कारागारमा फोहरको डुङ्गुर, कैदीबन्दीको बिचल्ली


SHARES

  • गोपालप्रसाद बराल

महोत्तरी । महोत्तरी कारागारका कैदीबन्दी (थुनुवा)को बिचल्ली भएको छ । ढल निकासको समुचित प्रबन्ध नहुँदा महोत्तरी कारागार परिसरमा फोहर थुप्रिएर बस्ने, खाने, सुत्ने ठाउँ नपाएपछि कैदीबन्दीको बिचल्ली भएको हो । कारागारको कैदी कक्ष, प्रशासन कक्ष र सुरक्षा कक्षसहितका ठाउँ अहिले फोहर थुप्रिएर दुर्गन्धित बनेपछि खाने, बस्ने र सुत्ने ठाउँ नपाएर बिजोग खेप्नुपरेको कैदीबन्दीको गुनासो छ ।

जलेश्वर नगरको गहिरो ठाउँमा अवस्थित कारागारबाट फोहर बाहिर निस्कने ढल नबन्दा प्रत्येक वर्ष बर्खामा कैदीबन्दी (थुनुवा)को बिजोग हुने गरेको छ । खासमा कैदी–थुनुवा कक्ष गहिरिँदै जाँदा नगरभरिको फोहर यसै परिसरमा थुप्रिएर खाने, बस्ने र सुत्ने समस्या बढेको कारागारका चौकीदारसमेत रहेका पुराना कैदी रमेश सिंह बताउँछन् । कारागार परिसर दुर्गन्धित बन्दै जाँदा कैदीबन्दी बिरामी हुने क्रम बाक्लिएको छ ।

“साँघुरो कारागारमा दुवैतर्फ (पुरुष र महिलाका छुट्टाछुट्टै कक्ष) गरी ५ सय ५१ कैदी–थुनुवा छौँ”, चौकीदार सिंहले भने, “जताततै फोहर थुप्रिएर यसको निकास नहुँदा बस्न, खान, सुत्न राम्ररी पाएका छैनौँ ।” अहिले सघन वर्षा सुरु भएपछि जताततै फोहर हिलाम्य पानीमा तैरिरहेको अवस्थाले महामारी पर्नसक्ने डर बढेको कैदी–थुनुवा बताउँछन् ।

कारागार परिसरबाहिर अग्लाअग्ला संरचना (घर, सडक) बनिँदा बर्सेनि यो ठाउँ झनझन गहिरिँदै गएको छ । फोहर निकासका लागि स्थानीय प्रशासन (जिल्ला प्रशासन कार्यालय) र जलेश्वर नगरपालिकाको बराबर ध्यानाकर्षण गराइए पनि निकासको काम हुन नसकेको निमित्त कारागार प्रमुख (जेलर) मक्सुधन महासेठले बताए ।

जम्मा १ सय ३५ कैदी–थुनुवा राख्ने क्षमताको कारागारमा अहिले चौब्बरभन्दा बढी ५ सय ५१ जना छन् । साँघुरो ठाउँमा कैदी–थुनुवा थपिँदै जाँदा बसाइ व्यवस्थापन सधैँजसो अस्तव्यस्त हुने गरेको निमित्त कारागार प्रमुख महासेठको गुनासो छ । “हामी सम्बद्ध उपल्लो निकायमा ‘ठाउँ छैन, कारागार अस्तव्यस्त छ’ भन्ने गर्छौं”, महासेठले लाचारी व्यक्त गर्दै भने, “न्यायिक निकाय भने दिनहुँ कैदी र थुनुवा पठाउँछन्, हामी के गरौँ ?”

कारागारको पुरुष कक्षमा अहिले ५ सय १ र महिला कक्षमा पाँच आश्रित बालबालिका (आमासँगै आएका पाँच वर्षमुनिका बालबालिका) सहित ५० जनासमेत जम्मा ५ सय ५१ कैदी–थुनुवा रहेको कारागार प्रशासनले जनाएको छ । क्षमताभन्दा निकै बढी कैदी–थुनुवा राख्नुपर्दा औषधोपचार र अन्य व्यवस्थापकीय काममा निकै समस्या पर्ने गरेको निमित्त कारागार प्रमुख महासेठको भनाइ छ ।

छिमेकको धनुषा जिल्लामा कारागार नहुँदा महोत्तरी कारागारमा कैदी–थुनुवाको चाप बढेको हो । कारागारमा ६५ प्रतिशत धनुषाकै न्यायिक निकायले पठाएका कैदी–थुनुवा रहेका कारागारको अभिलेखले देखाएको छ । यसबाहेक न्यायिक निकायले मुद्दा छिन्न गर्ने ढिलाइले थुनुवाको चाप बढेको निमित्त कारागार प्रमुख महासेठ बताउनुहुन्छ । कारागारमा अहिले पनि ७० प्रतिशत त थुनुवा नै रहेका छन् । मुद्दा छिनिएर कैद तोकिएका कैदीको सङ्ख्या ३० प्रतिशतमात्र रहेको महासेठको भनाइ छ ।

विसं १९१३ मा तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले निर्माण गराएका यो कारागार भवनले त्यसयता राम्रो मर्मतसम्भार पाएको छैन । कैदी–थुनुवा कक्षका पर्खालका इँटा झर्ने र छत उप्किएर झर्ने गरेको कैदी–थुनुवा बताउँछन् । “हजुर, नापेको दुई हात जग्गामा बस्नु छ, जताततै हिलो पानी र फोहर थुप्रिएको छ”, कारागारको महिला कक्षकी एक थुनुवाले विरक्तिँदै भनिन्, “प्रत्येक दिनजसो पर्खाल र छत उप्किएर इँटा र सिमेन्टका टुक्रा झर्छन्, किचिएर मरिन्छ कि भन्ने त्रासमा बस्नुपरेको छ ।”

यसैबीच जिल्लाका सामाजिक संघसंस्था र मानवअधिकारवादी संघ सङ्गठनका प्रतिनिधिले कारागारको मर्मतसम्भार, ढल निकासको उचित व्यवस्थापन, छिटोछरितो न्याय सम्पादन र कैदी–थुनुवाका मानवोचित आवश्यकताको परिपूर्तिमा ध्यान दिन स्थानीय प्रशासन र कारागार प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

“कारागार यातनागृह नभइ सुधारगृह हुन्”, कारागारको नियमित निरीक्षण गर्दै आएका मानवअधिकारवादी संस्था इन्सेकका जिल्ला प्रतिनिधि अजय साहले भने, “सम्बद्ध सबै पक्षले समयोचित सुधारमा ध्यान दिनै पर्छ ।” भर्खरै कारागारको निरीक्षण अनुगमन गरेका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले कारागारको व्यवस्थापकीय सुधारका लागि विभिन्न निकायबीच समन्वय थालिएको बताए ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २४ गते, बुधबार

menu LIVE TV