‘मुख्यमन्त्री, सुख्यमन्त्री’ म चिन्दिन भन्दै केबी रानाले गरे अपाङ्गता भएकामाथि दुर्व्यवहार !


SHARES

  • दिल निशानी मगर

“तेरो त खुट्टा चल्दैन, हात पनि चल्दैन, अब तेरो यो अस्पतालमा कुनै काम छैन बरु सरुवा भएर अरु ठाउँ गए हुन्छ । तर यहाँ म काम दिन सक्दिन ।” अस्पतालका अध्यक्षकै मुखबाट यस्तो अपमानजनक भाषाको घम्की सुनेपछि धौलागिरी अञ्चल अस्पताल बागलुङका सिनियर अहेव कविता शाक्य छाँगाबाट खसे जस्तो भइन् ।

अपांगमैत्री अवसरको बदला अपांग स्वास्थ्यकर्मी कविता शाक्यलाई अस्पताल प्रशासनबाटै अपमान गर्ने र काम गर्ने अवसरबाट बन्चित गराउने प्रयास भएको गतिबिधिबारे गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई सम्बोधन गरेको पत्र अन्नपूर्णपोष्टमा प्रकाशित भएपछि संवेदनशिलता बुझेर तत्काल समस्याको सम्बोधनका लागि मुख्यमन्त्रीको कार्यालयले अस्पताललाई पत्र पठाएर निर्देशन दिएका थिए ।

हेर्नुहोस् निर्देशन पत्र–

तर, अस्पतालका अध्यक्षले मुख्यमन्त्रीको आदेशको पालना समेत नगरी बरु उल्टै मुख्यमन्त्रीलाई पढ़ाए जस्तो गरी तीन पानाको लामो उत्तर पठाएका छन् । जुन पत्रमा नब्बे प्रतिशत झुटो कुराहरु रहेको अस्पतालमा काम गर्ने कर्मचारीहरु नै नाम नखुलाउने शर्तमा बताउँछन् ।

हेर्नुहोस् निर्देशन नमानेर उल्टै प्रतिबाद गरेको पत्र–

राजनीतिक रुपमा अध्यक्षको नियुक्ती पाएका केबी रानाले प्रदेश सरकारको आदेशको पालना गर्नु त कहाँ हो कहाँ ? उल्टै तँ तँ र म म जस्ता शब्दहरुको प्रयोग गरेर जस्ले जे आदेश दिए पनि म मान्दिन भन्न थाले । एउटा अस्पतालको अध्यक्षले मुख्यमन्त्रीलाई चिन्दिन, उनको पत्र पनि मान्दिन भनेर सार्वजनिक रुपमा भन्न भ्याए ।

कविता शाक्यमाथि केबी रानाको निरन्तर दुर्ब्यबहार
कविता शाक्य २० वर्षदेखि नागरिकको स्वास्थ्य सेवामा काम गरिरहेकी छिन् । तर दुःखको कुरा २०७१ साल असार १९ गत अस्पतालकै कामको क्रममा काठमाडौं गएर बागलुङ फर्कँदै गर्दा उनी चढेको माइक्रोबस तनहुँको दमौली नजिकै दुर्घटना भयो । त्यसयता कविताले निकै सकसपूर्ण जीवन बिताइरहेकी छिन् ।

दुर्घटनामा परेर घाइते भएपछि अस्पतालमा उनले सक्दो काम गरिरहिन् । उनको खुट्टाले मात्र काम गर्दैन । हात राम्रोसंग चल्छन् । उनले हातले गर्ने काम सबै गरिरहिन् । तर अस्पतालका अघ्यक्षले उनलाई बारम्बार मानसिक रुपमा प्रताडित गर्न खोजे, एक्लै भेट्दा होस् वा बाटोमा देख्दा होस् “तिमी राजिनामा दिएर घर नबसेर के खान काम गर्न हिडेको, हामीलाई त ईनर्जेटिक मान्छे चाहिन्छ’ भनेर अपमान गर्न थाले। त्यतिखेर कविताको मन निकै रोयो ।

कविताले भनिन्, ‘हेर्नुहोस् केबी दाई तपाईले मलाई यसरी बारम्बार अपमान नगर्नुहोस् । म रहरले अपांग भएको हैन । म अस्पतालकै कारणले अपांग भएको हो । अहिले अपांगलाई आरक्षणको कुरा उठेको छ । मलाई मेरो अधिकार राम्रोसंग थाहा छ, अपांगलाई हुने संवैधानिक हक़ पनि थाहा छ । तपाईले यसरी बाटोबाटोमा राजिनामा मागेर म राजिनामा दिन्न । बरु मलाई अपांगमैत्री वातावरणको सिर्जना गर्नुहोस् ।”

