सीआइबीको सफलता : १४ वर्षपछि सुवेदी दम्पतिको हत्या आरोपी पक्राउ


SHARES

काठमाडौं । नेपाल प्रहरकिो केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)ले १४ वर्षअघि भएको दम्पति हत्या अभियोगमा एकजनालाई पक्राउ गरेको छ ।

२०६३ पुस २० गते काठमाडौंको सितापाइलास्थित कान्तिपुर सःमिलका सञ्चालक नातिकाजी सुवेदी र उनकी श्रीमती सानु सुवेदीको हत्या भएको थियो । सो हत्यामा संलग्न रहेको अभियोगमा सीआइबीले बाँकेको भारतसँगको सीमा क्षेत्रबाट जयकिशोर शाहलाई पक्राउ गरिएको डीआइजी सहकुल थापाले बताए ।

सीआइबीका डीएसपी अनिल घिमिरेको कमाण्डमा खटिएको प्रहरी टोलीले शाहलाई पक्राउ गरेको हो । काम बिगार्दा गाली गरेको विषयलाई लिएर सःमिलका कामदारहरु शाह र बाँकेका प्रताप रानाले धारिलो हतियार प्रहार गरी सुवेदी दम्पतिको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सुवेदी दम्पति सःमिल नजिकै रहेको अमृत मैनालीको घरमा दुई छोराहरुको साथमा बस्थे । सुवेदी दम्पतिलाई अभियुक्तहरु शाह र रानाले धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए भने सुवेदीको जेठा छोरा विलभ सुवेदीलाई समेत गम्भीर घाइते बनाएर फरार थिए ।

सुवेदी दम्पतिको हत्यापछि अभियुक्तहरु भारत पुगेका थिए । शाहले जय शर्माको नामबाट भारतीय आधार कार्ड लगायतका कागजात बनाई पहिचानसमेत बदली भारतको लखनउमा बस्दै आएका थिए ।

सो घटनाबारे सीआइबीले स्थापनाकालदेखि नै प्राथमिकतामा राख्दै आएको थियो । विलभ सुवेदीको निरन्तर सम्पर्क र सूचनाको आधारमा अन्तर्राष्ट्रिय स्तरमा समेत सूराकी परिचालन, प्राविधिक विश्लेषण, हुलिया सनाखत समेत गरी शाहलाई पक्राउ गरिएको सीआइबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले बताए ।

पक्राउ परेका शाह सर्लाही साविक पिपरिया गाविस १ गयरटोलका हुन् । उनी अहिले ३४ वर्षका भए । हत्याको अभियोगमा फरार रहेका प्रताप रानालाई समेत प्रहरीले खोजी गरिरहेको छ । फरार अभियुक्तलई पनि चाँडै नै पक्राउ गरी कारवाहीको दायरामा ल्याई पीडित परिवारलाई न्यायको प्रत्याभूति दिने सीआइबीको प्रतिवद्धता छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २९ गते, बिहीबार

menu LIVE TV