तातोपानीले स्नान गर्न सकिने पोखरी निर्माण


SHARES

म्याग्दी । पर्यटकलाई आकर्षित गर्न म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दर्मिजामा तातोपानीले स्नान गर्न सकिने पोखरी निर्माण भएको छ ।

रघुगङ्गा नदीको किनारमा रहेको मुहानबाट निस्कने प्राकृतिक तातोपानी सङ्कलन गरेर शरीरलाई डुबाएर स्नान गर्न मिल्ने दुई पोखरी निर्माण भएको हो । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीको सहयोगमा पोखरी बनाइएको उपभोक्ता समितिका अध्यक्ष दिलप्रसाद पुनले जानकारी दिए । एउटामा २० र अर्कोमा १० जना बस्न सक्ने क्षमताको पक्की पोखरी बनाइएको छ । पोखरी बनाउन कार्यालयले रु ३५ लाख सहयोग गरेको थियो ।

कोरोनाको जोखिम र बन्दाबन्दीका बीच पनि स्थानीय मजदुरलाई परिचालन गरेर पोखरी बनाएको अध्यक्ष पुनले बताए । दर्मीजा गाउँको फेदीमा रहेको सो ठाउँमा ५० डिग्री सेल्सियसभन्दा बढी तातोपानी निस्कने मुहान छ । सो मुहानको पानी सङ्कलन गरिएको पोखरीमा स्नान गरेमा छालासम्बन्धी, चोटपटक लागेको, बज्रिएको, सुन्निनेजस्ता स्वास्थ्य समस्या निको हुने जनविश्वास छ ।

यसअघि त्यहाँ एक मात्र पोखरी थियो । पर्यटकलाई लक्षित गरेर नयाँ पोखरी बनाएको स्थानीय युवा सुविन शेरपुजा पुनले बताए । दर्मीजा आउने पाहुना र पर्यटकलाई तातोपानीको पोखरीमा स्नान गर्ने व्यवस्था मिलाइने उनले बताए । पोखरी नजिकै आकर्षक झरना पनि छ । गण्डकी प्रदेशसभा सदस्य विनोद केसीको पहलमा सो योजनाका लागि बजेट विनियोजन भएको हो । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत दर्मीजामा सिँचाइ आयोजना निर्माणका लागि हालै ठेक्का सम्झौता भएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गतको शिक्षासम्बन्धी कार्यालयको सहयोगमा शिव आधारभूत विद्यालयमा दुईकोठे भवन निर्माण भएको छ । गाउँपालिका र वडा कार्यालयले विनियोजन गरेको रु १५ लाख बजेटबाट दिपशिखा युवा क्लबको खेलमैदान ढलान गरेको छ ।

सहल भित्रिएपछि कृषक चिन्तित

खेतीबालीका बिरुवा नष्ट गर्ने सलह किरा भित्रिएपछि हिमाली जिल्ला म्याग्दीका कृषक चिन्तित भएका छन् । बेनी नगरपालिका, अन्नपूर्ण, मालिका, रघुगङ्गा, मङ्गला र धवलागिरि गाउँपालिकामा मङ्गलबार सलह किरा भेटिएको हो ।

केही दिनअघि भारतबाट तराईका जिल्लामा भित्रिएको सलह पहाडी क्षेत्र हुँदै धवलागिरि हिमालको फेदीमा रहेको मुदीबाट उकालो लागेको छ । लाखौँको सङ्ख्यामा आकाशै छोपिने गरी म्याग्दी नदीको किनारैकिनार धवलागिरि हिमालतर्फ उडेका धवलागिरि–७ बगरका कृषक भुवानी पौडेलले जानकारी दिए ।

मङ्गला गाउँपालिकाको सयमुरे फाँटमा चार रोपनी खेतमा भर्खरै रोपिएको धानको बिरुवा सलहले नष्ट पारेको स्थानीय श्रीराम पौडेलले जानकारी दिए । मालिका गाउँपालिका–४ सिस्नेरीमा पनि सलहको हुल देखिएको स्थानीय बालकुमार सुनारले बताए । अन्नपूर्ण गाउँपालिकाको दानामा पनि सलह देखिएको स्थानीय गङ्गा पुनले बताए । कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख गोविन्दराज कोइरालाले सलहले पार्न सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सतर्कता अपनाउन आग्रह गरिएको बताए ।

रघुगङ्गा गाउँपालिकाले एक किलो सलह नियन्त्रणमा लिनेलाई रु १५ का दरले व्यवस्थापन खर्च उपलब्ध गराउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए । गाउँपालिकाभित्र सलह किरा देखिएमा खाडल पारी गाडेर प्रकोप बढ्नबाट जोगाउने कृषकरव्यक्तिहरुलाई प्रतिकेजी रु १५ का दरले व्यवस्थापन खर्च उपलब्ध गराउने निर्णय भएको अधिकृत सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सलह नियन्त्रणका लागि आगो फुक्ने, चर्को स्वर आउने बाध्ययन्त्रहरु बजाउने, रुख हल्लाउने, छोप्ने वा धपाउने गरेमा यसले क्षति पुर्‍याउन नपाउने कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत गोविन्द पाण्डेले बताए ।

म्याग्दीमा अहिले खेतको मकैबाली भित्र्याउन शुरु भएको छ । बारीमा लगाएको मकैबाली हुर्किँदै छ । बारीमा कोदो र खेतमा धान रोप्ने चटारो छ । व्यावसायिकरूपमा टनेलबाहिर लगाइएको तरकारीबालीमा क्षति पुर्‍याउन सक्ने भएकाले कृषकलाई सचेत हुन आग्रह गरिएको छ । सलह समूहमा उड्ने तर एकै ठाउँमा नबस्ने जातको किरा हो । रासस


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २५ गते, बिहीबार

menu LIVE TV