कोदोको रक्सीलाई किन ब्राण्डिङ गर्ने ? प्रदेशसभा सदस्य उषाकला राईका पाँच तर्क (भिडियो)

बहस



२०७५ को पुसमा प्रदेश नं. १ की प्रदेशसभा सदस्य उषाकला राईकी आमा लक्ष्मी राईको ७५ वर्षको उमेरमा निधन भयो । राईले आमाको निधनमा कपाल मुण्डन गरिन् र किरियापुत्री बसिन् । आमा–बुवाको निधनमा छोराहरुले मात्रै कपाल मुण्डन गर्ने र किरियापुत्री बस्ने रुढीवादी परम्परा बोकेको समाजमा उषाकला राईको त्यो कदम ठूलो ‘सामाजिक क्रान्ति थियो –जसको प्रशंसा भयो ।

उनको त्यो सामाजिक क्रान्तिलाई सलाम गर्नेमध्येका एक थिए आफ्नै पति पूर्वकानूनमन्त्री तथा प्रतिनिधिसभा सदस्य शेरबहादुर तामाङ ।

तामाङले भनेका थिए, ‘उषाजी तपाईं साँच्चै महान हुनुहुन्छ । छोरीलाई छोरासरह समान अधिकारका लागि निरन्तर लडिरहने तपाईंले पहिलो संविधानसभाको सदस्य भएर मौलिक अधिकार समितिमा बसेर त्यसको लैंगिक उपसमितिको संयोजक भएर सम्पूर्ण नेपाली नारीको अधिकारलाई लिपिवद्ध गर्दै नेपालको संविधानमा महिलाको वंशको अधिकार स्थापित गर्न सफल हुनुभयो । आज आफ्नो ममतामयी आमा लक्ष्मी राईको निधनमा वास्तविक किरियापुत्री बसेर समाजलाई देखाउनुभएको छ । यो अभियानमा संलग्न अन्य अग्रज नारीहरुलाई मेरो लाखौंलाख सलाम ।’

२०७५ साउनमा शेरबहादुर तामाङ कानूनमन्त्री थिए । नेपालमा थप मेडिकल कलेज खोल्नुपर्छ भन्ने मतलाई पुष्टि गर्न उनले ‘बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुले सर्टिफिकेट पाउन आफ्नो अस्मिता बेच्न बाध्य भइरहेको आफूले सुनेको’ बताएका थिए ।

आफूले सुनेको कुरा सार्वजनिक कार्यक्रममा बताउँदा उनको आलोचना भयो र उनले त्यहीं सुनेको कुरालाई भनेकोमा नैतिकताको आधारमा मन्त्री पदबाट राजिनामा दिए ।

आमाको किरियापुत्री बस्दा उषाकला राईलाई पति तामाङले जसरी साथ दिएका थिए, त्यसअघि कानुनमन्त्री छँदा भएको आलोचनामा तामाङलाई पत्नी राईले साथ दिएकी थिइन् ।

उनले त्यो प्रकरणमा भनेकी थिइन्, ‘भगवान गौतम बुद्धले भनेका छन् संसारमा तीन कुरा लामो समय छिप्दैन, ती हुन् चन्द्र, सुर्य र सत्य ! सत्य बाहिर आइसकेको छ । सत्य बाहिर आउँदै जानेछ । उहाँको बङलादेशमा पढ्ने हाम्री छोरिहरुको चित्त दुखाउने कुनै नियत थिएन । बरु हाम्री छोरीहरुले अर्काको देशमा भोग्नुपर्ने समस्या र हिंसा अन्त्य गर्नुपर्ने आवश्यकता उजागर गर्न खोज्नुभएको थियो । एउटा शब्दले चेलिहरुको चित्त दुखेकोमा आफै दुःखी हुँदै माफी माग्नु भो । त्यतिले पुगेन नैतिकताको आधारमा राजिनामा दिनु भो ।’

र, राईले आफ्नो पति भ्रष्टाचार अन्त्यको अभियानमा लागेका कारण अप्ठ्यारोमा परेको उल्लेख गर्दै लेखेकी थिइन्, ‘यो कामको थालनी कम्तीमा क. शेर बहादुर तामाङले गर्नु भो । म एउटा व्यक्ति जसले उहाँलाई नजिकबाट चिन्दछु । उहाँले गरेको कामप्रति नतमस्तक छु । एकचोटि सलाम कमरेड भन्न मन लागेको छ ।’

