करोडपति मालपोत अधिकृतको सम्पति जेठानको नाममा


SHARES

काठमाडौं । एक करोडपति मालपोत अधिकृतको सम्पति नातामा जेठानको नाममा समेत रहेको रहस्य खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धन आयोगले मालपोत कार्यालय ललितपुरका शाखा अधिकृत बद्रीराज ढकाललाई सवा १० करोड अकूत सम्पत्ति आर्जनमा मुद्दा दायर गरेपछि यस्तो रहस्य खुलेको हो ।

आयोगले उनीकी श्रीमती सिर्जना अर्याल र जेठान नाताका नवराज अर्यालसमेतलाई प्रतिवादी बनाएको छ । ढकालविरुद्ध ८ वर्षदेखि १० वर्षसम्मको कैद सजायको माग गरी विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

ढकालले १४ करोड ५३ लाख ८२ हजार रुपैयाँ कमाएको अख्तियारको दाबी छ । २०५४ माघ १४ मा अस्थायी शिक्षकबाट सार्वजनिक सेवामा प्रवेश गरेका थिए । मालपोत कार्यालय लमजुङ्गबाट २०५५ असोजमा १६ मा खरिदारमा स्थायी नियुक्ती प्राप्त गरी निजामती सेवामा प्रवेश पाएका थिए ।

नासु हुँदै हाल शाखा अधिकृतको पदमा बढुवा भएका हुन् । उनी निजामती सेवामा प्रवेशपश्चात् मालपोत कार्यालय तनहुँ, कास्की, डिल्लीबजार काठमाडौं, पर्सा हुँदै हाल मालपोत लगनखेल, ललितपुरमा कार्यरत छन् ।

अवैधरुपमा कमाएको सम्पत्तिबाट उनले सालीलाई गाडी किनिदिएका छन् । जेठान नवराज अर्यालका नाममा जनता बैंकमा नयाँ खाता खोली ढकालले अवैध कारोबार सञ्चालन गरेको पाइएको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार अवैध आर्थिक कारोबार लुकाउन हाल अष्ट्रेलियामा रहेका जेठान अर्यालको खातामा पैसा राखैकै दिन आफू अनुकुलका व्यक्ति एवं आफूसमेतले विभिन्न व्यक्तिका नाम पैसा जम्मा गराएका थिए ।

जेठानको खातामा पैसा जम्मा गरेर आफूले खरिद गरेको जग्गाका जग्गाधनी तथा जग्गा विक्रेता र जग्गा कारोबारसँग सम्बन्धित व्यक्तिलाई भुक्तानी तथा लगानी गर्ने कार्यमा ४ करोड २६ लाख ९९ हजार खर्च गरेको देखिएको छ । ढकालले आफू तनहुँ मालपोतमा कार्यरत रहँदा जिल्लाबासी डेकबहादुर गुरुङ्गलाई प्रभावमा पारी जग्गा हडपेको अनुसन्धानमा खुलेको छ । गुरुङ र उनकी श्रीमतीसमेतका नाममा दर्ता रहेका जग्गा कुनै किसिमको खरिद बिक्री कारोवार नै नगरी लिखतमा सरकारी न्युनतम मूल्य उल्लेख गरी खरिद बिक्री कारोवार देखाइ आफ्नो नाममा ल्याएका थिए ।

ढकालले पुनः जग्गा फिर्ता गर्दा लिखतमा अत्याधिक मूल्य खुलाई त्यो जग्गा गुरुङ्ग, उनीको श्रीमती, गुरुङ्गका दिदी–भिनाजु र बहिनी समेतका नाममा बिक्री लिखतले स्वामित्व हस्तान्तरण गरी हुँदै नभएको खरिद बिक्री कारोवारमा १ लाख ९७ हजारबाट केही दिन र महिनाको अन्तरालमै १ करोड ६८ लाख आर्जन गरेको देखाई बदनियत तवरले आयस्रोत बढाउने काम गरेकोसमेत अनुसन्धानको क्रममा खुल्न आएको छ । (अन्नपूर्णपोष्ट)

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २९ गते, सोमबार

menu LIVE TV