नेकपाको विवाद समाधानतर्फ : सहमतिका लागि नेताहरु बिहानैदेखि अनौपचारिक छलफलमा


SHARES

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा देखिएको विवाद समाधानका लागि दोस्रो तहका नेताहरु छलफलमा जुटेका छन् । बिहीबार विभिन्न प्रकारका अनौपचारिक छलफल गरेका नेताहरुले आज भने सहमतिको सम्भावना बलियो भएको भन्दै अध्यक्षद्वयसँग अनौपचारिक संवाद थालेका छन् ।

महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा शुक्रबार बिहानैदेखि सहमतिका लागि कसरतमा छन् । यी दुई नेताले बिहानैदेखि अध्यक्षद्वयसँग छलफल थालेका हुन् । विगतमा भएका सहमतिकै आधारमा मिलनविन्दुको खोजीमा लगभग सफलता प्राप्त भएको एक नेताले जानकारी दिए ।

सहमतिको सम्भावना देखिएपछि शुक्रबार बिहान शर्माले ट्विट गरेर अध्यारो पन्छिएर बिहानी झुल्किएको भन्दै नयाँ सिराबाट काम थाल्ने प्रस्ताव गरेका छन् । उनले लेखेका छन्, 'आज फेरि अध्यारो पन्छिएर बिहानी झुल्किएको छ । पार्टी भित्रको किचलो अन्धकार संगै भुलिदिउ । अतिवृष्टि र कोरोनाको महामारीको बिपतबाट पार पाउन नयाँ सिराबाट काम थालौ । शुभ प्रभात ।।'

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार बेलुकी भएको वार्तामा भनाभनको अवस्था सिर्जना भएपछि सहमतिको सम्भावना टाढिएको थियो । तर, बिहीबार दिनभर ओली निकट नेताहरु, ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेलले दौडधुप गरेका थिए ।

ईश्वर पोखरेल, सुवास नेम्वाङ र शंकर पोखरेलले पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डसँग सहमतिका लागि विभिन्न प्रस्तावमा छलफल गरे । उनीहरुले प्रचण्डको सन्देश बोकेर फेरि बालुवाटारमा ओलीसँग पनि छलफल गरेका थिए ।

अध्यक्षद्वय ओली प्रचण्डबीच वार्ता हुन नसकेपछि दोस्रो तहका नेताहरुले पुलको काम गरेका थिए । सहमतिको सम्भावना नजिकिए आज बस्ने भनिएको स्थायी कमिटी बैठक भोलिसम्मका लागि फेरि स्थगित हुनसक्ने एक सचिवालय सदस्यले जानकारी दिए ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २९ गते, बिहीबार

menu LIVE TV