राई प्रदेश नं. १ को प्रदेशसभा र तामाङ प्रतिनिधिसभामा छन् । यो जोडीको अभियान छ –जनतालाई कसरी गरिबीबाट मुक्ति दिलाउने । यसको एउटा उपायको रुपमा तामाङ गाँजा खेतीलाई वैधानिकता दिलाउने अभियानमा छन् भने राई घरेलु कोदोको रक्सीलाई उद्योगको मान्यता दिनुपर्ने र नेपाली ब्राण्ड बनाउनुपर्ने अभियानमा ।
कोदोको रक्सीलाई किन व्याण्ड (प्रतिबन्ध) नलगाएर ब्राण्डिङ गर्ने ? केही दिनअघि काठमाडौं आइपुगेकी प्रदेशसभा सदस्य राईले सुनाएको तर्कको सम्पादित अंश यहाँ राखिएको छ ।

व्याण्ड होइन ब्राण्ड अभियान !

२०६४ को संविधानसभामा म थिएँ । संविधान लेख्ने सवालमा महिला अधिकार र गरिब जनताको पक्षमा मेरो बढी प्राथमिकता थियो । अहिले प्रदेश नं. १ को प्रदेशसभामा छु र निरन्तर राजनीतिमा छु ।

राजनीति भनेको निष्ठा हो । राजनीतिज्ञमा निष्ठा, इमान्दारिता र त्याग चाहिन्छ । यी तीन कुराबाट च्यूट भएको छ भने उसलाई राजनीति गर्ने नैतिक अधिकार हुँदैन । अहिले सत्ताधारी पार्टीमा छु । तर, जनता वाक्क दिक्क भएको देख्छु । संघीय लोकतन्त्रान्त्रिक गणतन्त्र आयो । गरिबी, अभाव र अस्थिरता कायमै छ । अभाव, गरिबी र अशिक्षाको उन्मुलन गर्दै सभ्य र समृद्ध राष्ट्र निर्माणको अभियान हाम्रो प्राथमिकता हो । यसमा हामी ढिला भयौं भन्ने लाग्छ । गरिबी र अभावको अन्त्य हुँदैन भने जनतालाई संघीय लोकतान्त्रिक गणतन्त्र आएको कुनै मुल्य रहँदैन ।

चाँडोभन्दा चाँडो कसरी समृद्धि हासिल गर्ने भन्ने सवाल हेर्दा मैले ‘व्याण्ड भर्सेस ब्राण्ड’को कुरा उठाइरहेको छु । अर्थात हाम्रा पुर्खाहरुले सुरुवात गरेका कोदोको लोकल रक्सीलाई व्याण्ड गर्ने होइन ब्राण्ड बनाउने अभियान ।

१. साम्राज्यवाद रोक्न

हामी जुनबेला राजनीतिमा प्रवेश गर्दै थियौं, त्यसबेला साम्राज्यवाद मुर्दावाद, सामन्तवाद मुर्दावाद, निरंकुशतन्त्र मुर्दावाद भनेर सिकाइएको थियो । के हो साम्राज्यवाद ? त्यसको वास्तविक अर्थ त्यसबेला बुझेका रहेनछौं । साम्राज्यवाद हेलीकोप्टर जस्तो आवाज दिएर, गिद्ध जस्तो फट्फटाउँदै आउँदो रहेनछ । साम्राज्यवाद त लुसुक्क आएर, जनताको घाँटी याँकेर, पछाडीबाट लात्ताले हानेर जीवन माटोमा मिलाइदिदो रहेछ ।

यसको दरिलो उदाहरण हो हाम्रा आमा, दिदीबहिनीहरुले दुःखकष्टका साथ उत्पादन गरेका जडीबुटि मिसाइएको, औषधीय गुण भएका घरेलु रक्सी घोप्टाउने तर विदेशबाट वार्षिक दुई खर्बको रक्सी लिएर पिउने । हाम्रा गरिब आमा दिदीबहिनीहरु विशेष गरी आदिवासी जनजातिहरुले कोदो वा अन्य अन्नको रक्सी आफ्नो परिवारको विहान बेलुकीको छाक टार्न तथा बालबबच्चाका कापी कलम किन्नलाई उत्पादन गर्छन् । कुनै पनि रोजगारी नभएकाहरुका लागि दरिलो रोजगारी हो यो । राज्यले कहिल्यै सोचेन की कुन बाध्यताका कारण यीनीहरुले यो रक्सीको उत्पादन गरिरहेका छन् ?

