टिकाराम राई : हक्की स्वभाव, निस्पापी मन


SHARES

  • राजकुमार दिक्पाल

कहिलेकाहिँ गोरखापत्र संस्थानका प्रकाशनहरुमा लेख रचनाहरु छापिन्थे । उत्साहसाथ लेखको पारिश्रमिक बुझ्न गइन्थ्यो । उत्साह बोकेर पुगिन्थ्यो तर कार्यालयभित्र पस्दा नाक थुनेर पस्नुपथ्र्यो, पारिश्रमिक बुझी फर्कदा टाउको दुखिरहेको हुन्थ्यो । टाउको दुख्नुको कारण थियो, त्यहाँका कर्मचारीहरुबाट भएको धुमपानबाट उत्पन्न दुर्गन्ध । कार्यालयभित्र बसेर धुमपान गर्ने कर्मचारीहरुबाट उत्पादन भएको कार्वनडाइअक्साइडले टाउको रन्थनाउँदै फर्कनु परेको बेला हाम्रो देशको एउटा गौरवमय सम्पदा गोरखापत्र संस्थानको हालत देखेर मन बेहालत हुन्थ्यो ।

पछि थाहा पाएँ, गोरखापत्र संस्थानको सुधारको अभियान सुरु भएको छ । सबैभन्दा पहिले कार्यालयभित्र धुमपान गर्न प्रतिवन्ध लगाइएको समाचार पढ्न पाउँदा मन आनन्दित भयो । संस्थानको कार्यालय भवनभित्र पस्नासाथ धुमपानको दुर्गन्धले नाक ठुग्ने परिस्थितिबाट मुक्ति पाउँदा धुमपान नगर्ने मजस्ता जसरी खुुुसी भए, उसरी नै धुमपान गर्नेहरु बेखुस भए होलान् भन्ने अनुमान काटेँ ।

मैले पाएको समाचार अनुसार संस्थानमा विज्ञ सल्लाहकारका रुपमा नियुक्त टिकाराम राई (जो आफै पनि धुमपान गर्दैनन्)ले गोरखापत्र संस्थानभित्र सबैभन्दा पहिले कार्यालयभित्र धुमपानलाई प्रतिवन्ध लगाए । अनुशासन तोडेर चुरोटको ठुटो जथाभावी फाल्ने र पान खाएर पिच्च–पिच्च जहाँतहीँ थुक्ने परम्परा नेपाली निजामति वा संस्थानका कर्मचारीहरुको अनुशासनहीनताको पारिचयक हो । त्यसैले टिकाराम राईले गोरखापत्र संस्थानलाई सबैभन्दा पहिले दुर्गन्धमुक्त गराए भन्ने सुन्न पाउँदा खुसी नहुने कुरै भएन ।

...

म आफू पत्रकारिताको सैद्धान्तिक ज्ञान हासिल नगरिकनै रहर वा समर्पणभावले पत्रकारितामा आएको मान्छे । आमसञ्चार तथा पत्रकारिताको स्नातकोत्तर तहको अध्ययनका क्रममा मैले गुरु श्रीरामसिंह बस्नेतबाट सार्क मिडिया अध्ययन गर्दा शतवार्षिकी मनाइसकेको ‘गोरखापत्र’ दक्षिण एसियाकै सञ्चार क्षेत्रको गौरवपूर्ण सम्पदा हो भन्ने सन्दर्भ पढ्न पाएको थिएँ । त्यसैले गोरखापत्रप्रति थप गौरव अनुभूत भयो, सैद्धान्तिक ज्ञानका आधारमा । तर आमसञ्चार तथा पत्रकारिता अध्ययनकै क्रममा पत्रकारिता जागिर होइन पेशा हो भन्ने अर्को ज्ञानका आधारमा मैले पत्रकारिता गर्दा कहिल्यै पनि जागिर खाने लक्ष्य लिइनँ । तर गोरखापत्र संस्थानभित्र लेखको पारिश्रमिक लिन यदाकदा जाने मौका पर्दा पत्रकारिता क्षेत्रमा लाग्दा सबैभन्दा बढी निदाउन पाउने ठाउँ चाहिँ गोरखापत्र नै हो भन्ने विश्वासबाट म आफू ढुक्क हुन्थेँ । कार्यालयभित्र पस्दा अनुभव गर्न सकिने दुर्गन्ध नै संस्थानभित्रको जागिरे प्रवृत्ति र अनुशासनहीनताको प्रमुख पारिचायक थियो ।

तर, टिकाराम राई त्यहाँको विज्ञ सल्लाहकार भएपछि यस्तो दुर्गन्धको अन्त्य भएको समाचार पढ्न वा सुन्न पाइयो, खुसी लाग्यो ।

गोरखापत्रजस्तो सम्पदा सुगन्धित हुनुपर्छ । गोरखापत्र चन्दनको बगैँचा हुनुपर्छ, जुन ठाउँमा घुमेर आउँदा आफ्नो शरीर पनि सुगन्धमय हुन पाओस् ।

...

