सिन्धुलीमा ७ रुपैयाँको मास्क नलगाउँदा सय रुपैयाँ जरिवाना (भिडियो)



  • दिपेश थापा

सिन्धुली । नेपालमा लकडाउन खुले पनि कोरोनाको त्रास कायमै छ । त्यसैले पनि अहिले सरकारले घर बाहिर निस्कँदा अनिवार्य मास्क प्रयोग गर्न अनुरोध गरेको छ ।

‘तपाई सिन्धुलीमा घरबाट बाहिर बजारतिर भिडभाड हुने ठाउँमा जाँदै हुनुहुन्छ भने मास्क लगाएर मात्रै जानु होला । अन्यथा कारबाहीमा परिएला’ जिल्ला प्रशासन कार्यालय सिन्धुलीले मास्क लगाउन अनिवार्य भनेको छ ।

७ रुपैयाँदेखि १० रुपैयाँसम्म सर्जिकल मास्क किन्न पाइन्छ । यदि यहीँ मास्क लगाउन बिर्सनु भयो भने एक सय रुपैया जरिवाना तिर्नुपर्ने हुनसक्छ । कोरोना जोखिम रहेकाले मास्क लगाउन अनिवार्य गरिएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पान्डेले बताए ।

उनले भने, ‘कोरोनाको जोखिम रहेकाले हामीले अनिवार्य मास्क लगाउन भनेका छौ । मास्क लगाउनु भन्दै जनचेतना फैलाउने काम गरेका छौ । नलगाउनेलाई फाइन (जरिवाना) गराएका छौ ।’ जिल्लाभर यो अभियान बढाउने सिन्धुलीका सिडियो पाण्डेले जानकारी दिए ।

आज बिहानैदेखि प्रजिअ पान्डे, प्रहरी प्रमुख एसपी रन्जु सिग्देल लगायतका सिन्धुली माढीका मुख्य–मुख्य ठाउँमा मास्क लगाउन आग्रह गरे । मास्क नलगाई हिड्नेलाई रोक्दै प्रहरीले ठाउँको ठाउँ चिट काटेको प्रहरीले जानकारी दिएका छन ।

जिल्लास्थित सामुदायिक प्रहरीका अनुसार, आज बिहान करिब साढे दुई घन्टामा मास्क नलगाई बजारमा हिड्ने १४६ जनालाई कारबाही गरिएको छ । जसबाट ९ हजार १ सय ५० राजस्व शंकलन भएको छ । कारबाहीमा पर्नेमा १ सय ४० जना पुरुष र ६ जना महिला थिए ।

हरेकलाई सय रुपैयाँ जरिवाना गरिएको छ । सय रुपैयाँ नहुनेलाई पनि ५० रुपैयाँको चिट काटिएको प्रहरी स्रोतले जानकारी दिएको छ । मास्क लगाउन भन्दै आजै मात्र ४०० जनालाई सम्झाइ–बुझाइ पठाइएको प्रहरीको भनाइ छ । जसमा ३ सय पुरुष थिए भने एक सय महिला थिए ।

..................
विज्ञापन .....




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन २ गते, शुक्रबार

menu LIVE TV