टोल पढाइ कार्यक्रममा रमाउँदै विद्यार्थी


SHARES

बाँके । कोरोना महामारीका कारण करीब चार महीनादेखि घरमै थुनिएका नेपालगञ्जका विद्यार्थीलाई टोल पढाइ कार्यक्रमले सक्रिय बनाएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं २० स्थित जयजनता माध्यमिक विद्यालयले सञ्चालन गरेको टोल पढाइ कार्यक्रममा सहभागी भएर विद्यार्थीले पढाइलाई निरन्तरता दिन थालेका छन् ।
महामारी सङ्क्रमणका कारण विद्यालय सञ्चालन गर्न सक्ने अवस्था नरहेपछि टोलटोलमा पुगेर विद्यार्थीलाई पठनपाठनमा सक्रिय बनाउन थालिएको विद्यालयका प्रधानाध्यापक रामबहादुर पाण्डेले जानकारी दिए ।

उनका अनुसार टोलका विद्यार्थीलाई टोलमै जम्मा गरेर सामुदायिक भवन र चौतारामा सामाजिक दूरी कायम गरेर पढाइने गरिएको छ । विद्यार्थीको चाप बढी हुन नदिन दुई चरणमा पठनपाठन भइरहेको छ । कक्षा १० का हिमाल छत्यालले महामारीका कारण विद्यालय जान नपाएका अवस्थामा टोल पढाइ कार्यक्रमबाट पढाइलाई निरन्तरता दिन पाइएको बताए ।

टोलमै पढ्न पाउँदा विद्यार्थी खुशी देखिएका छन् ।  कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीलाई समेट्ने गरी टोल पढाइ कार्यक्रमको समयतालिका र शिक्षकको जिम्मेवारी तोकिएको छ । शिक्षकले टोलटोलमा जम्मा भएका विद्यार्थीलाई पठनपाठन गराउने गरेका छन् ।

विद्यालयले विद्यार्थीको नाम अभिलेखीकरण गरेर पाठ्यपुस्तक वितरण गरिएपछि टोल पढाइ कार्यक्रम सञ्चालन गरेको हो । ‘वडाभरिका विद्यार्थीलाई विद्यालयमा पठनपाठन गराउँदा कोरोना सङ्क्रमणको खतरा छ, त्यसैले एउटा टोलका विद्यार्थीलाई जम्मा गरी सामाजिक दूरी कायम गरेर टोलमै पढाउन थालिएको हो’, प्रधानाध्यापक पाण्डेले भने, ‘शिक्षकहरु मास्क र सेनिटाइजर लगाएर शिक्षण सामग्रीसहित पुग्दा बालबालिका आआफ्नो बस्ने व्यवस्थासहित टोलमा जम्मा हुने गरेका छन् ।’

विद्यार्थीका लागि विषयगत शिक्षकअनुसार बिहान १०ः३० देखि अपराह्न १२ः४५ बजे र १२ः४५ देखि अपराह्न २ः४५ बजेसम्म टोल पढाइ कार्यक्रम सञ्चालन गरिएको छ । वडाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र अभिभावकको सहयोग र समन्वयमा टोल पढाइ कार्यक्रम सञ्चालन गर्न सम्भव भएको उनको भनाइ छ ।

रेडियो र टेलिभिजनका माध्यमबाट विद्यार्थीलाई पठनपाठन गराउन सक्ने अवस्था नभएपछि टोल पढाइ कार्यक्रम सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जग्गबहादुर छत्यालले जानकारी दिए ।

उनले टोल पढाई कार्यक्रम सञ्चालन गर्न धेरै चुनौती रहे पनि बालबालिकालाई पठनपाठनमा सक्रिय बनाइराख्न विद्यालयले हरसम्भव प्रयास गरिरहेको उल्लेख गरे । विसं २०४३ मा स्थापित सो विद्यालयमा करीब आठ सय विद्यार्थी अध्ययनरत छन् ।

उपमहानगरपालिका शिक्षा शाखा संयोजक गोर्ख थापाले विद्यालयले सञ्चालन गरेको टोल पढाइ कार्यक्रम अहिलेका अवस्थामा प्रभावकारी रहेको बताउँदै नेपालगञ्जका अन्य विद्यालयले पनि त्यसको सिको गर्न थालेको जिकिर गरे । रासस


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २२ गते, बिहीबार

menu LIVE TV