नेकपा अध्यक्षद्वय ओली-प्रचण्डबीच भेटवार्ता : एजेण्डामा सहमति होला ?



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच बालुवाटारमा भेटवार्ता सुरु भएको छ । अध्यक्षद्वयबीचको भेटवार्तामा आजै ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको स्थायी कमिटी बैठकका एजेण्डामा छलफल हुनेछ ।

अध्यक्षद्वयबीचको भेटवार्तामा महासचिव विष्णु पौडेल पनि सहभागी भएका छन् । अध्यक्षद्वयबीचको छलफलपछि मात्र स्थायी कमिटी बैठक बस्ने एक सचिवालय सदस्यले बताएका छन् । सहमति नभएपछि अध्यक्षद्वयले लिखित राजनीतिक प्रतिवेदन पेश नगर्ने भएका छन् ।

अध्यक्षद्वयले मौखिक सम्बोधनबाट बैठकको सुरुवात गर्ने र एजेण्डा तय भएमा त्यसैमा केन्द्रित हुने तयारी छ । वैशाख २५ र ३१ गते बोलाएर पनि अन्तिम समयमा स्थगित भएकाले आजको बैठक सुरु नहुनेसमयसम्म अन्यौल नै रहेको एक स्थायी कमिटी सदस्यले बताए ।

प्रधानमन्त्रीसमेत रहेका ओलीले कोरोनाविरुद्धको अभियानमै बैठक केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन् भने पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले समग्र विषयबस्तुमा छलफल हुनुपर्नेमा जोड दिएका छन् ।

आफूले सफल तरिकाले सरकारको नेतृत्व गरे पनि पार्टी भित्रैबाट घेराबन्दीमा पारिएको ओलीको बुझाइ छ । त्यसैले ओलीले पार्टीका सबै तहका बैठक छल्न खोजेका उनी निकट एक स्थायी कमिटी सदस्यले बताएका छन् । उनी भन्छन्, 'उहाँलाई राम्रोसँग काम गर्न नदिने अवस्था आयो । पार्टी एकतागर्दा बहुमत अल्पमत भन्ने थिएन । अहिले बहुमत अल्पमतका नाममा सबै तहमा समस्या निम्ताइएको छ ।'

तर, ओलीसँग असन्तुष्ट एक सचिवालय सदस्य भन्छन्, 'पार्टी, विधि, प्रक्रिया भन्दा उहाँले एकदुई जनाको सुझावमा मात्र सरकार सञ्चालन गर्नुभएको छ । तपाईँले सरकारका राजनीतिक नियुक्ती मात्रै हेर्दा पुग्छ । पार्टी नेतालाई गाली गर्नेलाई उहाँले प्रोत्साहन गरेर के गर्न खोज्नु भएको होला रु उहाँले पार्टी एकता चाहनुभएको छैन । अहिले आत्मघाती एमसिसी पारित गर्न उहाँले जोड बल गरिरहनु भएको छ । उहाँका सल्लाहकारहरुको व्यवहार राजाको जस्तो र बालुवाटार बाहिरका नेता तथा कार्यकर्ता दासको जस्तो छ ।'

यो पनि हेर्नुस्

नेकपा स्थायी कमिटी बैठक आज : महामारीकै समयमा नेताहरुलाई राष्ट्रपतिको भोज !

नेकपा विवाद उत्कर्षमा : स्थायी कमिटी बैठक एजेण्डाबिहीन, यस्तो छ दुवै पक्षको तयारी

 
 




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन २ गते, शुक्रबार

menu LIVE TV