बरु प्रहरी प्रशासन त दुःख गरेर हाम्रा आमा दिदीबहिनीहरुले उत्पादन गरेका रक्सीसहित उनीहरुलाई पक्राउ गर्ने, रक्सी माटोमा घोप्टाइदिने र हा–हा गरेर हाँस्ने गर्छ । हाम्रा शासक प्रशासकहरु आफ्ना आमा दिदीबहिनीहरुले उत्पादन गरेका कोदोको रक्सी माटोमो पोख्याउछन् र विदेशी रक्सी लिएर चियर्स गर्छन् । विदेशीहरुले हाम्रो सुन्दर हिमालको तस्बिर हामीलाई देखाउँछन् र त्यसमा विदेशी रक्सीको विज्ञापन बनाएर हामीलाई बेच्छन् । यसरी वार्षिक दुई खर्ब नेपाली रुपैयाँ लिएर जान्छन् । यसबाट हाम्रो राष्ट्रियतामाथि प्रहार भइरहेको छ, आत्मनिर्भरता खोसिएको छ । यही त हो साम्राज्यवाद । यो रोक्न पनि हामीले कोदोको रक्सी व्याण्ड होइन ब्राण्ड बनाउनुपर्छ ।

२. विदेशीसँग नेपाली रक्सी चियर्स गर्न

चीनका राष्ट्रपतिले विदेशी पाहुनाको सम्मानमा आयोजित रात्री भोजको उद्घाटन गर्दा आफ्नो देशको उत्पादन माउथाई चियर्स गर्छन् । तर, अमेरिकी राष्ट्रपतिले त्यस्तै प्रकारको भोजमा माउथाई चियर्स गर्दैनन् । उनले आफ्नो देशको रक्सीले चियर्स गर्छन् । तर, हाम्रा नेताहरुले विदेशी पाहुना आउँदा तिनै विदेशी रक्सीले चियर्स गर्छन् ।

तर, हामी आफ्नो देशको कोदोको घरेलु रक्सीलाई पानीमा घोप्ट्याएर, जनताको श्रमलाई माटोमा मिसाएर, गरिब जनताको जिन्दगी माटोमा मिलाएर विदेशी रक्सीले विदेशी पाहुनासँग चियर्स गर्छौं । अब हामीले पनि विदेशी पाहुनाहरुसँग विदेशी रक्सीले चियर्स गर्ने होइन हाम्रै ब्राण्डको कोदोको रक्सीले चियर्स गर्नुपर्छ । यसका लागि पनि हामीले हाम्रो कोदोको रक्सीलाई व्याण्ड होइन ब्राण्ड बनाउनुपर्छ ।

३. राष्ट्रियता जोगाउन

हामीले समाचार हेर्दै गर्दा विज्ञापन आउँछ । त्यसमा हाम्रा सेता हिमालहरु देखिन्छन् । एकैछिनपछि सेता हिमालसँगै विदेशी रक्सीका ब्राण्ड देखिन्छन् र पिउँपिउँ लाग्ने बनाउछन् । अर्थात, हामीलाई हाम्रै हिमाल देखाउँछन्, आफ्नो रक्सी हामीलाई बेच्छन् र हाम्रो पैसा लिएर जान्छन् –वर्षमा दुई खर्ब ।

यो त हाम्रो राष्ट्रियतासँग जोडिएको विषय पनि भयो नि । हामीले हाम्रो रक्सी पनि छ भनेर विदेशीलाई देखाउनु पनि त पर्ला नि ! यसका लागि पनि हामीले कोदोको रक्सीलाई व्याण्ड होइन ब्राण्ड बनाउनुपर्छ ।