तर अध्यक्ष केपी रानाले कविताको माग पुरा गर्नु त कता हो कता ? उल्टै धम्की दिने गर्न थाले । दुर्घटनामा परेर कविताको श्रीमान तीर्थराज श्रेष्ठ र नाबालक छोरा घाइते भए । उनीहरुले एक छोरा पनि गुमाए । दुर्घटनाको ४ महिनापछि आफ्नो उपचाक संकेत कविता जिल्ला फर्किएर अस्पतालमै काम गर्न फर्किन । किनकी यो उनको बाघ्यता पनि थियो । आफ्नो उपचारको निम्ति पनि उनलाई काम गर्नुथियो । हो, उनले अन्य व्यक्तिहरुले जसरी वा पहिलेको जस्तो फटाफट काम गर्न सक्ने स्थिति त थिएन। तर हातले गर्नसक्ने अन्य कैयो कामहरु भने गर्न सक्छिन् ।

पुस २४ गते अपांगमैत्री कामकाज गरिपाउँ भनेर कविताले अस्पतालमा कार्यालयलाई निवेदन दिईन् । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री, निर्देशकदेखि अन्य उच्च पदस्थमार्फत अस्पतालमा अपांगमैत्री वातावरण तयार गर्ने बचन पाइरहिन् । तर, २०७६ भाद्र २७ गतेदेखि अस्पताल समितिको बचन उल्टियो । उनलाई हाजिरी गर्न रोकियो । तिनै अध्यक्ष केबी रानाले कविताको हाजिर रोक्न लगाए ।

“मन्त्री सन्त्री को हो ? म चिन्दिन, म कसैलाई चिन्दिन तर म यो कवितालाई यो अस्पतालमा राख्न सक्दिन, त्यसको हात पनि चल्दैन, खुट्टा पनि चल्दैन, त्यस्ता ज्यूँदो लाश मलाई चाहिन्न” भन्दै अध्यक्ष राना उफ्रिए । यसरी अध्यक्ष नै कसैलाई नटेरी रन्किएपछि कविताको आफ्नो शारीरिक क्षमता अनुसारको सपना फेरि अपुरो नै भयो ।

धौलागिरी अञ्चल अस्पताल बागलुङका अध्यक्ष रानाको यस्तो अपमानजनक व्यबहारका बारेमा सार्वजनिक रुपमा टिकाटिप्पणी हुन थालेपछि गण्डकी प्रदेश सरकारले एउटा चिठी लेखेर अपांग स्वास्थ्यकर्मीको माग पूरा गर्न आदेश दियो । यसप्रकारको गण्डकी प्रदेश सरकारले चिठी पठाएपछि अस्पतालले छलफलका लागि हाँजिर हुन कवितालाई चिठी लेखे । उनी गए।

अस्पतालले हाजिर हुन पठाएको पत्र

छलफलका क्रममा अञ्चल अस्पताल बागलुङका अध्यक्ष केबी रानाले भने, ‘ल भन कुरा माथि नै पुगेछ । तिम्रो माग के हो ?’ कविताले विगतमा जस्तै आफ्नो माग दोहोर्याइन, ‘हेर्नुहोस् म हातले राम्रोसंग काम गर्न सक्छु । जस्तो कि ह्वीलचियरको सहारामा पनि गर्न सकिने निःशुल्क औषधि वितरण, बिमा क्लेम, डट्सको औषधिहरु साथै बिरामी जाँच्ने काम पनि गर्न सक्छु । अपांग हुँदैमा काम गर्न नै नसक्ने भन्ने हैन । मसंग हिम्मत छ। म काम गर्छु । तपाईले राजिनामा दे, घरै बस, तेरो हातखुट्टा चल्दैन भनेर अपमान नगर्नुहोस्, मेरो हात राम्रोसंग चल्छ।’

कविताको कुरा सकिन नपाउँदै, एकाएक राना जंगिए, ‘तिमीले भनेर हुन्छ ? तिमीले मागेर हुन्छ ? तिम्रो ईच्छाले हुन्छ ? तिमी जे गर्न सक्छौ गर अदालत जाने भए पनि जाउ तर म तिमीलाई एक राख्दिन, दुई राख्दिन।’

केबी रानाको यस्तो आक्रोशको जवाफ र व्यवहार देखेपछि कविता शाक्यले मसिनो स्वरमा भनिन्, ‘म सरकारी कर्मचारी हो, तपाई अध्यक्ष हो । मेरो हाकिम तपाई हैन । तपाई यस्तो नभन्नुहोस् । गण्डकी सरकारले पनि मलाई व्यवस्थापन गर्न भनेर चिठी पठाएको छ। तपाईले चिठीको अपमान गर्न पाउनुहुन्न ।”

कविताको कुरा के सकिएको थियो, केबी राना फेरि जंगिए, ‘को हो त्यो मुख्यमन्त्री ? म मुख्यमन्त्री सुख्यमन्त्री चिन्दिन।’ अब त उनी तँ तँ र म म भन्दै तल्लो स्तरमा मै उत्रिए ।

त्यसपछि कविता ह्वविलचियर गुडाउँदै अस्पतालबाट निस्किइन् ।

केबी रानाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई आमा चकारेर गाली गर्दै अस्पताल परिसरमा यताउता गर्दै डुलिरहे ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २५ गते, बिहीबार

menu LIVE TV