नेपाल र चीन मामिलामा भारतीय रक्षामन्त्रीद्वारा तीनवटै सेना प्रमुखसँग छलफल


SHARES

एजेन्सी । पछिल्ला दिनमा चीन र नेपालसँग सुरु भएको विवादका विषयमा भारतीय रक्षामन्त्री राजनाथ सिंहले आज तीनवटै सेनाका प्रमुखसँग विशेष बैठक गरेका छन् । चिफ अफ डिफेन्स स्टाफ बिपिन रावतसहित भारतका तीनवटै सेनाका प्रमुखसँग रक्षामन्त्री सिंहले विशेष बैठक गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय समाचार संस्था आजतकले चीन र नेपालसँगको विवादकाबीच भएको आजको विशेष बैठकमा अतिक्रमित क्षेत्रमा बनाएको सडक निर्माण जारी राख्ने निर्णय भएको जनाएको छ ।

झण्डै एक घन्टासम्म चलेको बैठकमा नेपाल र चीनसँग पछिल्ला दिनमा देखिएको विवादका विषयमा छलफल भएको छ । नेपाली भूमि अतिक्रमण गरेर भारतीय सेनाले सडक बनाएपछि नेपालले आपत्ति जनाएको थियो । तर भारतले उक्त भूमि आफ्नो भएको दावी गरेको छ ।

नेपालको भूमिमा बनाएको सडक केहीदिन अघि सिंहले नै उद्घाटन गरेका थिए । भारतीय सेनाले उक्त सडक बनाइरहेको छ । नेपाली भूमि अतिक्रमण गरेर सडक नै उद्घाटन गरेपछि नेपालले त्यसको जवाफमा नेपालस्थित भारतीय राजदूतलाई बोलाएर कुटनीतिक नोट दिएको थियो । लगत्तै भारतले अतिक्रमण गरेको क्षेत्र समावेश गरेर नेपालले नयाँ नक्सा जारी गरेको छ ।

नेपालसँगको विवाद चल्दै गर्दा पछिल्लो समय चिनियाँ जनमुक्ति सेना र भारतीय सेनाबीच लद्दाख लगायत विभिन्न ठाउँमा झडप हुन थालेको छ । आजको बैठकले कुटनीतिक तवरबाट चीनसँगको जारी विवाद हल गर्ने निष्कर्ष निकालेको आजतकले जनाएको छ ।

लद्दाख क्षेत्रमा चीनले झण्डै ५ हजारको हाराहारीमा जनमुक्ति सेना खटाएको छ । भारतले पनि हजारौँ सैनिकलाई लद्दाखमा केन्द्रित गरेको छ ।

सिक्किमको नाकू ला, लद्दाख र उत्तराखण्डमा भारत र चीनबीच तनावपूर्ण स्थिति बनेको छ । वास्तविक नियन्त्रण रेखा एलएसीमा टकरावको स्थिति उत्पन्न भएको छ । आजमात्रै चिनियाँ सेनाले भारतीय सेनामाथि ढुंगामुढा बर्साएको भारतले आरोप लगाएको छ ।

केहीदिन अगाडि चिनियाँ जनमुक्ति सेनाले भारतीय सुरक्षा फौजको एक टोलीलाई नियन्त्रणमा लिएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो एक महिनामा दुवै पक्षबीचमा ५/६ पटक सामान्य खालका झडपसमेत भइसकेको छ ।

यसैबीच काँग्रेस नेता राहुल गान्धीले नेपाल चीन बोर्डरमामा भइरहेका गतिविधिका विषयमा सरकारसँग जवाफ माग गरेका छन् । उनले सत्यता सम्पूर्ण भारतीय समक्ष राख्न माग गरेका छन् ।

 यो पनि हेर्नुस्  

'नेपालसँग के भइरहेको छ ? सरकारले सत्य जवाफ दिनुपर्छ' : राहुल गान्धी

चीनविरुद्धको कारबाहीका बारेमा मोदीले गरे छलफल : तीनवटै सेनाले बुझाए सुझाव

चिनियाँ जनमुक्ति सेनालाई राष्ट्रपति सीको आदेश : 'जुनसुकै अवस्थाको युद्धका लागि तयारी गर्नु'

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २५ गते, बिहीबार

menu LIVE TV