म आफू पत्रकारितातर्फ आकर्षित हुँदै थिएँ । दरसन्तान वा वंशजमा कोही पनि पत्रकारितामा नलागेको मेरो लागि पत्रकारिताको यात्राको उत्प्रेरकका रुपमा धर्मराज पौड्याल (तत्कालिन जिविस, धनकुटाका सभापति) र लक्ष्मी निरौला (हालः नेपाल सरकारका सहसचिव) लाई पाएँ । त्यतिखेरै मैले ‘दृष्टि’ साप्ताहिकमा टिकाराम राईको बाइलाइन पढ्ने अवसर पाइसकेको थिएँ । उनको बाइलाइनमा खासगरी अपराध समाचार र मानवीय अभिरुचीका समाचारहरु छापिन्थे, जसलाई पाठकहरुले अभिरुचीपूर्वक पढ्ने गर्थे ।
पछि उनी ‘जनआस्था’ साप्ताहिकमा आवद्ध भए । खोजमूलक समाचारमा उनको दिलचस्पी प्रकट भएको थाहा पाउँथे, उनको बाइलाइनहरुबाट । म पनि त्यो बेला ‘जनआस्था’का लागि रिपोर्टिङ गर्थेँ, अति न्यून पारिश्रमिक लिएर । तर मनमा ठूलो उमङ्ग थियो ।

पछि उनी ‘जनमञ्च’ साप्ताहिकमा आवद्ध भए । मैले पनि यस साप्ताहिकमा ज्यालादारी समाचारदाताको रुपमा काम गरेँ, दुई वर्षजति ।

एक दिन ‘जनमञ्च’को त्रिपुरेश्वरस्थित कार्यालयमा टिकाराम राईसँग भेट भयो । अति ठाडो बोली । उनको बोलीबाट आदरार्थी सम्बोधन शब्दको सकभर उच्चारण नै नहुने । राई लिम्बु किरातीको यस्तै होला बोली भन्ठानेर पहिलो भेटमा चित्त बुझाएँ । तर उनी आफ्नो ब्यागमा ‘यो पनि पढ्नु पर्ने, त्यो पनि पढ्नु पर्ने’ भनेर खाँदाखाँद गरी मोटा–मोटा किताब घुसार्दै थिए । लाग्यो, ठाडो बोली भए पनि यी राई दाई पठनशील रहेछन् । लेखपढमा विश्वस्त रहेछन् ।

पछि जिवेन्द्र सिंखडाको सम्पादकीय नेतृत्वमा काम गर्दा उहाँले ब्यक्त गर्नुभएको एउटा भनाइ यहाँ स्मरण गर्न चाहन्छु । उहाँ भन्नुहुन्थ्यो, ‘टिकाराम राई जहिले पनि रमेश केसीको प्रशंसा गर्ने । किनभने रमेश जहिले पनि पढेको पढ्यै गर्ने । टिकाराम भन्थे, हामी पत्रकारले पनि रमेशले जस्तै पढ्नुपर्छ ।’

जिवेन्द्र दाईको यो कुराले मलाई २०५१ सालतिर टिकाराम राईलाई भेट्दाको सम्झना आयो । उनी पनि किताव अर्थात् ज्ञान भनेपछि मरिहत्ते गर्ने मान्छे हुन् । ज्ञान र व्यवहारले हो मानिसलाई विज्ञ बनाउने ।

हो, ज्ञान र सिद्धान्तमा विश्वास गर्ने मानिसले त्यसलाई ब्यवहारमा प्रयोग गरेको अवस्थामा त्यसको नतिजा उपयुक्त हुनेछ । टिकाराम राईसँग ज्ञान मात्रै छैन, त्यसको ब्यवहारिक अनुभव पनि छ । त्यसैले गोरखापत्रजस्तै दुर्गन्धमय भइसकेको संस्थानलाई सुधारेर त्यहाँ उनी सुगन्ध भर्न प्रयत्नशील छन् ।

...

टिकाराम राई अरु अखबारहरुको श्रमजिवी पत्रकार बनेर होइन, आफै एउटा प्रकाशन चलाएर नमूना बन्न चाहन्थे । उनले दुःखसुख आफै एउटा छापाखाना चलाए । ‘काठमाडौं टुडे’ पाक्षिक खबर पत्रिकाको प्रकाशन सुरु गरे । त्यस पत्रिकाको कन्ट्र«ीब्यूटर लेखकमध्ये राजेन्द्र दाहाल, तीर्थ कोइराला पनि थिए । एक दिन उनले मलाई धरानबाट एउटा रिपोर्टिङ गर्न लगाए । जनमुक्ति पार्टीसम्बन्धी रिपोर्टिङ थियो । त्यसवापत उनले मलाई एक हजार रुपैयाँ पारिश्रमिक दिए । सानो पारिश्रमिक थिएन त्यो, त्यतिबेला गोरखापत्र संस्थानका प्रकाशनहरुबाट एउटा लेखको तीन सय रुपैयाँ पारिश्रमिकमा चित्त बुझाउनु पथ्र्यो ।

