कमलामाई नगरपालिकामा सेनेटरी प्याड खरिद विवादमा, संयोजक उपप्रमुखलाई नै ‘बाइपास’


SHARES

काठमाडौं । सामुदायिक विद्यालयमा अध्ययनरत किशोरावस्थाका छात्रालाई महिनावारीका समयमा आवश्यक पर्ने सेनेटरी प्याड वितरण गर्ने नीति सरकारको छ । सोही नीतिअनुरुप कमलामाई नगरपालिका सिन्धुलीले खरिद गरेको सेनेटरी प्याड खरिद प्रक्रिया विवादमा परेको छ ।

सेनेटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधि, २०७६ अनुसार, स्थानीय तहस्तरीय सेनेटरी प्याड वितरण तथा व्यवस्थापन समितिको संयोजक स्थानीय तहको उपप्रमुख वा उपाध्यक्ष रहने व्यवस्था छ । तर, कमलामाई नगरपालिकामा भने उपप्रमुख मञ्जु देवकोटालाई थाहा नै नदिई सामान खरिद गरेको पाइएको छ ।

सामान खरिद गर्ने, वितरण गर्ने र अनुमगन गर्ने तीन वटा बैठकमा उपप्रमुख देवकोटाको अनुपस्थितिमै बैठक बसेर निर्णय गरेको पाइएको छ । तर, ती सबै बैठकमा नगर प्रमुख खड्गबहादुर खत्रीले भने आमन्त्रितका रुपमा उपस्थिति जनाएका छन् ।

विनियोजन ऐन, २०७६ को दफा ९ को उपदफा (१) बमोजिम महिनावारी भएका बेला छात्राले विद्यालय छाड्ने समस्या समाधान गर्न र गुणस्तरीय शिक्षाका लागि सेनेटरी प्याड वितरण र व्यवस्थापनसम्वन्धी कार्यविधि २०७६ लागू भएको थियो । सोही कार्यविधि अन्तर्गत रहेर वितरण र व्यवस्थापन गर्नुपर्नेमा कमलामाईमा भने उपप्रमुखलाई नै बेवास्ता गर्दै तीन बैठक बसेर सबै प्रक्रिया पूरा गरेको पाइएको छ ।

नागरिकखबरलाई प्राप्त कागजातअनुसार, २०७६ फागुन ४ गते सेनेटरी प्याड खरिदसम्बन्धी बैठक भएका छन् । त्यस्तै, २०७६ चैत ३ गतेको मितिमा अनुमगन, समन्वय र सहजीकरण गर्नेसम्बन्धी निर्णय भएका छन् । त्यस्तै, २०७७ असार २४ गते सेनेटरी प्याड वितरणसम्वन्धी निर्णय भएका छन् । 

त्यसरी भएका निर्णयहरुमा उपप्रमुख देवकोटाको कहीँकतै हस्ताक्षर छैन । जसको अध्यक्षतामा बसेको बैठक हो, उसैको हस्ताक्षर नुहुनुलाई भने अर्थपूर्ण हेरिएको छ ।

सेनेटरी प्याड वितरण तथा व्यवस्थापन समितिको संयोजकलाई थाहा नै नदिई बैठक बस्ने, निर्णय गर्ने र खरिद गर्ने गरिएको पाइएको छ । बैठक मात्र बसेन, सामान खरिदका लागि टेण्डर गर्ने, सामान ल्याउने, अनुमगन गर्ने जस्ता काममा समेत संयोजकलाई बेवास्ता गरेको पाइएको छ ।

बैठकका तीन माइन्यूट हेर्नुहोस

संयोजक देवकोटाको नाममा सबै सामान विद्यालयमा पुगेको, सामान गुणस्तरीय रहेको अनुमगन प्रतिवेदन बनेको पाइएको छ । त्यति मात्र होइन, उपप्रमुख र केही कर्मचारीबाहेक नगर प्रमुख खत्री, प्रमुख प्रशासकीय अधिकृत लगायतले भत्ता समेत बुझेका छन् । 

असार २६ गते यी सबै बनावटी कागजातमा हस्ताक्षर गर्नका लागि उपप्रमुख देवकोटालाई भनिएपछि भने उनी छाँगाबाट खसेजस्तो भइन् । उनले आफूलाई कुनै जानकारी नभएको भन्दै हस्ताक्षर नगर्ने बताएकी छन् ।

उपप्रमुख आफैमा पनि नगरपालिकाको न्यायिक समितिको संयोजक हुन् । अन्यायमा परेकालाई न्याय दिलाउने जनप्रतिनिधि हुन् उपप्रमुख । तर, समितिको संयोजकलाई नै थाहै नदिई सामग्री खरिद गरेको र आफूलाई अन्याय भएको भन्दै पछिल्लो समय उपप्रमुख देवकोटाले नेकपाका जिल्ला नेताहरुसँग छलफल गरेकी छन् ।

आफै संयोजक भएको समितिमा समेत आफूलाई थाहै नदिई ‘कीर्ते’ काम गरेको उपप्रमुख देवकोटो नेताहरुलाई बताएकी छन् । उनले आफू न्यायिक समितिको संयोजक हुँदासमेत आफै अन्यायमा परेको नेताहरुलाई गुनासाे गरेकी छन् । 

सेनेटरी प्याड वितरण तथा व्यवस्थापन समितिको स्थानीय तह स्तरीय समितिको आफू संयोजक भएपनि कुनै पनि प्रक्रिया र बैठकबारे आफूलाई थाहा नभएको उपप्रमुख देवकोटाले नागरिकखबरलाई बताइन् । ‘मै संयोजक तर मलाई जानकारी नै नभई सारा माइन्यूट बनाउने, सबैले हस्ताक्षर गरेर जबर्जस्ती मलाई हस्ताक्षर गर्न लगाउने काम भयो’ उनले भनिन्, ‘यो गलत प्रक्रिया हो, मैले मेयर साबलाई पनि गलत भयो भनेको छु ।’

नगरपालिकाका शिक्षा प्रमुख शंकरराज लुईँटेलले भने उपप्रमुखको केही गुनासो नरहेको बताए । उनले ३७ लाखको टेण्डर आव्हान गरेकोमा २२ लाखमा टेण्डर परेको बताए । सेनेटरी प्याड खरिद तथा वितरणका लागि आएको रकममध्येमा ५ लाख बराबरको सामग्री भने कोटेशनका आधारमा खरिद गरिएको स्रोतले बताएको छ । 

प्रक्रिया पूरा गरेर नै सेनेटरी प्याड खरिद गरिएको प्रमुख खड्गबहादुर खत्रीले बताए । उनले नागरिकखबरसित भने, ‘उहाँ (उपप्रमुख)का के गुनासा रहेछन्, म सुन्छु ।’

संयोजक रहेको उपप्रमुखलाई नै ‘बाइपास’ गरिनुले स्यानेटरी प्याड लगायतका सामान खरिद तथा विकास निर्माणको काममा गम्भीर प्रश्न खडा भएको नेकपा सिन्धुलीका एक नेताले बताए । नगरपालिकामा हुने हरेक गतिविधिले पार्टी नै बदनाम हुने भन्दै नेताहरु आन्तरिक छलफलमा जुटेको बुझिएको छ ।

लौ हेर्नुस अनुगमन प्रतिवेदन–

लौ हेर्नुहोस भत्ता बुझेको भर्पाई–

पढ्नुहोस सेनेटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि २०७६ -


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण ३० गते, शुक्रबार

menu LIVE TV