प्रतिनिधिसभाको शून्य समय, कसले के भने ?


SHARES

काठमाडौं । सांसदहरुले स्थानीय तहमा स्थापना भएका क्वारेन्टाइनहरुको व्यवस्थापनका लागि संघीय सरकारले आर्थिक सहायता गर्नुपर्ने माग गरेका छन् ।

स्थानीय तहमा निर्माण भएका क्वारेन्टाइनहरु व्यवस्थित नहुँदा आत्महत्याका घटनाहरु बढिरहेको उल्लेख गर्दै सांसदहरुले थप बजेटको व्यवस्था गर्न माग गरेका हुन् ।

आइतबारको प्रतिनिधिसभाको शून्य समयमा बोल्ने सांसदहरुले रुकुम पश्चिम घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न पनि माग गरेका छन् । बैठकमा सांसदहरुले खेती लगाउने समयमा किसानलाई बिउ, मल र औषधिको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

सांसद लालबाबु पण्डितले कोरोनाबाट ज्यान गुमाउने भन्दा दशौं गुणा बढी आत्महत्या गर्नेको संख्या रहेकाप्रति सरकारको ध्यानाकर्षण गराए । स्थानीय तहहरुमा भएका क्वारेन्टाइनहरुको व्यवस्थापनका लागि संघीय सरकारले थप आर्थिक सहयोग गर्नुपर्ने उनको माग छ ।

सांसद शशी श्रेष्ठले लकडाउनका कारण जनजीवन कष्टकर बनेको तर्फ सरकारको ध्यानाकर्षण गराइन् । कोरोना संक्रमणको जोखिमलाई विश्लेषण गरी लकडाउनको मोडालिटी परिवर्तन गर्नुपर्न उनको माग छ । स्थानीय रुपमा मापदण्डअनुसार निश्चित दूरीलाई कायम गरी आवतजावतलाई खुकुलो बनाई दैनिक जीवन सहज र व्यवस्थित बनाउन सांसद श्रेष्ठले आग्रह गरिन् ।

सांसद विनाकुमारी श्रेष्ठले राष्ट्रियताको सवालमा पक्ष विपक्ष हुँदैन भन्ने कुरा पुष्टि गर्दै संविधान संशोधनको पक्षमा कांग्रेसले गरेको निर्णयको स्वागत गरिन् ।

सांसद विरोध खतिवडाले सीमा समस्याको सवालमा राष्ट्रिय एकता प्रदर्शन भएकोमा खुसी व्यक्त गरे । भारतले उक्त सडकमा सवारी सञ्चालनको तयारी गरिरहेको उल्लेख गर्दै उनले यातायात चले होटेल, रेस्टुरेन्ट, रिसोर्ट र लजहरु खुल्ने भन्दै पहिलो चरणमा नै रोक्ने पहल गर्न सरकारसँग माग गरे । सांसद खतिवडाले भारतीय सरकारको रोड परमिट लिएर यातायात चल्न दिन नहुने विषयमा सरकारको ध्यानाकर्षण गराए ।

सांसद विनाकुमारी श्रेष्ठले रुकुम पश्चिम, रुपन्देहीलगायत नेपालका विभिन्न ठाउँमा घटेका घटनाहरु दलितविरुद्ध मात्रै नभई मानवताविरुद्धको अपराध भएको भन्दै दोषीलाई कारवाही गर्न माग गरिन् ।

सांसद शान्तिमाया तामाङ पाख्रिनले जातीयताका कारण रुकुममा घटेको घटना अत्यन्तै अमानवीय रहेको बताउँदै दोषीमाथि कारवाही गर्न आग्रह गरिन् ।

यस्तै, सांसद शान्ता चौधरीले रुकुमको घटना कहाली लाग्दो र दर्दानाक भएको बताइन् । प्रेम गर्नु र त्यसलाई विवाहमा परिणत गर्नु अपराध नभएको उल्लेख गर्दै प्रेममा जातको प्रश्न नउठ्ने समेत उनले बताइन् ।

सांसद सत्यनारायण शर्मा खनालले कोरोनाले पुरै विश्वलाई ढाकिसक्दा पनि नेपालमा आवश्यक स्वास्थ्य सामग्रीहरुको व्यवस्था हुन नसकेको बताए । हजारौं भोका नेपालीहरुको हुल सीमामा आइपुगे पनि सरकार आत्तिएर उनीहरुको चेकजाँच नै नगरी गाउँ भित्र्याइरहेको उनको भनाइ छ ।

सांसद विद्या भट्टराईले लकडाउनको अवधिमा ५६ जना सुत्केरीको मृत्यु भएको र ६० हजारभन्दा बढी गर्भवती स्वास्थ्य सेवाबाट बञ्चित भएको तर्फ सरकारको ध्यानाकर्षण गराइन् । असुरक्षित गर्भपतनका कारण रक्तश्राब भई महिलाहरुको मृत्यु भइरहेको उल्लेख गर्दै उनले आधारभूत स्वास्थ्य सेवा र प्रजनन स्वाथ्य सेवालाई मौलिक हकको रुपमा स्वीकार गर्दै असहज अवस्थामा पनि सेवा प्रदान गर्न सरकारको ध्यानकाकर्षण गराइन् ।

सांसद विन्दा पाण्डेले लकडाउन सुरु भएपछि अस्पतालमा सुत्केरी हुनेको संख्या १० प्रतिशतभन्दा कम भएको बताइन् । बालिकाहरुमाथिको हिंसा बढेको उल्लेख गर्दै उनले चैतमा महिनासम्म ५३ जना सुत्केरीको मृत्यु भएको बताइन् । महिलाहरुले क्वारेन्टाइनमै बच्चा जन्माउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले लैंगिङ हिंसा डरलाग्दो गरी बढेको बताइन् ।


SHARES


mode_editप्रतिक्रिया

यो पनि पढौँ



menu LIVE TV

२०७७ साल असार २० गते, शनिबार

menu LIVE TV