लोप भयो ‘घैया’ धान


SHARES

पाल्पा । कुनै समय ‘घैया’ धान फल्ने पाल्पाका जग्गा अहिले वनमाराले भरिएका छन् ।

सिँचाइको सुविधा नपुगेका पाखोबारीमा घैया धान लगाएर जीवन गुजारा चलाउने कृषकले अहिले यो धान लगाउन छाडिसकेका छन् । विशेषगरी मकै बालीभित्र वैशाखजेठमा घैया धान छर्ने र त्यसैबाट वर्षदिनको धान उत्पादन गरी जीविका चलाउने यहाँका कृषकले घैया धान लगाउनै छाडेपछि अहिले जिल्लाबाटै हराउँदै गएको छ ।

सिँचाइ सुविधा नपुगेको पाखोबारी तथा खेतमा गरिँदै आएको छरुवा धान ‘घैया’ समयको परिवर्तनसँगै विभिन्न कारणले जिल्लाबाटै लोप हुँदै गएको हो । रामपुर ८ दध्राका ५५ वर्षीय चक्रबहादुर पुलामी आजभन्दा दुई दशक अघिसम्म घैया धान लगाउने गर्दथ्ये । ‘बारीका पाटाभरी घैया धान लगाएर हरियाली बनाइन्थ्यो, उत्पादन पनि राम्रै हुन्थ्यो, जमीन कतै बाँझो राखिएन, अहिले भने जमीन बाँझिएर वनमाराले भरिएका छन्’, पुलामीले भने ।

घैया धानको चामल खाँदा बास्ना आउने र स्वादिलो हुने भए पनि गाउँघरबाट लोप हुँदै गएपछि पछिल्लो पुस्ता यस खेतीप्रति अनभिज्ञ छन् । गाउँगाउँमा विभिन्न सुविधा पुगेसँंगै खेती प्रणालीमा पनि परिवर्तन आउने क्रममा घैया धानको सट्टा सिँचाइ पुगेका क्षेत्रमा वर्षेधान, विभिन्न अन्नबाली, तरकारी खेती गर्न थालिएको रामपुरका मनोरथ भट्टराई बताउँछन् ।

आकाशेपानीका भरमा यस्तो धान खेती गर्नुपर्ने भएकाले मौसम अनुकूल नहुने र मलखादको पनि राम्रो व्यवस्था नभएकाले घैया धान लोप हुँदै गएको हो । पहिले सिँचाइ सुविधा नपुगेका जमीनमा घैया लगाउने गरिए पनि हिजोआज सुविधा पुगेपछि वर्षे धानबाली लगाउन थालिएको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख अर्यालले बताए ।

जिल्लामा स्थानीय असली घैयाको जात नै लोप भइसकेको छ भने नयाँ प्रजातिका धान भित्रिएका छन् । घैया १, घैया २, हर्दिनाथलगायत छरुवा जातको विकासे धान सिँचाइ सुविधा नपुगेका क्षेत्रमा लगाउने गरिन्थ्यो । रासस


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल जेष्ठ १५ गते, बिहीबार

menu LIVE TV