप्रदान गरिएका कुटनीतिक नोटहरु पनि त्यसका प्रमाणहरु हुन सक्ने मन्त्री अर्यालको भनाई छ । अन्य ऐतिहासिक दस्ताबेजहरुका आधारमा हामीले त्यो भूभाग हाम्रो हो भन्ने कुरामा कुनै दुबिधा नरहिकन स्पष्ट भइसकेपछि त्यो भूभागलाई सरकारले नक्साभित्र बाँध्नुपर्छ भन्ने ढंगले सरकार अगाडि बढेको उनले बताइन् ।

कुनै नक्सामा केही र कुनै नक्सामा केही देखिनेगरी नक्सा छपाउने पक्षले नै तलमाथि गरेको बताउँदै मन्त्री अर्यालले विगतमा नक्सा छाप्ने अख्तियारी प्राप्त गरेको भारतकै तर्फबाट त्यो भुगोललाई आफ्नोमा पार्नका निम्ति भारतकै तर्फबाट कहिले काली प्रष्ट देखिने बनाइदिएको, कहिले शाखालाई बनाएको र कहिले काली प्रष्ट नदेखिने नक्सा प्रकाशन गरिएको पाइएको बताइन ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल जेष्ठ १८ गते, आईतवार

menu LIVE TV