मह बिक्री नभएपछि कृषकलाई चिन्ता


SHARES

पाल्पा । वर्षेनी मह बेचेर राम्रो कमाइ गर्ने पाल्पा बगनासकाली गाउँपालिका– ८ बस्ने पशुपति बस्यालले यस पटक भने बन्दाबन्दीका कारण मह बिक्री गर्न गर्न पाएका छैनन् ।

उत्पादित करीब पाँच सय किलो मह फार्ममा नै रोकिएपछि कहिले बन्दाबन्दी खुल्छ भन्ने चिन्ताले उनलाई सताएको छ । हिमाली बी कन्स्ट्रक्सन फार्म दर्ता गरी विसं २०५२ देखि बस्यालले व्यावसायिक रुपमा मौरीपालन गर्दै आएका छन् । उनको फार्ममा हाल ३८८ आधुनिक घार छ । यी घारबाट वर्षमा करीब आठदेखि दश क्वीन्टलसम्म मह उत्पादन हुन्छ ।

‘उत्पादित मह बेच्न पाइएको छैन, बन्दाबन्दी कहिलेसम्म हुने हो निश्चित छैन, न घार बिक्छ न मह नै, हामी व्यवसायी मारमा परेका छौँ,’ बस्यालले गुनासो पोखे । बजारमा हाल प्रतिकिलो रु ८०० मा मह बिक्री हुने गरेको छ । यहाँ उत्पादित मह र घार पाल्पा, स्याङ्गजा, तनहुँ, नवलपरासी, अर्घाखाँची, गुल्मी, रुपन्देही, सल्यान, रुकुम, गोरखालगायत जिल्लामा खपत हुँदै आएको छ ।

बन्दाबन्दीले उत्पादित मह र गोला नबिक्दा व्यवसायीलाई फार्म सञ्चालन गर्न समस्या परेको उनको भनाइ छ । उनले दुई पटकसम्म गाउँपालिकाले उपलब्ध गराएको सवारी पास लिएर विभिन्न ठाउँमा मह लिएर गए । तर जान नपाएपछि फर्किनु परेको बताए । बस्यालले चार कामदार राखेर व्यवसाय चलाउँएका छन् ।

बगनासकाली गाउँपालिका क्षेत्रमा मात्र व्यावसायिक रुपमा मौरीपालन गर्ने कृषक २० जना छन् । गाउँपालिकालाई मौरी गाउँका रुपमा विकास गर्ने गरी ७५ प्रतिशत कृषकका घरमा कम्ती एक घार मौरीपालन गरिएको कृषि शाखा प्रमुख राजेश बोहरा बताउँछन् । यहाँका वडा १ चिर्तुङ्गधारा, ७ को खानीगाउँ र ८ का बराङ्गदी क्षेत्र मौरीको पकेट क्षेत्र हुन् ।

यस वर्ष गाउँ कार्यपालिकाको पाँचौँ गाउँसभाबाट स्वीकृत कृषि कार्यक्रमअन्तर्गत मौरी गोला, खाली मौरीघार, मौरीजन्य सामग्री ५० प्रतिशत अनुदानमा वितरण गरिएको छ । सोअन्तर्गत २३ मौरी गोलाघार र ४२ खाली घारलगायत मौरीजन्य सामग्री वितरण गरिएको हो ।

बगनासकालीलाई मौरी गाउँका रूपमा चिनाउन विगत वर्षदेखि नै मौरीसम्बधी विभिन्न अनुदानका कार्यक्रममार्फत कृषकलाई मौरी पेशाप्रति संलग्न हुन प्रेरित गरिएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्याल बताउँछन् । मौरीघार बिक्री गरेर वर्षमा रु दश लाख बराबरको कमाइ गर्ने रामपुर नगरपालिका ६ स्थित न्यौपाने मौरी उद्योगमा यस वर्ष बिक्री गर्न तयारी अवस्थामा रहेका गोलासहित ६० घार र खाली घार १५० छन् ।

बन्दाबन्दीका असरले बिक्री नहुँदा करीब रु दश लाख जति नोक्सान हुने अनुमान गरिएको सञ्चालक हुमनाथ न्यौपाने बताउनुहुन्छ उनकै उद्योगमा पाँच जनाले रोजगार पाएका थिए तर अहिले बन्दाबन्दी भएपछि घर फर्किएका छन् ।

रामपुर क्षेत्रमा हाल व्यावसायिक तवरले मौरीपालन गर्ने कृषक २० जना रहेकामध्ये कम्तीमा पाँच देखि बढीमा ५० घारसम्म व्यवसाय गर्ने रहेको कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताए । यस वर्ष शाखा कार्यालयबाट मौरीपालनसम्बन्धी कार्यक्रम समेटिएको छैन तर वडा १ मा वडाको बजेटमा अनुदानमा मौरीघार वितरण गर्ने कार्यक्रम भने तय गरिएको छ । नगरका वडा १, २ र ७ को माथिल्लो भेग मौरीपालनका लागि उपयुक्त क्षेत्र हुन् ।

निस्दी गाउँपालिकामा पनि पछिल्लो समय मौरीपालन व्यवसायमा कृषक आकर्षित हुँदै गएका छन् । तीन वर्षदेखि यस व्यवसायमा लागेका निस्दी ६ अर्चलेका ठाकुर सिङ्जाली व्यवसाय विस्तार गर्न २० घार थप्ने योजना बनाए । तर, घार खरीद गरेर ल्याउन नपाएको गुनासो गर्दछन् । उनको फार्ममा हाल २२ आधुनिक घार छन् । उनि वर्षमा रु ६० हजारको मह बिक्री गर्दछन् ।

गाउँपालिकाका वडा २ सहलकोटमा १३, वडा ३ को झिरुवासमा सात, ५ को गल्धामा पाँच र ६ को अर्चलेमा दुई कृषक व्यावसायिक तवरबाट मौरीपालनमा लागेको कृषि शाखा प्रमुख खिमराज कोइराला बताउँछन् । डाँडाभेग क्षेत्र मौरीपालनका लागि सम्भावना बोकेको हुँदा पछिल्लो समय यहाँका कृषक उत्साहका साथ व्यवसायमा लागेको अवस्थामा घार खरीद गरेर घरमा ल्याउन नपाएपछि चिन्तामा रहेको कोइरालाको भनाइ छ ।

मह र घार बिक्री गरेर कृषकले राम्रो कमाउन सकिने र स्थानीय तहले अनुदानमा घार उपलब्ध गराउन थालेपछि जिल्लामा मौरीपालन व्यवसायमा कृषकको आकर्षण बढ्दो रहेको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले बताए । रासस 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल जेष्ठ १५ गते, बिहीबार

menu LIVE TV