सर्लाहीका कोरोना संक्रमित बिरामी टेकू अस्पताल गेटमै अलपत्र


SHARES

काठमाडौं । आज बिहान कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि टेकु अस्पतालको गेटमा पुगेका बिरामी अलपत्र परेका छन् ।

कोरोना संक्रमित बिरामी दिउँसो २ बजे टेकु अस्पतालको गेट पुगेका थिए । बारम्बार अनुनय विनय गरेपछि अहिलेसम्म अस्पतालले वास्तै नगरेको बिरामीको गुनासो छ ।

आठ घण्टादेखि गेटमा कुर्दाकुर्दा हैरान परेको उनीहरुले दुखेसो गरे ।

बिरामी भएर सर्लाहीबाट पाँच दिनअघि काठमाडौं आएका ती संक्रमित पुरुष बल्खुस्थित राजधानी अस्पतालमा उपचाररत थिए । उनको स्वाव संकलन गरी परीक्षणका क्रममा आज बिहान संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै राजधानी अस्पतालमा ८० हजार रुपैयाँ तिरेर एम्बुलेन्समा टेकु अस्पताल आएका थिए ।

‘हामी दिउँसो २ बजे यो अस्पताल (टेकु) आइपुग्यौं, अहिले साढे ९ बजिसक्यो, कतिपटक भनियो, कसैले वास्तै गरेनन’ संक्रमित पुरुषका भाइले नागरिकखबरसित फोनमा भने, ‘एम्बुलेन्सभित्र गुम्सिएर बसेका छौं । अब के गर्ने हजुर ?’

कोरोना संक्रमण पुष्टि भएसँगै राजधानी अस्पतालले पनि तत्काल पैसा तिर्न लगाएर उनीहरुलाई अस्पतालबाट निकालेका थिए । पैसा पनि ‘जेनतेन’ जोहो गएर अस्पतालबाट कोरोना उपचार हुने अस्पताल भनेर आफूहरु टेकु अस्पताल आएको उनले बताए ।

ती पुरुष केही दिनअघि भारतबाट सर्लाहीस्थित घर आएका थिए । उनको खुट्टामा घाउ भएकाले उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर लगिदिन भनेर एम्बुलेन्समा काठमाडौं आएका थिए । एम्बुलेन्सले भने बल्खुस्थित राजधानी अस्पताल पुर्याएका थिए ।

उपचारका क्रममा नै कोरोना परीक्षण गर्न स्वाव संकलन गरी केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाएका थिए । आज बिहान कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि भन्दै राजधानी अस्पतालकै सल्लाहमा एम्बुलेन्स चढेर टेकु पुगेका थिए । राति अबेरसम्म पनि उनीहरु अस्पतालकै गेटमा उकुसमुकुस भएर उपचारको प्रतीक्षामा छन् ।

यसबारे जानकारी लिन टेकु अस्पताल, स्वास्थ्य मन्त्रालयका आधिकारिक व्यक्तिसँग गर्दा फोन उठाएनन् । स्वास्थ्य तथा जनसंख्यामन्त्रीका प्रेस सल्लाहकार माधव तिवारीले भने अस्पतालले त्यस्तो गर्न नपर्ने भन्दै आफूले बुझ्ने बताए ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २० गते, शनिबार

menu LIVE TV