४. विदेशी मुद्रा आर्जन गर्न

आज बेलायतमा बस्ने नेपालीहरुले लौ न त्यो पहाडमा बनेको रक्सी अलिकति लुकाएर भए पनि पठाइदिनु भन्छन् । अमेरिकामा बस्ने नेपालीहरुले पनि लौ न त्यो पहाडमा बनेको रक्सी लुकाएर भए पनि पठाइदिनु भन्नु न भन्छन् । नेपालमा आएका कतिपय विदेशीहरुलाई कोदोको रक्सी खुवाउँदा पनि खुशी हुन्छन् । र, उनीहरुले नेपालमा आउँदा नेपालकै रक्सी चाखौं भन्ने मनसाय राख्छन् ।

यसले पनि देखाउँछ की विश्वबजारमा नेपालको कोदोको रक्सीलाई ब्राण्ड बनाएर पठाउन सक्यौं भने माग बढ्छ । हामीले हर्बल, अर्गानिकङ, जडिबुटीयुक्त कोदोको लोकल रक्सीलाई व्याण्ड होइन, ब्राण्ड बनाएर विदेशीहरुसँग कुरा गरेर निर्यात गर्न सक्छौं । विदेशबाट रक्सी आउँछ भने हामीले पनि त पठाउनु पर्यो । मत भन्छु, ठूलो बोतलमा बनाउँदा हजार डलर, बीचको बोतल पाँचसय डलरमा जान्छ । सानो ३ सय, २ सय डलरको बनाइदिउँ न जनता कति छिटो धनी हुन्छन् । घरघरमा पैसा आउँछ ।

५. रोजगारी सिर्जना गर्न

शताब्दीऔंदेखि नै विशेषगरी आदिवासी जनजाति महिलाहरुले आफ्नो आयआर्जनको प्रमुख स्रोत घरेलु जाँड रक्सी उत्पादनलाई बनाउँदै आएका थिए । अहिले पनि त्यो क्रम जारी छ ।

दैनिक हजारौं मानिस रोजगारीका लागि विदेश गइरहेका छन् । विदेश गएको कतिपय युवाहरु दैनिक रुपमा बाकसमा लास बनेर आइरहेका छन् । त्यो दृष्य देखेर पनि युवाहरु फेरी विदेश गइरहेका छन् । यो सबै बाध्यताका कारण हो । देशमा रोजगारी भएको भए यो हुने थिएन ।

देशभित्र केही न केही रोजगारी त सिर्जना गर्नुपर्यो नि । यस क्रममा लोकल कोदोको रक्सी उत्पादन एउटा महत्वपूर्ण आयस्रोत तथा रोजगारी हुनसक्छ । यसकारण पनि कोदोको रक्सीलाई व्याण्ड होइन ब्राण्ड बनाउनुपर्छ ।

कसरी उत्पादन गर्ने कोदोको रक्सी ?

एउटा कुरा के सत्य हो भने लोकल कोदोको रक्सीमा केही विसावत भयो होला । त्यसमा राज्यले गरिखानेहरुलाई यो मिसावत गर्नुुहुँदैन है भन्यो ? यसको शुद्धता परीक्षण गर्यो ? यसलाई कसरी आयआर्जनको माध्यम बनाउन सकिन्छ भनेर भन्यो ? यो केही कुरा भनेन ।

समयमै भनेको भए, समयमै कोदोको रक्सी उत्पादनलाई उद्योगको मान्यता दिएर विकास गरेको भए आज अवस्था अर्कै हुन्थ्यो ।

हामीले सबैभन्दा पहिले त कानूनी मान्यता दिनुपर्छ । यसका लागि मैले प्रदेश नं. १ को सरकारलाई भनेको छु । यससम्बन्धी विधेयक प्रदेश सरकारको तर्फबाट आएन भने गैरसरकारी विधेयकको रुपमा म दर्ता गर्छु । यो काम सरकारले नै गर्नुपर्छ ।

हरेक कुराको मापदण्ड हुन्छ । यसका लागि पनि हामीले मापदण्ड बनाउनुपर्छ । यसलाई नियमन गर्ने, व्यवस्थापन गर्ने नीति नियम बन्नुनै पर्छ ।

