राहतको विषयमा सत्ता पक्ष र प्रतिपक्ष दलका कार्यकर्ताबीच कुटाकुट


SHARES

सिरहा । सिरहामा राहतको विषयमा सत्ता पक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसबीच कुटाकुट भएको छ । सिरहाको नरहा गाउँपालिका १ देवीपुरमा कोरोना प्रभावितहरुलाई राहत वितरण गर्ने विषयमा विवाद हुँदा शुक्रबार वडा कार्यालयमै कुटाकुट भएको हो । त्यस कुटाकुटमा दुबै पार्टीका डेढ दर्जन बढी घाइते भएका छन्।

उनीहरुको उपचारको लागि जिल्ला अस्पताल सिरहा भइरहेको छ । नेकपाका स्थानीय नेता कार्यकर्ताहरु दुखी चौधरी, चुमन चौधरी, शिवकुमार चौधरी, अजय चौधरी, गुणे चौधरी र कुलदेव चौधरी घाइते भएका छन् । त्यस्तै कांग्रेसका रामजीवन राय, रामचन्द्र यादव, अधिकलाल यादव, रामऔतार मण्डल, फौदार मण्डल, संजय यादव, राजीव मण्डल, नन्दु मण्डललगायत घाइते भएका छन् । उनीहरुलाई ढुंगा र लाठी प्रहारबाट शरिरको विभिन्न भागमा चोटपटक र टाउको फुटेको छ।

घाइतेमध्ये उर्मिला कामति, रामचन्द्र र रामजीवन रायलाई थप उपचारका लागि विराटनगर रेफर गरिएको जिल्ला अस्पतालले जनाएको छ। दुई हप्ताअगाडी वडा कार्यलयबाट कोरोना प्रभावितहरुलाई राहत वितरण गरिएको थियो । त्यसमा केही व्यक्ति छुटेको भन्दै कांग्रेस र जनता समाजवादी पार्टीका स्थानीय नेता कार्यकर्ताहरुले वडाअध्यक्ष अशोक साहसँग उनको घरमै पुगेर गुनासो गरेका थिए ।

त्यसपछि वडाअध्यक्ष साहले आफुलाई गाली बेइज्जत गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए । साह नेकपाबाट निर्वाचित वडाअध्यक्ष हुन् । वडाअध्यक्ष साहले ५१७ घर परिवार दलित, गरिबलाई राहत वितरण गरेको दाबी गरेका छन् । त्यसबाहेक २ सय भन्दा बढी घरपरिवारलाई राजनीतिक पूर्वाग्रह राखी राहत नदिएको कांग्रेस पक्षको आरोप थियो ।

छुटेकाहरुलाई पनि राहत वितरण गर्नुपर्ने माग राख्दा साहले छलफलका लागि वडा कार्यालयमा बोलाएर कुटपिट गराएको स्थानीय कांग्रेस नेता कौशल मण्डलको आरोप छ । आफुले सबैलाई मिलाएर राहत वितरण गरेको वडाअध्यक्ष साहले बताए । छुटेकालाई राहत वितरण गर्ने विषयमा छलफल भइरहँदा कांग्रेस र समाजवादी पार्टीका नेताहरुले विवाद खडा गरेको उनको आरोप छ ।

नागरिकता नभएका केही व्यक्तिहरु छुटेको उनले सुनाए । वडा कार्यालयमा आएर जर्वजस्ती गर्न थालेपछि झडप भएको उनले बताए । कुटाकुट विषयको घटनाबारे अनुसन्धान भइरहेको सिरहाका एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए । (अन्नपूर्ण पोष्ट)


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल जेष्ठ १८ गते, आईतवार

menu LIVE TV