करदातालाई सम्मानजनक व्यवहार गर्नू : अर्थमन्त्री खतिवडा


SHARES

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले करदातालाई सम्मानजनक व्यवहार गर्न आन्तरिक राजस्व विभागका कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

आन्तरिक राजस्व विभागले २० लाख रुपैयाँभन्दा कम कारोबार गर्ने र दुई लाख रुपैयाँसम्मको आम्दानी गर्ने करदाताका लागि बिहीबारदेखि सुरु गरेको नयाँ कर प्रणालीको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले करदातालाई सम्मानजनक व्यवहार गर्न निर्देशन दिएका हुन् ।

उनले जबसम्म प्रविधि, कानुन र सुशासनको कारणले करदातामैत्री वातावरण निर्माण गर्न सकिँदैन तबसम्म करदाताले अपमानित महसुस गर्ने भएकाले करदातालाई गरिने व्यवहारमा सुधार ल्याउन आग्रह गरे । उनले आजदेखि लागू भएको नयाँ कर प्रणालीमा करका अंक, ब्याज र जरिवाना सफ्टवेयरले नै गणना गर्ने भएकाले कर अधिकृतले स्वविवेकले करका अंकहरु गणना गर्ने अवस्थाको अन्त्य भएको बताए । यस्तै, करको रकम यकिन भइसकेपछि पनि कर बुझाउन निकै लामो झन्झटिले प्रक्रियामा जानुपर्ने अवस्थाको पनि अन्त्य भएको अर्थमन्त्री खतिवडाले बताए ।

अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले आजदेखि लागू भएको कर प्रणालीले साना करदाताको लागत घटाउन सहयोग पुग्ने बताए । नयाँ प्रणालीले करिब ५ लाख करदाता लाभान्वित हुने उनको भनाइ छ । पुडासैनीले यसबाट करदाताको सहभागिता बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

आन्तरिक राजस्व विभागका महानिर्देशक विनोदबहादुर कुँवरले आन्तरिक राजस्व विभागका सबै कारोबारलाई प्रविधिमैत्री बनाउने धेयका साथ काम गरिएको बताए । आजदेखि लागू भएको प्रणालीले करिब ५ लाख करदातालाई कर कार्यालय नगई कर बुझाउन सक्ने व्यवस्था भएको बताए ।

उनले चालु आर्थिक वर्षको बजेटले परिवर्तन गरेका आयकरका विषयहरुलाई समावेश गरी आयकर निर्देशिका आजैबाट लागू गरिएको पनि जानकारी गराए । बायोमेट्रिक प्रणाली र विभिन्न जिल्लामा १० वटा नयाँ करदाता कार्यालयको सञ्चालन पनि आजैदेखि सुरु गरिएको कुँवरले जानकारी दिए । सबै व्यावसायिक कोडलाई व्यवस्थित गर्ने नेपाल स्टाण्डर्ड इन्ड्रष्ट्रियल क्लासिफिकेसन (एनएसआईसी) लागू भएको उनले बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नागरिक एपसँग समन्वय गरी आजैका दिनदेखि विद्युतीय माध्यमबाट करदाता कार्यालयमा नगई व्यक्तिगत प्यान नम्बर लिन सकिने व्यवस्था मिलाईएको पनि कुँवरले बताए ।

सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत २० लाख रुपैयाँभन्दा कम कारोबार गर्ने र दुई लाखसम्म आय हुनेहरुका लागि कर चुक्ता गर्न नयाँ प्रणालीको विकास गरिने व्यवस्था गरिएको थियो । सोही व्यवस्थाअनुसार आन्तरिक राजस्व विभागले आजदेखि नै नयाँ कर प्रणालीलाई कार्यान्वयनमा ल्याएको हो ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २४ गते, शनिबार

menu LIVE TV