नेपालका मूलधारका राष्ट्रिय दैनिकका प्रधानसम्पादकहरुमध्ये राजन शर्माले टिकाराम राईकै ‘काठमाडौं टुडे’बाट पत्रकारिता सुरु गरेका हुन् । सुधीर शर्माले ‘जनआस्था’ छाडेर ‘काठमाडौं टुडे’बाटै खोज पत्रकारिता क्षेत्रमा अब्बल स्थान ग्रहण गर्न सफल भएका हुन्, जसका कारण अन्य अखबारहरुको नेतृत्वका लागि उनको बाटो प्रशस्त भयो । टिकाराम राई यस्ता प्रमोटर हुन्, जसले गोरखापत्र नामको जीर्ण भइसकेका सिंगो संस्थालाई सुधार गरिरहेका छन् । त्यसैले पनि उनीसँग त्यहाँका जागिरेहरु र तालुकवाला ‘जागिरे मन्त्री’ भयभित भएको हुनुपर्छ ।

...

२०६२–६३ को जनआन्दोलन चर्की रहेको थियो । कवि तथा कलाकारहरु आआफ्नो तर्फबाट जनआन्दोलनमा सक्रिय थिए । राजावादी कित्ताका कञ्चन पुडासैनीको नेतृत्वमा चलिरहेको हस्ताक्षर अभियानमा आफ्नो हस्ताक्षर बुझाइसकेका एक जना चर्चित कवि पनि पछुताउँदै अवसरवादको घडी हेरेर उक्त जनआन्दोलनमा एउटा कविता फुक्दै सामेल भएका थिए । पछि उनी त्यहीँ कविताले कञ्चन पुडासैनीको अभियानमा लागेको दागलाई मेट्ने अभियानमा सफल भई खाटी गणतन्त्रवादी पनि भइनिस्के ।

त्यतिबेला अर्का खाटी गणतन्त्रवादी ब्यङ्ग्य कवि अर्जुन पराजुली भने थर्मसमा बोकेको पानी पिउँदै यस्तो कविता वाचन गर्थेः
...त्यसलाई यता हेर्नु परोस्
उता हेर्नु परोस्
चक्काजाममा पर्नु परोस्
अझ त्यसलाई गोरखापत्र पढ्नुपरोस् ...

यसरी ‘गोरखापत्र’लाई कुनै समय ब्यङ्ग्यको एक प्रतिकका रुपमा कवितामा वाचन गरिएको थियो । त्यहीँ संस्थानलाई आज टिकाराम राईले पठनीय बनाइरहेका छन् त उनले के बिराए ?

...

फेरि शाही शासनकै कुरा । कमल थापा सूचना तथा सञ्चारमन्त्री थिए । हामी सञ्चारकर्मी प्रेस स्वतन्त्रताको पक्षमा आन्दोलनरत थियौँ । त्यहीँ क्रममा सञ्चारकर्मीहरु हरिबहादुर थापा र खिम घलेलाई प्रहरीले गिरफ्तार गरेर अनामनगर प्रहरी थानामा हिरासतमा राख्यो । भोलिपल्ट हामी थप आन्दोलित बन्यौ ।

सञ्चारग्रामबाट हामी आन्दोलनमा निस्क्यौँ । निषेधित क्षेत्र तोड्नु थियो । पुष्कर थापा (दिवंगत) प्रहरीको ट्रकको टायरको हावा खोल्न खोजिरहेका थिए । संयोग पनि कस्तो, पछि पुष्करको मोटरसाइकलमा सिनामंगलतिरै एक ट्रकले ठक्कर दिँदा उनको मृत्यु भयो ।

हाम्रो जुलुुस बढ्दै थियो । प्रहरीले छेक्न सुरु गरिसकेको थियो । गौशालानेर आइपुग्दा यसो पछाडि हेरेको एक जना प्रहरी र एक जना सञ्चारकर्मी आन्दोलनकारी हानाहान गर्न लागेको देखियो । प्रहरी लाठी प्रहार गर्न लागिरहेको छ, अर्कातिर आन्दोलनकारी चाहिँ मार्सल आर्टको पोजिसनमा प्रतिरोध गर्न तयार ।

यस्तो मार्सल आर्टको पोजिसन लिने सञ्चार आन्दोलनकारी चाहिँ उनै टिकाराम राई थिए । उनी मार्सल आर्टका ब्ल्याकबेल्ट पनि हुन् । उनले गोरखापत्र संस्थानको विकृति र विसंगतिविरुद्ध अझै कराँते कीक चलाउन जरुरी छ । हक्की स्वभाव, निस्पापी मन ।

नभए फेरि पनि गोरखापत्र संस्थानभित्र पस्दा धुमपानको गन्धले टाउको दुखाउँदै निस्कनुपर्ने हुन्छ । यस्तै परिस्थिति रहिरह्यो भने हामीले कसरी गोरखापत्रलाई एउटा सम्पदाका रुपमा गौरव गर्न सक्छौँ ?


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २४ गते, बुधबार

menu LIVE TV