आँट गरे पुग्छ


SHARES

  • गोपालप्रसाद बराल

महोत्तरी । ‘राम्रो सोचेर काम थालेपछि सहयोगी हात थपिन्छन्’ भन्ने मान्यता महोत्तरीको बर्दिवास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्लामा देखिएको छ । विद्यालय परिसरमा बालउद्यान निर्माणको काम आफ्ना पाखुरीकै भरमा थालेका जनसहयोगी युवा सञ्जाल बर्दिवासमा आवद्ध युवाले सामग्री र अर्थाभावले काम रोक्नुपर्ने स्थिति अहिलेसम्म नपरेको बताएका छन् ।

“लकडाउनका बेला व्यवसाय पनि चलेका छैनन्, यस्तो बेला कुनै रचनात्मक सामाजिक काम गरौँ भनेर बालउद्यान निर्माणको काम थाल्यौँ”, बर्दिवास चोकमा होटल व्यवसाय गर्दै आएका सञ्जालका संयोजक परमेश्वर महतोले भने, “पहिलो चरणमा सञ्जालमा आवद्ध साथी जम्मा भई काम थाल्यौँ, दिनदिनै सहयोग दिनेहरु थपिदै गए, यसले काममा हौसला बढाइरह्यो ।” बालउद्यान निर्माणकार्यको खाका इञ्जीनियर मनोजकुमार महतोले बनाइदिनु भएर सोअनुसार काम गर्ने स्वीकृति विद्यालय प्रशासनबाट पाएपछि निर्माण सामग्रीको अभाव नभएको उनको भनाइ छ ।

जम्मा तीन बिघा क्षेत्रफलको विद्यालय परिसरमध्ये एक बिघा १० कठ्ठामा विद्यालय भवन, मैदान र बालउद्यान क्षेत्र पर्दछन् । बाँकी एक बिघा १० कठ्ठा भने खेतीयोग्य जमिन छ । सञ्जालमा आवद्ध युवा बालउद्यान निर्माणमा जुटेपछि छिमेकको भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साह आफैँ युवालाई हौस्याउन ५० बोरा सिमेन्ट लिएर कार्यस्थल पुगेका थिए । त्यसैगरी बर्दिवास–१ का होटल व्यवसायी बिष्णु खड्काले पनि ५० बोरा सिमेन्ट, बर्दिवास–१४ का रुपेश महतोले पाँच हजार इँटा र पशुपतिनगर बस्तीकै अमृतकुमार महतोले छ हजार इँटा उपलब्ध गराउनु भएपछि सहयोगी हात क्रमशः थपिँदै गएपछि सामग्रीको अभाव झेल्नु नपरेको निर्माणकार्यमा श्रम गरिरहनुभएकी सञ्जाल आवद्ध जमुना साह बताउँछिन् ।

“भन्छन् नि, तँ राम्रो चिताएर काम थाल, पुर्‍याउने आइपुग्छन्”, कक्षा–१२मा अध्ययनरत् उनले भनिन्, “यहाँको कामले यो देखायो ।” अहिले पनि सञ्जाल आवद्ध युवा दिनरात नभनी बालउद्यान निर्माणको काममा जुटिरहेका छन् । निर्माण काममा जुटेपछि सुरुआती सहयोग पशुपतिनगर बाहिरबाटै पाइएको र पछि विद्यालय प्रशासनको आडभरोसा र स्थानीयको उदात्तभावले काममा सधैँ हौँस्याएको सञ्जाल आवद्ध युवा बताउँछन् ।

पशुपतिनगर बाहिरबाट आएका युवाले आफ्नो ठाउँमा दिनरात नभनी विद्यालय परिसरको सौन्दर्य वृद्धिका लागि पसिना बगाउन थालेपछि विद्यालय परिसरको सौन्दर्य उजेलिएको छ । छिमेकीहरुको साथसहयोग र सामाजिक काममा दिलोज्यानले लाग्ने कर्मशील युवाको हात पाएपछि विद्यालय परिसरको स्वरुप फेरिएको बर्दिवास–९ का वडाध्यक्ष टेकवीर रखालले बताए ।

“ठाउँ हाम्रो, तर काम गर्न पशुपतिनगर बाहिरका युवा आए, सामग्रीको सहयोग गर्ने पनि पशुपतिनगर बाहिरकै हाम्रा छिमेकी भए” उनले भने, “यसले सबै ठाउँप्रति सद्भाव राख्न सन्देश पनि दिएको छ ।” अहिले आफ्नै बस्तीमा पनि निर्माणकार्यमा सहयोगी वातावरण बन्दै गएको रखालको भनाइ छ ।

अहिले बालउद्यान निर्माणको पहिलो चरणको काम सम्पन्न भएको छ । विद्यालय परिसर वरिपरि उद्यानका लागि एक सय मिटर दूरीमा पर्खाल बनेको र विद्यालय भवन अगाडिको पिपलको रुखको छाँयामा चौतारो निर्माण सम्पन्न भएको छ । निर्माणकार्यमा सञ्जाल आवद्ध युवासँगै दिनरात जुटिरहेका स्थानीय सामाजिक कार्यकर्ता अमृतकुमार महतोले बताए ।

अहिले पशुपतिनगरमा बालउद्यान निर्माणकार्यका लागि स्थानीयवासीले मुठ्ठीदान अभियान सञ्चालन गरेका छन् । दिनहुँ कडा श्रमको काममा जुटेका सञ्जाल आवद्ध २० युवा पण्डाल गाडेर विद्यालय परिसरमै खाने, सुत्ने गरिरहेका छन् । अब स्थानीयवासीकै सहयोगमा खानपिन सहज बनेको सञ्जाल आवद्ध युवा बताउँछन् ।

बालउद्यान निर्माणकार्य सम्पन्न गर्न ५० लाख लाग्ने अनुमान छ । पहिलो चरणमा अहिलेसम्म जुटेको रु पाँच लाख सहयोगले पहिलो चरणको काम सम्पन्न भएको सञ्जालका महासचिव ज्ञानेन्द्र महतोले जानकारी दिए । जनताकै साथ सहयोगबाट यो कार्य आउने दशैँअगावै सम्पन्न गर्ने लक्ष्यसाथ काम अघि बढाइएको सञ्जालले जनाएको छ ।

निर्माण भन्नेबित्तिकै विभिन्न निकायको बजेट पर्खने र मुख ताक्ने आम प्रवृत्ति बढेका बेला सञ्जाल आवद्ध युवाले आफ्नो ठाउँमा आफ्नै तत्परताले राम्रा काम गर्न सकिने दृष्टान्त दिएका छन् । सबैको अलिअलि मात्र साथ सहयोग भए काम भन्नेबित्तिकै कुनै निकायको बजेट नै चाहिन्छ भन्ने कुरा सामूहिक प्रयत्न र सकारात्मक सोचले हटाउन सकिने बालउद्यान निर्माणकार्यमा संलग्न युवा पत्रकार प्रेस सङ्गठन नेपाल महोत्तरीका संयोजक राजकरण महतोको ठम्याइ छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण ३० गते, शुक्रबार

menu LIVE TV