सबैभन्दा मुख्य कुरा त गुणस्तर नै हो । देशभरी एउटै गुणस्तरको कोदोको रक्सी उत्पादन गर्नुपर्छ । आजको विज्ञान प्रविधिको युगमा ल्याव स्थापना गर्न र यसको शुद्धता तथा गुणस्तर परीक्षण गर्न कुनै गाह्रो छैन । कोदोको रक्सीलाई दुध जम्मा गरे जस्तै एकठाउँमा जम्मा गर्ने र ल्याव परीक्षण गरेर एउटै तरिकाले बोतलिङ र प्याकिङ गर्नुपर्छ ।

हाम्रा हिमाल देखाएर रक्सी बेचौं

संसारको अग्लो हिमाल नेपालमा छ । हिमालबाट बहने हावा, त्यहाँबाट बग्ने पानी अनि हाम्रो माटो । यहाँ उब्जनी हुने बोटविरुवा जडिबुटीजन्य छन् । विश्वमा कहि पनि हाम्रो जस्तो जस्तो हावा, पानी र माटो कही पाइदैन ।

जडिबुटीबाट बनेको मर्चा, छङ–छङ धोएर, मजाले पकाएर रातो बनाएको कोदोको जाँड, तामाकै भाँडामा राखेर, तामाकै बाँटामा विभिन्न औषधीय गुण भएका जडिबुटी राखेर बनाएको रक्सी । हाम्रो आमाहरुले खयर, जतामसी, अलैंची राख्नुहुन्थ्यो । ती सबै औषधीण गुणले भरिएका हुन्छन् ।

कोदोको रक्सीमा विभिन्न फ्लेबर राख्न सकिन्छ । यो गुर्जुको रक्सी, या यार्सागुम्बाको रक्सी हो, यो जतामसी, यो अलैंचीको रक्सी भन्न सक्छौं । यसको औषधीय गुण यस्तो छ भन्न सक्छौं । कसरी कोदो फल्ने, कसरी सफा गर्ने, त्यसको मापदण्ड के हो ? शुद्ध तरिकाले कसरी पेवर बनाउने, यस विषयमा हामीले तालिम दिनुपर्छ ।

जस्तो विदेशी रक्सी सेतो हिमाल देखाएर हामीलाई आकर्षित गरेर हामीलाई नै मोहित बनाएर, हामीलाई खुवाउन बाध्य बनाएर पैसा विदेश लाँदैछ, अब हाम्रो हिमाल देखाएर पैसा लान पाइदैन । हाम्रो लोकल कोदोको जडिबुटीजन्य रक्सीको विज्ञापनमा हाम्रो हिमाल देखाउने हो ।

हिमालको तस्बिर भएको कञ्चनजंगा जस्तै तल्किएको सेतो बोतलमा कोदोको रक्सी, टाढैबाट देखिने गरी बोतलको माझमा टल्किएको यार्सागुम्बा । आहा ! बोतलको बीचमा ‘अर्गानिङक हर्बल मेडिसिनल अल्कोहल फ्रम हिमालयन कन्ट्री नेपाल’ भनेर टलल देखाएपछि पाँचसय डलरमा न्यूनतम एउटा बोतल बिक्री हुन्छ । हामी कति चाँडो धनी हुन्छौं ?

क्षेप्यास्त्र बनाउन लागेको हो र डराउने ?

मैले जुन अभियान सुरु गरेको छु, चुनौतीका कुरा आएको छ । यहाँ दलालीतन्त्र छ, यो दलालीतन्त्रमा तपाईंलाई यो अभियानमा गाह्रो हुन्छ भन्ने पनि छ । मलाई कुनै गाह्रो हुँदैन । मर्नलाई डर छैन, किन गाह्रो हुने ?

आफ्नो देश बनाउछौं भन्न नपाउने, आफ्नो घर बनाउन भन्न नपाउने, बिग्रिएको चिज सपार्छौं भन्न नपाउने ? हामीले कसैलाई मिसाइल छाड्छौं भन्ने कुरा गरेका छौं र ? हामीले बम बनाउने कुरा गरेका छौं र ? हामीले क्षेप्यास्त्र हान्ने कुरा गरेका छौं र ? यहाँ दुई खर्बको व्यापार विदेशी रक्सीको हुँदो रहेछ । त्यो दुई खर्ब पैसा मात्रै बचाउन सकेको भए त शिक्षामा, सडकमा, पूर्वाधारमा, स्वास्थ्यमा विकास हुन्थ्यो होला नि ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन २ गते, शुक्रबार

menu LIVE TV