माधवकुमार नेपालले भने, ‘गणतन्त्र स्मारक नाराणहिटीबाट हटाउनुपर्छ’ (भिडियो)



काठमाडौं । राजतन्त्र अन्त्य, जनआन्दोलनको सफलता र गणतन्त्र तथा त्यो उपलब्धि प्राप्तिका लागि शहादत गर्नेहरूको सम्झनामा निर्माण गरिएको गणतन्त्र स्मारक नारायणहिटीबाट हटाउनुपर्ने पर्ने आवाज फेरि एक पटक उठेको छ ।

वि.स. २०६८ साल चैत १४ गते तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शिलान्यास गरेको तथा वि.स. २०७६ साल जेठ १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घान गरेको गणतन्त्र स्मारक र निर्माणको क्रममा रहेको गणतन्त्र संग्रहालय नारायणहिटीबाट हटाउनुपर्ने आवाज सत्तारुढ दलभित्रैबाट उठेको हो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले नारायणहिटीबाट गणतन्त्र स्मारक र गणतन्त्र संग्रहालय हटाउनुपर्ने बताए । नारायणहिटी भित्र गणतन्त्र स्मारक निर्माण गर्न नहुने भएपनि गलत तरिकाले बनाइएको उनको भनाई छ ।

राजतन्त्र अन्त्य, जनआन्दोलनको सफलता र गणतन्त्र तथा त्यो उपलब्धि प्राप्तिका लागि शहादत गर्नेहरूको सम्झनामा निर्माण गरिएको गणतन्त्र स्मारक नारायणहिटीबाट हटाएर अन्य ठाउँमा निर्माण गर्नुपर्ने नेता नेपालको भनाई छ । पटक–पटक गणतन्त्र स्मारक हटाउनुपर्ने धारणा राख्दै आएका नेता नेपालले बिहीबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नारायणहिटीबाट हटाएर त्यसलाई अन्यत्रै सार्नुपर्ने बताए ।

नारायणहिटीमा गणतन्त्र स्मारक र संग्रहालय बनाउनुभन्दा त्यहाँ राजाहरुको पुरानो जग देखिने गरी विकास गर्नुपर्ने धारणा उहाँको छ । पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले भने, ‘‘गणतन्त्र स्मारक त्यहाँ राख्नु उपयुक्त छैन । त्यसका लागि छुट्टै संग्रहालय बनाउनुपर्छ, गणतन्त्र संग्रहालय । जसमा जनताको आन्दोलन र सामाजिक आन्दोलन देखि लिएर सबै कुरा बेग्लै किसिमको संग्रहालय गणतन्त्र आइसकेपछिको नेपालले बनाउनुपर्छ । नारायणहिटीलाई राजा महाराजले पुरानो इतिहासको सम्पूर्ण झलक देखिने गरी बनाउनुपर्छ । त्यहाँ अरु कुनै कुराहरु गर्नुहुँदैन ।’’

यता नारायणहिटी दरबार संग्रहालय भने स्मारकको निर्माण सम्पन्न गरी सर्वसाधारणका लागि खुला गर्ने समय कुरिरहेको छ । लकडाउनका कारण तत्काल सम्भव नभएपनि सरकारले संग्रहालयहरु खुला गर्ने निर्णय सरकारले गरेपछि सर्वसाधारणका लागि खुला गरिने नारायणहिटी दरबार संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले बताए ।

सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विभागले स्मारक निर्माण सम्पन्न गरी गत माघ ३ गते नारायणहिटी दरबार संग्रहालयलाई हस्तान्तरण गरिसकेको छ । गणतन्त्र स्थापनाका लागि आफ्नो ज्यानको आहुति दिने व्यक्तिहरुको सम्मानमा स्मारक निर्माण भएको र गणतन्त्र संग्रहालय डेढ महिनामा सम्पन्न गर्ने लक्ष्य लिइएको उहाँले बताउनुभयो । सहिदहरुप्रति गरिने सम्मान, श्रद्धाञ्जलीका कार्यक्रम यसअघि सहिद गेटमा गरिँदै आएकोमा अब गणतन्त्र स्मारक भित्रै गरिने उनले बताए ।

९ वर्षमुनि र ७० वर्षमाथिका नागरिकहरुका लागि निःशूल्क प्रवेशको व्यवस्था गरिने उनले बताए । स्मारकभित्र निर्माण भएको स्टेडियममा हरेक शुक्रबार कार्यक्रम गर्ने योजनाअनुसार गृहकार्य भइरहेको पनि उनले बताए ।

 




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १५ गते, बिहीबार

menu LIVE TV