मनमोहन कार्डियोभास्कुलर सेन्टरमा एक बिरामीमा कोरोना संक्रमण :अवस्था गम्भीर


SHARES

काठमाडौं । महाराजगञ्जस्थित त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारको क्रममा रहेकी एक महिलामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका-३, स्थायी घर भएकी महिला मुटुको समस्या भएर अस्पताल भर्ना भएकी थिइन् । उनमा शुक्रबार कोरोना पुष्टि भएको हो । पिसिआर पोजेटिभ आएपछि सिसियू सिल गरिएको छ ।

मुटुको चालमा समस्या आएको भन्दै अस्पताल पुगेकी ५४ वर्षीया महिला ६ दिनअघि अस्पताल भर्ना भएकी थिइन् । टेकुस्थित राष्ट्रिय प्रयोगशालाबाट कोरोना पोजेटिभ रिपोर्ट आउँदासाथ सेन्टरमा खबर गरिएको थियो । त्यसलगत्तै कन्ट्याक्ट ट्रेसिङ सुरु भइसकेको छ ।

अस्पतालका एक चिकित्सकले संक्रमितको अवस्था गम्भीर रहेको जानकारी दिए । त्यसैले बिरामीलाई सेन्टरकै गणेशमान भवनमा सार्ने तयारी भएको उनले बताए । सेन्टरले ती महिलाको सम्पर्कमा आएका चिकित्सक, नर्सलगायत अन्य जनशक्तिलाई क्वारेन्टाइनमा राख्ने तयारी गरेको छ ।

उपचारमा संलग्न चिकित्सक भन्छन्, 'हामीले मुटुको चालमा समस्या भएर उपचार गरिरहेका थियौँ । ती महिलालाई निमोनिया पनि देखियो । शंका लागेर हामीले कोरोना परीक्षण गरेका थियौँ । अहिले ती महिलाको अवस्था गम्भीर छ । पाटन लैजाने भनिए पनि यहीँ व्यवस्थापन गर्ने कुरा भएको छ ।'

सेन्टरले बिहीबार चिकित्सक, नर्स र केही बिरामीसमेत गरेर ५४ जनाको पिसिआर परीक्षण गरेको थियो । आइओएम अन्तरगतकै त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेकी एक ६ बर्षीया बालिका र बिरामी कुरुवा एक पुरुषमा कोरोना संक्रमण देखिएको थियो । कोरोनाबाट ज्यान गुमाउने सिन्धुपाल्चोककी महिला शिक्षण अस्पतालमै सुत्केरी भएकी थिइन् ।

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल जेष्ठ १५ गते, बिहीबार

menu LIVE TV