कोरोनाविरुद्ध सेना परिचालनः ‘यही हुन सेनाले गर्ने मुख्य काम’


SHARES

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) नियन्त्रणको लागि नेपाली सेना परिचालन हुने भएको छ । प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सोमबार बिहान राष्ट्रपति कार्यालय शीतल निवास पुगेर कोभिड–१९ नियन्त्रणका निम्ति सेना परिचालन गर्ने सरकारको निर्णय अवगत गराएका थिए ।

प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँगको भेटमा पछिल्लो राजनीतिक गतिविधि, सरकार सञ्चालन र कोभिड–१९ को कारण देखा परेको असहज अवस्थाबारे जानकारी दिएका हुन्। ‘उहाँहरूबीच सरकार सञ्‍चालन, समसामयिक विषयवस्तु र घटनाक्रमबारे छलफल भएको हो । सरकार सञ्चालन र पछिल्लो अवस्थाबारे प्रधानमन्त्रीले रिपोर्टिङ गर्नुभएको हो,’ राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले भने, ‘यो नियमित ब्रिफिङ र भेटघाटको सिलसिला हो । सञ्चार माध्यममा सेना परिचालन र अन्य विषयमा जानकारी दिन प्रधानमन्त्री आउनुभएको भनिए पनि त्यसप्रकारको छलफल भएको जानकारी छैन ।’

विपद्मा मन्त्रिपरिषद्ले सेना परिचालन गर्न सक्ने संवैधानिक व्यवस्था छ र त्यहीअनुसार सेनाकै छाउनीमा कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) पनि स्थापना भएको हो । विदेशबाट फर्कने र प्रभावित क्षेत्रमा सेना परिचालन गर्ने सरकारले जनाइसकेको छ । यो विषय मन्त्रिपरिषद्बाट शनिबार सीसीएमसीले तयार गरेको कार्ययोजना पनि पारित भइसकेको छ ।

जेठ १७ को मन्त्रिपरिषद् बैठकले विदेशबाट आएकालाई र जोखिम बढेको ठाउँमा सेना परिचालन गर्ने निर्णय गरेको थियो । संविधानको (सेना परिचालनसम्बन्धी भाग २८) धारा २६७ (४) मा नेपाल सरकारले सेनालाई संघीय कानुनबमोजिम विकास निर्माण र विपद् व्यवस्थापनलगायत अन्य कार्यमा समेत परिचालन गर्न सकिने व्यवस्था छ । व्यवस्थाअनुरूप सामान्य जानकारीबाहेक अनुमोदन राष्ट्रपतिबाट गर्नुपर्ने देखिन्न । अन्य परिस्थितिमा २६७ (६) अनुरुपको अवस्थामा मात्र सेना परिचालनको स्वीकृत प्रक्रियागत छ ।

सेनाले के–के गर्छ ?

– नेपाल–भारत सीमाका प्रवेश विन्दु व्यवस्थापनमा गृह मन्त्रालयले मुख्य जिम्मेवारी लिए पनि सहयोगीको भूमिका निर्वाह गर्ने।

– नेपाल–भारत सीमाका प्रवेश विन्दुमा नेपाली नागरिक आएपछि होल्डिङ सेन्टरमा ठेगानासहितको व्यक्तिगत विवरण तयार गर्ने काममा गृह र स्थानीय तह जिम्मेवार भए पनि त्यसमा पनि सेनाले सहयोग गर्ने।

– प्रवेश नाका र विमानस्थलमा आउनेलाई होल्डिङ सेन्टरमा पुर्‍याई सेन्टरबाट होटल क्वारेन्टाइन वा स्थानीय तहले व्यवस्थापन गरेको क्वारेन्टाइनमा पुर्‍याउन आवश्यक यातायात साधनको व्यवस्थापनमा यातायात व्यवस्थापन विभाग, ट्राफ्रिक प्रहरी महाशाखाको सहयोगमा मुख्य जिम्मेवारी सेनाले लिने।

– भारतबाट आउनेलाई होल्डिङ सेन्टर र तेस्रो देशबाट आउनेलाई विमानस्थलमा स्वास्थ्य स्वघोषणा फारम भर्न लगाउने र ज्वरो मापनलगायत स्वास्थ्य जाँच गर्ने काममा पनि सहयोगी भूमिकामा खटिने।

– सीमानाकामा रहेका होल्डिङ सेन्टरको व्यवस्थापन गर्न स्थानीय तहको सहयोगमा मुख्य जिम्मेवारी सेनाले लिने।

– काठमाडौंमा रहेको होल्डिङ सेन्टरको व्यवस्थापन सेनाले गर्ने।

– क्वारेन्टाइनको सुरक्षा, रेखदेख, निगरानी र अभिलेख व्यवस्थापन गृह मन्त्रालयअन्तर्गतको प्रहरी सशस्त्र र स्थानीय तहको पनि साथ लिएर सेनाले मुख्य जिम्मेवारी लिने।

– भारत तथा अन्य मुलुकबाट नेपाल प्रवेश गरेकाहरूलाई जिल्ला सदरमुकाम हँुदै सम्बन्धित तहको क्वारेन्टाइनसम्म पुर्‍याउने काममा पनि सेनाले प्रदेश सरकारले तोकेका मन्त्री, स्थानीय प्रशासनहरूको सहयोगमा काम गर्ने।

– समग्र कार्यको सञ्चालन अनुगमन, नियन्त्रण र निर्देशनमा पनि सेना परिचालन हुने । उक्त समाचार आजको अन्नपूर्ण पोष्टमा छापिएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २९ गते, सोमबार

menu LIVE TV