कोरोनाका कारण कुल गार्हस्थ उत्पादनमा १ खर्ब ६८ अर्ब क्षति


SHARES

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभिड–१९ का कारण नेपालको कुल गार्हस्थ उत्पादननमा करिब १ खर्ब ६८ अर्ब रुपैयाँ क्षति भएको प्रारम्भिक अनुमान गरेको छ ।

प्रतिनिधिसभाको अर्थ समितिको सोमबारको बैठकमा आगामी मौद्रिक नीतिको तयारीको सम्बन्धमा जानकारी दिन उपस्थित भएका गभर्नर महाप्रसाद अधिकारीले देशको कुल गार्हस्थ उत्पादनमा १ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको बताए । कोभिड–१९ का कारण होटल, रेस्टुरेन्ट, यातयात, निर्माण र व्यपाार क्षेत्रमा सबैभन्दा बढी असर परेको गभर्नर अधिकारीले बताए ।

‘कोभिड–१९ का कारण अर्थतन्त्र प्रभावित भएको छ । तर यो आर्थिक वर्षमा प्रचलित मूल्यको कुल गार्हस्थ उत्पादन करिब १ सय ६८ अर्बले क्षति भएको प्रारम्भिक अनुमान छ,’ गभर्नर अधिकारीले भने, ‘लकडाउन अझै लम्बिँदा यो अनुमान अझै बेसी हुन सक्छ । कोभिड–१९ बाट सिर्जित समस्याले खासगरी होटल, रेस्टुरेन्ट, यातायात, निर्माण र व्यापार क्षेत्रको कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी क्षति भएको देखिन्छ ।’

कोभिड १९ को कारण बैंकिङ क्षेत्रको निक्षेप संकलन तथा कर्जा प्रवाहमा परिवर्तन भएको समेत गभर्नर अधिकारीले बताए । उनले २०७६ चैतदेखि २०७७ जेठसम्म बैंकको निक्षेप बढेको तर कर्जा बढ्न नसकेको बताए । बैंक तथा वित्तीय संस्थामा निक्षेप १ खर्ब ७२ अर्बले र कर्जा १६ अर्ब रुपैयाँले मात्र बढेको गभर्नर अधिकारीले जानकारी दिए ।

‘कोभिड १९ कारण बैंकिङ क्षेत्रको निक्षेप संकलन तथा कर्जा प्रवाह तीव्र प्रभावित भएको छ । निक्षेपतिर संकलन बढेर गएको छ सामान्यभन्दा बेसी नै,’ उनले भने, ‘२०७६ चैतदेखि २०७७ जेठसम्म तीन महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थामा निक्षेप १ सय ७२ अर्बले र कर्जा प्रवाह १६ अर्बले वृद्धि भएको देखिन्छ । कर्जा असार १ गतेपछि अलिकति बढिराखेको छ । बीचमा कर्जा लगभग बन्दै भयो ।’

गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंकले अनलाइन सर्वेक्षणमार्फत कोभिड–१९ बाट सिर्जित समस्याको विश्लेषण गरिएको बताए । सर्वेक्षणबाट प्राप्त भएका नतिजाको विश्लेषण गर्दा कतिपय व्यवसाय सामान्य अवस्थामा फर्कन करिब एक वर्ष लाग्ने देखिएको बताए । आगामी वर्षको मौद्रिक नीति तर्जुमा गर्दा सर्वेक्षणको निष्कर्षलाई समेत प्राथमिकता दिइएको अधिकारीले बताए । उनले विद्युतीय भुक्तानीको बढ्दो प्रयोगले बन्दाबन्दीको अवस्थामा पनि वित्तीय कारोबार सहज बनेको बताए ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २२ गते, बिहीबार

menu LIVE TV