प्रहरीको सडकमै बास !


SHARES

डोटी । कोरोना नियन्त्रण तथा रोकथाममा खटिएका डोटीका प्रहरीको पछिल्लो समय सडकमै बास हुन थालेको छ । भारतबाट दैनिक सयौँ नागरिक जिल्ला प्रवेश गर्न थालेपछि उनीहरुको सुरक्षा तथा सम्बन्धित पालिकामा पठाउनका लागि खटिएका इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रमेश शाहीसहित अन्य ड्युटीमा खटिने प्रहरी खुला सडकमै रात बिताउने गरेका छन् ।

लकडाउनमा अग्रमोर्चामा खटिएका यहाँका प्रहरीको दैनिक सडकको भुइँमै बास हुन थालेको दिपायल पिपल्लाका स्थानीय बमबहादुर बोहराले जानकारी दिए । उनले भने, “भारतबाट नेपाल आएका नागरिक राति बसमा आउने भएकाले उनीहरुको सुरक्षाका लागि खटिएका प्रहरी राति भुइँमा सुतेका हुन्छन्, भुइँमा ओछ्याउने कपडा पनि नहुँदा खाली जमिनमा सुत्दै आएका देखिन्छन् ।”

भारतबाट आएका नागरिकको व्यवस्थापनका लागि ड्युटीमा खटिएका यहाँका प्रहरी कर्मचारीले आफ्नो व्यारेकमा गएर खानासमेत पाएका छैनन् । नागरिकको व्यवस्थापन गर्न समयमा व्यारेकमा खाना खान जाने फुर्सदसमेत नहुने गरेको इलाका प्रहरी कार्यालयका प्रमुख रमेश शाहीले बताए । उनले भने, “ब्यारेक गएर खाना खान मात्रै होइन, रातभरि सडकमै सुतेर बिहान मुखसमेत धुन नपाएको घेरै दिन भइसक्यो, नागरिकको सुरक्षा गर्दागर्दै रात दिन बितेको पत्तो हुँदैन ।” यतिमात्र नभइ भारतबाट आएकाहरुबाट कोरोनाको जोखिम बढेको भन्दै यहाँका स्थानीवासीले गाडीसमेत रोक्ने तथा आफ्नो छिमेकमा रहेका क्वारेन्टिनमा लैजान अवरोध गर्ने गरेका कारण प्रहरीलाई झन् समस्या हुँदै आएको प्रमुख शाहीले गुनासो गरे ।

जिल्लामा दरबन्दीअनुसारका प्रहरी कर्मचारी नभएका कारण नागरिकको सुरक्षामा खटिने प्रहरी कर्मचारीलाई समस्या हुँदै आएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कर्ण बोहराले बताए । उनले भने, “जिल्लामा प्रहरी सङ्ख्या दरबन्दीअनुसार छैन, एक प्रहरीले कम्तीमा पनि १२ घण्टा ड्युटी गर्नुपर्ने अवस्था छ ।”

जिल्लामा भएका दरबन्दी अनुसारका प्रहरी कर्मचारी कोही काजमा त कोही भिआइपीको सुरक्षामा पहिलेदेखि खटिएका र फिर्ता नभएका कारण समस्या हुँदै आएको उनको भनाइ छ । जिल्ला प्रहरी कार्यालयमा कूल ४ सय २६ प्रहरी कर्मचारीको दरबन्दी भए पनि हाल २ सय २६ मात्रै कार्यरत रहेको बताइएको छ । कार्यरत रहेका मध्येबाट पनि अहिले केही प्रहरीलाई क्वारेन्टिनमा खटाइएका कारण समस्या भएको हो । जिल्लामा दरबन्दी भएका प्रहरी कर्मचारीलाई तत्काल र्फिता गर्न सम्बन्धित निकायमा पटक–पटक ताकेता गर्दा पनि अहिलेसम्म फिर्ता नगरिएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी बोहराले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसएपी) मुकेशकुमार सिंहले डोटीमा प्रहरी अभावमा सडकमै बास भइरहेको अवस्था खासै नभएको बताए। उनले भने, “सडकमै सधैँ प्रहरीको बास भएको भन्नचाहिँ मिल्दैन, कहीँकतै केही परिस्थितिले बास बसेका वा सुतेका हुनसक्छन्, देशभरिमै प्रहरी सङ्ख्या कमी छ, त्यहीअनुरुप जिल्लामा पनि कमी भएको साँच्चै हो, डोटीमा समस्या समाधानका लागि प्रदेश प्रहरीले थप १४ प्रहरी पठाएको छ अन्य ठाउँमा पनि प्रहरीको व्यवस्था मिलाउँदै छ ।”

जिल्लामा कम्तीमा पनि दई हजार ८ सय ७९ को सङ्ख्यामा नागरिक आएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । भारतबाट आएका नागरिकलाई दिपायल सिलगढी नगरपालिका–२ मा रहेको दिल्पेश्वर मावि, वडा नम्बर १ को मगलेक मावि तिखा, केआइसिंह गाउँपालिको झिमेमालिका मावि वायल, सरस्वती मावि रानागाउँ, शिखर नगरपालिका–१० बानीडुग्रीसैन, बोगटान फुड्सिल गाउँपालिकाको खत्याडी, चवराचौतारा, पूर्वीचौकी गाउँपालिकाको साजघाट, जोरायल गाउँपालिकाको घण्टेश्वर मावि, बडीकेदारको बिपीनगरलगायतका ठाउँमा निर्माण गरिएका क्वारेन्टिनमा राखिएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २० गते, शनिबार

menu LIVE TV