भेन्टिलेटर विदेशमा अड्किएपछि अभाव


SHARES

काठमाडौं । कोरोना भाइरसको संक्रमित बिरामीका लागि ल्याउन लागिएको भेन्टिलेटर विदेशमा अड्किएपछि यहाँ अभाव भएको छ ।
नेपाल ल्याउन लागिएको भेन्टिलेटर अमेरिका, जापान र जर्मनीमा अड्किएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । संक्रमितको संख्या बढ्दा उनीहरूलाई राख्ने अस्पतालको आइसोलेसन र भेन्टिलेटरको अभाव खड्किएको छ ।

जिल्ला अस्पतालमा बाजुरामा भेन्टिलेटर अभावमा आइतबार दुई वर्षीया बालिकाको आइसोलेसनमै मृत्यु भएको थियो । मुलुकमा कोरोना भाइरस संक्रमित केस भेटिएको चार महिना बितिसक्दा पनि आइसोलेसन र भेन्टिलेटरको जोहो गर्न मन्त्रालय असफल भएको छ ।

मन्त्रालय स्रोतका अनुसार अहिले मुलुकभर कोरोना भाइरस संक्रमित बिरामीका लागि छुट्ट्याएको आइसोलेसनको बेड संख्या १ हजार ६ सय २४ छ। आईसीयू बेड संख्या ३ सय ९६ मात्र छ । आईसीयू र आइसोलेसन बेडको अभाव हुने देखिएपछि लक्षण नदेखिएका संक्रमितलाई होम क्वारेन्टाइनमा राख्ने योजना सरकारले लिएको छ ।

सरकारले ५ हजार संक्रमित हुने अनुमान गर्दै आवश्यक सामग्री जोहो गर्ने तयारी गरे पनि अपुग हुने देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का निर्देशक डा‍‍. वासुदेव पाण्डेका अनुसार संक्रमितको संख्या ५ हजारभन्दा बढी हुने निश्चित छ । डा. पाण्डेले भने, .‘भारतबाट संक्रमित भएर नेपाल आउने क्रमले समस्या बढेको छ । बाटोमा पनि सुरक्षित यात्रा गरेको पाइएन । असुरक्षित यात्रा गर्दै निर्वाध स्वदेश फर्कने क्रम बढेकाले संक्रमितको संख्या बढ्दै गएको छ ।’ संक्रमितमध्ये अधिकांश २१ देखि ३१ वर्ष उमेर समूहका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मुलुकमा पहिलो संक्रमित केस माघ ९ गते देखा परेको थियो । पहिलो संक्रमित केस भेटिएको ४ महिना बितिसक्दा पनि आइसोलेसन बेड र भेन्टिलेटरको व्यवस्था हुन सकेको छैन । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले भेन्टिलेटर तथा अन्य आवश्यक सामग्री खरिद गर्ने क्रम अघि बढाइएको बताए । उक्त समाचार आजको अन्नपूर्ण पोष्टमा छापिएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २९ गते, सोमबार

menu LIVE TV